९ जनाको बेनी र २ जनाको पोखरामा उपचार हुँदै

|

पर्वत : बिहीबार राति र शुक्रबार बिहानीपख आएको पहिरोमा मृत भेटिएका म्याग्दीका २० जनाकै सनाखत भएको छ। 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर तथा प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता एसएसपी किरण रानाले दिएको जानकारी अनुसार पहिरोमा बेपत्ता रहेका ३३ जनामध्ये २० जनाको शव भेटिएको हो भने बाँकी रहेका १३ जनाको खोजी कार्य जारी रहेको छ। 

मृत भेटिनेहरूमा मालिका गाउँपालिका ७ विमका ४० वर्षीय विष्णु पौडेल, ४ वर्षीय इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, उनका ३ महिनाका नाम नखुलेका छोरा, विष्णु नेपाली र सन्दीप नेपाली रहेका छन्। यस्तै धौलागिरि गाउँपालिका ६ मराङको पहिरोमा परी मृत भेटिएकाहरूमा सुकना लामगाँदे, आशिष लामगाँदे, आयुष लामगाँदे,आयुषा लामगाँदे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र १८ वर्षीय प्रकाश केसी रहेका छन्। उनीहरू सबैलाई उद्धारका क्रममा शनिबार फेला पारिएको हो।

यस अगाडि शुक्रबार रघुगंगा गाउँपालिका ६ ठाडाखानीका ५० वर्षीय ललितमान पुराने छन्त्याललाई खोलाले बगाएको अवस्थामा मृत फेला पारिएको थियो भने तुलबहादुर क्षत्री पनि मृत अवस्थामा फेला परेका थिए। 

‘३३ जना बेपत्ता भएकोमा शुक्रबार र शनिबार गरेर २० जना मृत भेटिनुभएको छ। बाँकी रहेका १३ जनाको खोजी कार्यलाई पनि तीव्र पारिएको छ।’ म्याग्दीका डिएसपी कुँवरले भने, ‘उद्धारका लागि गएका हेलिकोप्टरहरू फर्किएका छन्। तर हेलिकोप्टर र स्थल मार्गबाट पहिरो गएको स्थलमा पुगेको प्रहरी, सशस्त्र प्रहरी र सेनाको टिमले खोजी कार्य जारी राखेको छ।’ शुक्रबार बिहानै बाट पहिरो गएको क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मीको टोली हिँडेको थियो।

तर पुल र सडक नै पहिरोले बगाएपछि स्थल मार्गबाट हिँडेको टोली समेत ठाउँ ठाउँमा फसेको थियो। शनिबारको मौसम सफा भएपछि भने प्रभु एयर र नेपाली सेनाको १÷१ ओटा हेलिकोप्टर पहिरो गएको ठाउँमा ल्यान्ड गर्न सकेका थिए भने स्थल मार्गबाट हिँडेको सुरक्षाकर्मीको टोली पनि त्यहाँ पुग्न पाएको थियो।

९ जनाको म्याग्दी र २ जनाको उपचार पोखरामा हुँदै 

प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता एसएसपी रानाका अनुसार हेलिकोप्टरबाट उद्धार गरिएपछि मालिका गाउँपालिका ७ बिमका ३६ वर्षीय पूर्णबहादुर नेपालीको म्याग्दीकै बेनी अस्पतालमा उपचार भइरहेको छ। उनी बोल्न नसक्ने अवस्थामा छन्।

यस्तै धौलागिरि गाउँपालिका ६ की गर्भवती समेत रहेकी २२ वर्षाीया मन्जिता श्रीपालीलाई म्याग्दीमा सामान्य उपचार गरेपछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ। ढाडमा गम्भीर चोट लागेको अवस्थामा उद्धार गरिएकी उनी पनि बोल्न नसक्ने अवस्थामा रहेकी छिन्। सोही ठाउँका ७ वर्षीय बालक सफल श्रीपालीलाई पनि घाइते अवस्थामै उद्धार गरेर मणिपालमा उपचारको लागि पठाइएको छ। प्रहरीका अनुसार सफल पनि बोल्न सक्ने अवस्थामा छैनन्।

