संक्रमितमध्ये ९२ प्रतिशत निको भइसके

|

लण्डन : विश्‍वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन भएन।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुँदै गएको छ। संघका अनुसार कोराना संक्रमितमध्ये ९२ प्रतिशत नेपाली निको भएका छन्। 

शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघ 'कोभिड १९' उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन्। 

संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरब लगायतका देशमा रहेका नेपालीहरुमा यो साता कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ।

संघका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले विश्‍वभर ज्यान गुमाउनेको संख्या १ सय ८१ पुगेको छ। ४६ हजार ३ सय ४६ जनामा संक्रमण फैलिएको छ। ती मध्ये ३५ हजार ८ सय ४ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ।

यसअघि गत सातासम्म १४ देशमा संख्या १ सय ४३ जना नेपालीको विदेशमा कोरोनाका कारणले ज्यान गएको छ। नेपाललगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण जारी रहेको प्रति एनआरएनए स्वास्थ्य समितिले चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले जारी गरेका स्वास्थ्य सम्वन्धी सूचनाहरूलाई कडाईका साथ पालना गर्न समितिले आग्रह गरेको छ।

२६ हजार ३ सय ९६ को उद्धार

नेपाल सरकार, कुटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्‍न २३ मुलुकमा अलपत्र, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरिएको छ।

विभिन्‍न एयरलाइन्सका १ सय ४९ उडान फ्लाइटमार्फत उनीहरुको उद्दार गरिएको हो। गत जेठको मध्यदेखि सुरु उद्धार उडानमार्फत हालसम्म संयुक्त अरब इमिरेट्स युएईबाट ५ हजार ५ सय २७ सय जनाको उद्धार भएको छ। 

कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी धेरै ५ हजार २ सय ४३ जनाको उद्धार गरिएको छ। यस्तै साउदी अरबबाट ४ हजार ३० जना, मलेसियाबाट ३ हजार ५३, कतारबाट २ हजार ८ सय ८४ जनाको उद्धार गरिएको हो।

यस्तै अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलंकाबाट ५, सिंगापुरबाट १४६, हङकङबाट ८९, बहराइनबाट ५६७, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७ र चीनबाट १०५ जनालाई स्वदेश फर्काइएको हो। शनिवार मात्रै विभिन्न मुलुकबाट १ हजार ३ सय ८१ जना स्वदेश फर्किएका छन्।

१ सय ५७ शव ल्याइयो

यसै अवधिमा १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ। विदेशमा विभिन्‍न कारण ज्यान गुमाएका ४ सय ६ जनामध्ये १ सय ४६ जनाको परिवारको सहमतिमा देशमा अन्त्येष्टि गरिएको छ। विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.