प्राथमिकतामा परेन कोरोना, जनतालाई आकाश-जमिन दुवैबाट डर

|

सरकारले पछिल्लो साता देशभर कोरोना भाइरसको संक्रमण घट्दै गएको दाबी गर्दै आएको छ। तर, विज्ञलगायत आमसर्वसाधारण समेतले संक्रमण घटेको सरकारी दाबीप्रति आशंका व्यक्त गर्दै आएका छन्। छिमेकी मुलुक भारत विश्वको संक्रमणको तेस्रो स्थानमा रहेको बेला भारतसँग खुला सिमाना भएको र विदेशबाट समेत नेपाली फर्कने क्रम नरोकिएको नेपालमा संक्रमण दर कसरी घटिरहेको होला? भन्ने आशंकाहरु ढेका छन्।

करिब २ लाखको संख्यामा क्वारेन्टाइनमा बसेका नागरिकलाई विना परीक्षण घर पठाएको सरकारले अहिले संक्रमितसँगको कन्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री भएका व्यक्ति नै नभएका कारण कोरोनाको परीक्षणसमेत घटेको दाबी गरेको छ। यसै सन्दर्भमा थाहाकर्मी जगत भण्डारीले जनस्वाथ्यविद् रवीन्द्र पाण्डेसँग नेपालमा कोरोना संक्रमण दर घटेकै हो त? भन्‍ने विषयमा गरेको कुराकानी गरेका छन्। प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

सरकारले दाबी गरेजस्तै नेपालमा कोरोना भाइरसको संक्रमण दर घटेको हो?

संकमण दर घटेको छैन। किनभने, इपिडिमियोलोजी अर्थात् महामारी शास्त्रले के भन्छ भने, यस्तो किसिमको महामारीमा संक्रमणको संख्या वढ्दै–बढ्दै गएर पिकमा पुग्छ। त्यसपछि केही समय पिकमै कायम रहन्छ। र त्यसपछि मात्रै तल झर्दै–झर्दै जान्छ र कम हुन्छ। तर, नेपालको स्थिति त्यस्तो देखिँदैन।

महामारी घटेको छ कि छैन भन्ने केही आधारहरू हुन्छन्। यदि हामीले परीक्षणको दर धेरै बढाएका थियौँ र त्यसो गर्दा पनि संक्रमित कम देखिएका थिए भने संक्रमण दर उच्च बिन्दुमा पुगेर अब झर्दैछ भन्ने बुझिन्थ्यो तर अहिले त्यस्तो होइन। पहिले भारतबाट आएकाहरुलाई टेष्ट गरियो, अहिले भारतबाट आउनेहरुको संख्या एकदम कम छ। तर, पनि भारतबाट आउनेहरुको मात्र जाँच गरियो तर ट्राभल हिस्ट्रीकन्याक्ट ट्रेसिङ गरिएन। उनीहरुको सम्पर्कमा आएकाहरुको टेष्ट गर्नुपर्थ्यो, गरिएन।

त्यस्तै, नेपाल भारतको सिमाना जहाँ विहार, युपी, उत्तराखण्डसँग जोडिएका नेपालका केही जिल्लाहरू छन्। त्यहाँ खुला हिसाबले खेतबारी र जंगलबाट अहिले पनि आवातजावत भइरहेको छ। ती जिल्लाहरुको अवस्था के–कस्तो छ भनेर त्यहाँ पनि टेष्ट गरेको छैन। त्यहाँ कम्तीमा पनि एउटा जिल्लामा ५ हजारदेखि १० हजारसम्म जाँच गरेको भए एउटा स्वरूप देखिन्थ्यो।

४० लाख बढी जनसंख्या भएको काठमाडौंलगायत यस्ता ठूला शहरमा पनि जाँच भएको छैन। त्यस्तै संक्रमण पिकमा पुगेका जिल्ला (२ सयदेखि ५ सय संक्रमित पुगेका जिल्ला) मा पनि टेष्ट भएको छैन। अनि संक्रमण दर घटेको छ भनेर अहिले नै कसरी भनिएको हो?