बेनी अस्पतालमा पूर्णबहादुर बाहेक अन्य ८ जनाको पनि उपचार चलिरहेको छ। उनीहरू धौलागिरि गाउँपालिका ६ मराङको रिखाका १२ वर्षीय अङ्कित जुग्जाली, ३५ वर्षीय कुशल पुन, १६ वर्षीया बिर्सना जुग्जाली, ३४ वर्षीय धनबहादुर जुग्जाली, ८७ वर्षीया गौमती सुनार, २२ वर्षीय दीपक श्रीपाली वडा नं. ७ ताकमका ६७ वर्षीय सतदेवी बिटालु र ७२ वर्षीय हरि बिटालु रहेका छन्। आठै जनाको अवस्था सामान्यदेखि मध्यम खालको छ।

८ सय ५० जनालाई सुरक्षित स्थानमा सारियो

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार पहिरोको उच्च जोखिममा रहेको म्याग्दीका विभिन्न ठाउँमा रहेका करिब ८५० जनालाई सुरक्षित स्थानमा सारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयको सक्रियतामा पायक पर्ने स्थानमा उनीहरूलाई सारेर थप वर्षा भएमा थप मानवीय क्षति हुन नदिन सुरक्षा सतर्कता अपनाइएको छ।

सुरक्षित स्थानमा सारिएकाहरूमा पहिरो गएको सङ्कटग्रस्त क्षेत्र धौलागिरि गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका ७ बिमका बासिन्दा सहित जिल्लाका अन्य ठाउँका पनि रहेका छन्। प्रजिअ ढकालले सुरक्षित स्थानमा सार्नुपर्ने सबैलाई सारिसकिएका कारण अब वर्षा भएमा थप क्षति नहुने गरी काम गरिएको बताए। 

रघुगंगा गाउँपालिकाको राहु घाटमा खोला नजिकको बस्तीमा रहेकालाई सोही ठाउँको गायत्री मन्दिरमा, धौलागिरिकी गाउँपालिका ६ कल्लेरीमा बस्दै आएकालाई वडा नं. ७ को हेम मा.वि.मा, मालिका गाउँपालिका ६ दरबाङ चाउटामा तथा वडा नं. ५ को देवीस्थानमा बस्दै आएकालाई वडा नं. ६ को जनप्रिय मा.वि. मा सारिएको छ। अरू धेरै जना सुरक्षित बसाइँको लागि आफन्त तथा इष्टमित्रकोमा गएका छन्।

कति बाँडियो राहत?

बिहीबार रातीको पहिरो लगत्तै उद्धारमा निकै जोड दिएका प्रजिअ ढकालले शुक्रबार दिनभर मौसमका कारण हेलिकोप्टर जान नसकेको प्रति चिन्ता व्यक्त गर्दै शनिबार भने राम्रो मौसम परेकाले केही मृतक र घाइते सबैको उद्धार भएकोमा खुसी व्यक्त गरेका छन्। १३ जनाको खोजी कार्य जारी रहेकै अवस्थामा शनिबार नै पहिरो पीडितहरूलाई राहत सामग्री पु¥याएको ढकालले बताए। 

उनका अनुसार पहिरो गएको क्षेत्रमा शनिबार ५० बोरा चामल, ६० किलो दाल, ३३ थान ब्लाङकेट, ३८ थान त्रिपालर्टुन चाउचाउ, १६ कार्टुन बिस्कुट, २० कार्टुन तेल, १२ बोरा नुन, २ बोरा मसला र पिउने पानी पठाइएको छ। तत्कालका लागि हेलिकोप्टर मार्फत नै राहत सामग्रीहरू पठाइएको र अब करिब २ सय बोरा सामग्री पठाउन तयारी अवस्थामा रहेको उनको भनाइ छ। 

बाँकी रहेका राहत सामग्रीलाई भने बढीमा ३ दिनसम्ममा स्थल मार्गबाट नै पठाउने तयारी गरिएको छ। पहिरो गएका क्षेत्रका जनप्रतिनिधिहरुले १÷२ दिनका लागि पुग्ने खाद्यान्न गाउँमा नै भएका कारण बाँकी रहेका सामग्रीलाई स्थल मार्गबाट नै पठाउने तयारी भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.