|

इलाम : ‘सहाना प्रधान नेपाली महिला आन्दोलनकी शिखर व्यक्तित्व’ नामक पुस्तक  विमोचन गरिएको छ। ‘सहाना प्रधान प्रतिष्ठान’ले प्रकाशन गरेको पुस्तक नेकपाका उपाध्यक्ष एवं पूर्व-उपप्रधानमन्त्री वामदेव गौतमले जुममार्फत विमोचन गरे।

नेपालको वामपन्थी आन्दोलन र महिला आन्दोलनकी अग्रणी नेता स्वर्गीय सहाना प्रधानले महिला अधिकार स्थापनाका लागि गरेको योगदान र संघर्षका कथाहरु पुस्तकमा समावेश गरिएको छ।  पुस्तक विमोचन गर्दै उपाध्यक्ष गौतमले नेपाली कम्युनिस्ट आन्दोलनको अग्रणी नेता सहाना प्रधानले डोर्‍याएको बाटोमा आफू सदैव लाग्ने प्रतिवद्धता गरे।

महिला आन्दोलन र वामपन्थी आन्दोलनकी अगुवा स्वर्गीय प्रधानको भूमिका र योगदान भावी पुस्ताका लागि समेत अनुकरणीय रहेको भन्दै उपाध्यक्ष गौतमले सहानाजस्ता निडर र साहसीक योद्धाहरुको संघर्षको मूल्यांकन गर्नु पर्नेमा जोड दिए।  प्रतिष्ठान’की अध्यक्ष तथा सांसद रामकुमारी झाँक्रीले महिलाको इतिहासको कदर गर्ने संस्कारको विकास गर्न र राजनीतिक तथा सामाजिक आन्दोलनकी अग्रणी सहानाको योगदानको सम्मान गर्न यो पुस्तक प्रकाशन गरिएको बताइन्।

पुस्तकमा नेपालको राजनीतिक, सामाजिक तथा महिला आन्दोलनमा सहाना प्रधानले गरेको कठोर संघर्ष र योगदान बारे २७ जना लेखकका विचार समावेश गरिएको पुस्तकका सम्पादक लोग्शरी कुवरले बताइन्। प्रकाशक सहाना प्रधान प्रतिष्ठानकी महासचिव कला राईले विमोचन कार्यक्रममा लेखक, अधिकारकर्मीलगायत सहभागीले स्वर्गीय प्रधानका कामहरुको चर्चा गरेको बताइन्। प्रतिष्ठानका सदस्य कुनाल राईले बन्दाबन्दी खुलेलगत्तै पुस्तक बजारमा पठाइने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.