 अर्को कुरा काठमाडौंका हरेक अस्पतालमा अप्रेशन, डेलिभरी गर्न पुगेकाहरूमा जाँच गर्दा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ। त्यस्तै अहिले पनि उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका केही ठाउँमा संक्रमितहरु थपिने गरेका छन्। उनीहरुको कुनै ट्राभल हिस्ट्रीसमेत छैन। सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको छ। योबाटै स्पष्ट हुन्छ काठमाडौं उपत्यकामा पनि कोरोनाको संक्रमण एक किसिमले फैलिरहेको छ। 

काठमाडौंमा पनि कोरोनाको संक्रमण फैलिरहेको छ भन्‍ने कसरी पत्ता लगाउने त

काठमाडौं उपत्यकामा ९ वटा खोला छन्। यहाँका २ सय ठाउँको ढलको टेष्ट गरेर संक्रमण के–कस्तो छ पत्ता लगाउन सकिन्छ। त्यस्तै, काठमाडौंका ४० लाख नागरिकको एक प्रतिशत करिब ४० हजार जनाको परीक्षण मात्र गर्‍यो भने पनि यो क्षेत्रमा संक्रमण कम छ कि बढी छ भन्न सकिन्छ। असारको सुरुवाततिरै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ देखि दैनिक १० हजार परीक्षण गर्छौ भन्नुभएको थियो। तर, अहिले परीक्षण दर घट्दै दैनिक ६ हजार, ५ हजार, ४ हजार हुँदै ३ हजारसम्म आइपुगेको छ। परीक्षणको दर घटिरहेको छ तर काठमाडौं उपत्यकामा समेत जोखिम बढ्दै गएको जस्तो देखिन्छ।

यी विभिन्न तथ्यले अहिले संक्रमण घट्दै गएको भन्न सकिँदैन। डाटा नभइकन, परीक्षण नगरेरै नेपालमा कोरोना संक्रमण घट्दै गयो भन्न थाल्यौँ भने आम जनताले त्यही रुपमा बुझ्छन् अनि हामी असुरक्षित अभ्यास गर्दै जान्छौँ, माक्स नलगाई हिँड्छौँ, सामाजिक दूरी कायम गर्दैनौँ। हात धुने कुरालाई प्रायोटीमा राख्दैनौं।

अनि त्यसपछि अवस्था के हुन्छ? सरकारले सोच्नु पर्दैन? अर्को कुरा छिमेकी मुलुक भारतमा अहिले संक्रमण तीव्र गतिमा बढेको छ। त्यहाँ जुलाईको अन्त्यसम्ममा पिकमा पुग्ने अनुमान गरिएको छ, नेपालमा पनि स्थिति त्यही नै हो। किनभने अहिले पनि हाम्रो सीमामा आवतजावत रोकिएको छैन।

त्यस्तै, तेस्रो मुलुकबाट पनि आउने क्रम जारी छ। तर, उनीहरूलाई सरकारले विदेशबाट आएकाहरुलाई समेत घरमै गएर बस्नु केही लक्षण देखियो भने फोन गर्नु भनेको रहेछ। उनीहरुमध्ये केहीले आफैँ जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको छ। कोही गाउँमै पुगेपछि पोजेटिभ रिपोर्ट आएको पाइएको छ। १–२ जनाको त मृत्यु नै भइसकेको छ।

सरकारले अहिले पनि ठूलो लापरबाही गरिरहेको छ। कम्तीमा पनि सरकारले विदेशबाट आएकाहरुलाई अनिवार्य रुपमा २ हप्ता क्वारेन्टाइनमा राख्ने, त्यसक्रममा पिसिआर टेष्ट गर्ने अनि मात्र पोजेटिभ रिपोर्ट आएकाहरुलाई हस्पिटल भर्ना गर्ने र नेगेटिभ देखिएकाहरुलाई घर जान दिएको भए यस्तो डर त्रासको वातावरण हुने थिएन। अहिले त आकाश र जमिन दुवैबाट डर भयो। तर, सरकार कहिले सीमा विवाद, कहिले अध्यादेश त कहिले पार्टीको विवादमा फसिरहेको छ। कोरोना नियन्त्रण सरकारको प्राथमिकतामा परेकै छैन। 

सरकारले क्वारेन्टाइनमा बसेका झण्डै २ लाखलाई परीक्षण नगरेरै घर पठाइदियो, अर्को कुरा अहिले परीक्षण नगरेरै यति जिल्ला कोरोना मुक्त भन्न थालेको छ। यसले के प्रभाव पर्छ

म रेडियोमार्फत धेरै जिल्लामा कनेक्टेड छु। बेलाबखतमा श्रोताहरूसँग पनि मेरो प्रत्यक्ष कुराकानी भइरहेको हुन्छ। भारतदेखि अन्य मुलुकबाट आएका नेपालीहरुसँग पनि मेरो कुराकानी हुन्छ।

