|

विराटनगर : अविरल वर्षका कारण मोरङका विभिन्न स्थानमा कतै डुबान र कतै खोलाले कटान गरेकझ छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कानेपोखरी, उर्लावारी, मिक्काजुङ र विराटनगर महानगरपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिरोले क्षति पर्‍याएको छ। प्रहरीका अनुसार चिसाङ खोलामा आएको बाढीले मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित दुखीटोल छेउमा कटान गर्दा सातवटा घर जोखिममा परेका छन्।

खोलाले कटान सुरु गरेपछि सात घर परिवारका ३२ जनालाई स्थानीय भन्सावारी प्राविमा सार्ने तयारी भइरहेको छ। घटनास्थलमा प्रहरी चौकी रमाइलोको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। खोलाले हालसम्म दुई बिघा क्षेत्रफलको कटान गरिसकेको बताइएको छ।

यसैगरी, उर्लाबारी–३ मंगलबारेमा बक्राहा खोलाको बाढी पस्दा १६ घरपरिवारको खेती डुबानमा परेको छ। विराटनगर महानगरपालिका–६ मा केशलिया खोलाको बाढीका कारण १० घर डुबानमा परेका छन्। खोलामा बाढीको सतह बढेपछि पानी बस्तीमा पस्दा सिम्राही टोलका स्थानीयलाई बखरी प्राविमा सार्ने तयारी भईरहेको मोरङ प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्थानीय सयौ कठ्ठा खेतमा खोलाले क्षति पुर्‍याएको छ। स्थानमा अस्थायी प्रहरी चौकी मंगलबारेको टोली परिचालन गरिएको जनाइएको छ। मोरङकै मिक्साजुङ गाउँपालिका–२ कुवापनीमा रनकुमार राईको काठ र टिनको छाना भएको दुई तले दुईवटा घर पहिरोले पुरिएको छ। पहिरोले घर पुरिँदा ६ लाख रुपैयाँको क्षति पुगेको बताईएको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.