मौसमको खराबीले हेलिकोप्टर पुग्न सकेन
मौसमको खराबीले हेलिकोप्टर पुग्न सकेन
जाजरकोट : पहिरोले गाँउ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा पाँच सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन्। सडक सञ्जालसँग नजोडिएको त्यहाँ सरकारको राहत पुग्न नसक्दा पीडितहरु भोकभोकै जंगलमा दिनरात बिताइरहेका छन्।
सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा पहिरोबाट विस्थापित र पीडितहरुका लागि खानेकुरा नहुँदा समस्या भएको हो।
घर छाडेर जंगलमा बसेका सर्वसाधारण असारको दर्के झरीमा रुझ्दै हैरान भएका छन्। नियमित पानी परिरहेकाले खुल्ला आकाशमुनि भिज्दै आफन्तको पीडामा उनीहरुले दिन बिताइरहेका छन्।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र सर्वसाधारण बेपत्ताको खोजी र विस्थापितलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिरहेका छन्। राहत लिएर काठमाडौंबाट जाजरकोट आउने भनिएको हेलिकोप्टर खराब मौसमका कारण आउन नसकेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए।
घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट गाउँपालिका-४ जिरीका ३२ घर , गोठगाँउका ८ घर, मैना गाउँका ५० भन्दा बढी विस्थापित भएको प्रहरीले जनाएको छ। हिमालय आधारभूत विद्यालय गोठगाउँ, भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ।
मैनाका सर्वसाधारणहरू गाउँदेखि माथिको रतनकोट डाँडामा आएर बसेको स्थानीय पत्रकार तीर्थराज बोहोराले बताए। वडा नम्बर १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन्।
त्यस्तै वडा नम्बर ५ को पाखा, तोलखाना र कालाखोलीका १५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन्।
विस्थापितलाई दुई विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए। सिंहका अनुसार ५ सय भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालय, जंगलमा बसेको बताए।
एक गाउँबाट अर्को गाउँमा खोला बढेका कारण जान सकिएको छैन। सवै गाउँलेहरुले गाउँ छाडेर खुल्ला आकाशमा पाल टाँगेर बसेको स्थानीयवासी बुद्धिजीवी जनक बहादुर शाहीले बताए।
पानी नरोकिएकाले अहिले पनि धेरै घर जोखिममा छन्। बिहीवार राति आएको पहिरोले बारेकोट-४ सार्कीटोलका दुई घर बगाउँदा नौ जनाको मृत्यु भएको छ। अझै तीनजना बेपत्ता छन्।वेत्ताको खोजी शनिवार बिहानैदेखि जारी रहेको वडा ४ की अध्यक्ष सिर्जना बस्नेतले जानकारी दिइन्।
९ जनाको शव भेटियो
बारेकोट गाउँपालिका-४ सार्की गाउँमा वेपत्ता मध्य ५२ बर्षीय घरमूली गोपाल सार्की, उनका छोरा ११ बर्षीय अर्जुन सार्की, १४ वर्षीया छोरी तिर्खा सार्की, २० वर्षीय डिल्ली सार्की, कुशे गाउँपालिका ९ बाट दिदीको घरमा पाहुना गएका १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ।
त्यस्तै कल्पना सार्की, ६ वर्षीय सुभाष सार्कीको पनि आज शव फेला परेको छ। बारेकोट गाउँपालिका ४ का अझै तीन र वडा ६ धुमाका त्यस्तै बारेकोट ६ धुमाका २० वर्षीय शान्त बहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउनेलाई स्थानीय खोलाले बेपत्ता बनाएको थियो। उनीहरुको अवस्था अझै खुल्न सकेको छैन।
घाइतेको उद्धार
बारेकोट गाउँपालिका-६ धुमाका रामचन्द्र चलाउने र विज्ञान बोहोरालाई स्थानीयले खोलामा आएको बाढीले बगाएर किरानामा फाँकेको अवस्थामा स्थानीयले उद्धार गरी थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताए।
त्यस्तै पहिरोमा परि घाइते भएका बारेकोट ४ का लालबहादुर नेपालीलाई पनि सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।