|

दैलेख : भैरवी गाउँपालिका १ कि नानु थापालाई आँगनमा पानी आउला भनेर ६४ वर्षको उमेरसम्म विश्वास थिएन। पहाडी समाजमा महिलाले घरको काम गर्नुपर्ने पुरुष प्रधान सोचका कारण पानीको लागि उनले भोगेका दुःखको अनौठो सन्दुक छ। पानीका लागि ६४ वर्षको उमेर सम्म धेरै दुःख संगालेकी उनलाई अहिले सुखका दिन आएको आभास भएको छ।

'पानीका लागि को अगाडि कुवामा जाने भन्दै छिमेकमा बोलचाल हुँदैनथ्यो। राति अँध्यारो बाटो जाँदा कहिले सर्पले टोक्ला भन्ने डर कहिले चिप्लिएर घाइते हुने डर हुन्थ्यो', उनी भन्छिन्, 'अहिले आँगनमा शुद्ध पानी आएको छ। मर्ने बेला सुखको अनुभव गर्न पाएकी छु। यसरी गाउँमा विकास भएर सुखका दिन आउलान् भनेर सोचेकी थिइनँ।'

स्थानीय सरकारको साझेदारीसँगै जनताको श्रम दान सहित ५४ लाखमा सोलारमार्फत लिफ्टमा पानी आएपछि उनीहरुलाई  सहज भएको छ। 

नानी थापा मात्र नभई भैरवी ३ डाब वस्तीमा वर्षौ पछि खानेपनी वस्तीमा पुगेको छ। यस अघि यहाँका नागरीकलार्ई कुवाबाट दुषित पानी ल्याउनु पर्ने बाध्यता थियो। अहिले  स्थानिय सरकारको साझेदारीसँगै जनताको श्रम दानसहित ८० लाखमा पानी आएपछि पानीका लागि गरिने दु:ख अन्त्य भएको बताउँछन्।  पानीका मुहानहरु संरक्षणपछि रातभर ट्यांकीमा जम्मा भएको पानीले बिहान सहज हुने गरेको छ।

भैरवी गाउपालिका ५ डोक्राका बासिन्दालाई पनि पुस्तौंसम्म कुवाको दूषित पानी खानुपर्ने बाध्यताको अहिले अन्त्य भएको छ। स्थानीय सरकारको साझेदारी जनताको श्रमदान सहित ६८ लाखमा  आँगनमा  शुद्ध पानी आउन थाले पछि सहज भएको स्थानीयको भनाई छ। 

स्थानीय डिलबहादुर शाही भन्छन्, 'आफू जान्ने भएदेखि कुवाको फोहोर पानी प्रयोग गर्नु पर्ने बाध्यता थियो। अहिले पानीका लागि गर्नु पर्ने दुःख हटेको छ।' पहाडी मुलमा पुरुषले भन्दा पनि महिलाले घरायसी काम बढि गर्नु पर्ने बाध्यता छ। आँगनमा पानी आएपछि महिलालाई सहज भएको उनले बताए। 

सरकार गाउँ आएको महसुस

शहर जाँदा लाग्थ्यो सरकार भनेको गाउँका लागि होइन होला।  तर, अहिले साच्चै सरकार गाउँका लागि पनि रहेछ भन्ने महसुस भएको स्थानिय चक्र बहादुर थापा बताउँछन्। भैरवी १ डावका नागरिक झन धेरै खुसी छन्। डाव गाउँमा त सोलारमार्फत लिफ्टमा पानी गाउँको टाकुरोमा आएको छ।

यस्तो कुरा यहाँका बासिन्दाहरुको कल्पनाभन्दा बाहिरको हो तर स्थानीय सरकार आएपछि अन्य संस्थाको सहयोगमा यो संभव भएको छ। बस्तीका चक्र बहादुर थापा भन्छन पुराना दिन भन्दा अहिले गाउमा धेरै बिकास हुदै आएको छ सुख्खा डाँडामा खानेपानी आएपछि सरकार गाउँका लागि पनि रहेछ भन्दै सिगों गाउँ नै खुसी छ।

भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले पालिकासँग समन्वय गरेर बस्तीमा निकै आवश्यक भएको खानेपानी, कुवा, धारा मर्मत र मुहान संरक्षणका कामहरु संचालन गरिदिएपछि स्थानीयलाई निकै सहज भएको बताए।

विकास आयोजनाहरुमा सुशासन र पारदर्शीताको समस्या बढ्दै गएका बेलामा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले गर्ने काममा सुशासन पारदर्शिताको अभ्यास राम्रो भएको बताए।

उपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गरेर विकासका कामहरु गाउँमा गर्न सके, योजना बन्नु अघि मध्य र अन्त्यमा अनिवार्य उपभोक्ता जम्मा गरेर कामको जानकारी लिने दिने काम हुन्छ। समस्याहरुको साझा बुझाई गरेर समस्यासँग जुध्ने काममा स्थानीयहरुको सक्रियता बढेपछि हरेक योजनाहरु दिगो हुने र पारदर्शिता हुने ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना दैलेखका सल्लाहकार लक्ष्मीचन्द्र महतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.