|

गुल्मी : छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि छनोट गरेको योजनालाई लिएर राजनीतिक विवाद सुरु भएको छ।

गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले योजना छनोटमा आफूखुसी गरेकाले नसच्याए नेपाली कांग्रेस छत्रकोटले आन्दोलन गर्ने चेतावनी दिएको हो। 

कांग्रेसले योजना छनोटमा आफूखुसी भएको र जनताको मर्मलाई नबुझेको आरोप लगाएको छ। वडाका जनप्रतिनिधिहरूलाई उपेक्षा गरी एकलौटी ढंगले कार्यक्रम अघि बढाएको भन्दै कांग्रेसले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ। 

गाउँ सभा भइरहँदा वडा नं १ र २ का जनप्रतिनिधिहरुले विनियोजन विधेयकमा केही असहमति राख्दा राख्दै सहमति प्रयास नै नगरी बहुमतबाट पारित गरेकाले गाउँपालिकाको नेतृत्व नसुध्रिए कडा आन्दोलनमा जाने समेत कांग्रेसले चेतावनी दिएको छ। 

यता गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले कांग्रेसले लगाएको आरोप झुटो भएको बताएका छन्। गाउँपालिकाले सर्वपक्षीय बैठक र सुझाबलाई महत्व दिएर कार्यक्रम र योजना छनोट गरेको भन्दै झुठा प्रचार नगर्न समेत उनले आग्रह गरेका छन्। एकलौटी गरेको भनेर लगाइएको आरोपको पनि उनले खण्डन गरेका छन्।

उपभोक्ता समितिमार्फत काम हुने भएकाले नभएका कुराहरुलाई प्रथामिकता दिएको भन्दै पन्तले सत्य र तथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरे। नेपाली कांग्रेसले आफूसँग हुँदै नभएको डोजर प्रयोग गरेको भन्ने आरोप लगाएको, तर यसमा कुनै सत्यता नभएको उनले बताएका छन्‌।

गाउँपालिकाको अध्यक्षलाई जोडेर विभिन्न भ्रम सिर्जना गर्ने काम भएको भन्दै उनले यसका पछाडी नलाग्न स्थानीयहरुलाई आग्रह गरेका छन्। स्थानीय सरकार गठन भएपश्चात खानेपानी, विद्युत, पूर्वाधार र स्वास्थ्य-शिक्षाको क्षेत्रमा उल्लेख्य सुधार भएको समेत उनको दावी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.