कोरोनाका कारण जस्तो किसिमको डर त्रास पहिले थियो अहिले पनि कतिपय जिल्लाहरुमा कायमै रहेको मैले पाएको छु। उनीहरुसँग कुरा गर्दा अहिले जसरी सरकारले कोरोनाको संक्रमण दर घटेको भनिरहेको छ त्यसलाई पत्याउने आधार नै छैन।

अहिले सरकारले भनिरहेको कोरोनाको विवरण साँचो डाटा होइन कि भनेर धेरैले शंका गरिरहेका छन्। तपाईंलाई म एउटा उदाहरण पेश गर्न चाहन्छु। कोरोनाको महामारीका बेला अहिले विश्वमा पोलिटिक्स पनि फरक ढङ्गले चलिरहेको छ। जस्तो उत्तर कोरियामा कति जना संक्रमित छन् थाहा छैन, चीनको एक्जाक्ट डाटा पनि बाहिर आएको छैन।

भारतकै दिल्लीमा पनि मैले केहीलाई सोध्दा धेरैको डेथ (मृत्यु) भएको भन्छन् तर डाटामा त्यहाँ पनि समेटिएको छैन भन्ने आशंका भइरहेको छ। अमेरिकामा माक्सलाई लिएर पोलिटिक्स भइरहेको छ। भनेपछि संसारमा विभिन्न रुपमा कोरोनामाथि राजनीति भइरहेको छ। यसले गर्दा नेपालमा पनि स्वास्थ्य मन्त्रालयले आफूलाई सफल देखाउनलाई डाटा लुकाउन खोजेको त होइन भन्ने केही विज्ञले आशंका गर्न थालेका छन्।

वैज्ञानिकहरूको सुझावपछि डब्लुएचओले पनि हावाबाट कोरोना भाइरस सर्छ भन्ने प्रमाण फेला परेको भनेको छ, यसलाई आम सर्वसाधारणले कसरी बुझ्ने? कस्तो अवस्थामा हावाबाट संक्रमण सर्ने हो

यो नयाँ तथ्य होइन, हामीले पहिलेदेखि नै भन्दै आएको कुरा हो। हामी बाटोमा वा बाहिर हिँड्दा, पसलमा बस्दा संक्रमित कोही छ भने उसले खोकेपछि वा हाच्छ्यूँ गरेपछि हावाबाट तैरिएर आएर सर्ने होइन, यो जहाँ बन्द कोठाहरू, हलहरु छन् एसी लगाएर पूरै झ्याल ढोका बन्द हुँदा पनि त्यस्ता ठाउँमा संक्रमण सरेको पाइएको हो।

नेपालमा त प्रायः झ्याल ढोका खुल्लै हुन्छ तर विदेशमा त्यस्तो हुँदैन। त्यहाँ कन्सटहरु हुन्छ, गीत गाउने, हुटिङ गर्ने, धेरै मानिसहरु सँगै डिनर गर्ने, कानेखुसी गर्ने गरिन्छ। हजारौँ जनाले एकै ठाउँमा व्यायाम गर्ने जिम सेन्टरहरु हुन्छ, त्यस्तो बेला तीव्र गतिमा श्वास फेर्ने हुन्छ। त्यस्तो ठाउँमा संक्रमितबाट निकै मात्रामा भाइरसहरु बाहिर निस्कन्छन्।

त्यस्तो ठाउँमा ठूलो भाइरसको कणहरु तल सतहमा खस्छ र निकै साना–साना कणहरु हावामा तैरिन्छ। कोठाभरि फैलिन्छ, र संक्रमितबाट अर्को ब्यक्तिमा श्वास लिँदा शरीरभित्र प्रवेश गर्न सक्छ। आँखा, नाक र मुखबाट सर्न सक्छ।

त्यसकारण ३२ देशका २३९ जना वैवैज्ञानिकले पनि भनेको त्यही हो। फेस टु फेस कुरा गर्दा संक्रमण सर्ने होइन। त्यस्ता कोठाभित्र वा ठाउँमा सर्ने हो। यो सत्य हो त्यस्ता बन्द कोठामा सर्ने सम्भावना बढी हुन्छ। त्यही भएर हामीले झ्याल ढोका खुलै राख्ने गर्नुपर्छ।

काठमाडौंको ढलको पानीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ, यसले एक किसिमको त्रास फैलिएको छ। के ढलबाट पनि कोरोना भाइरसको संक्रमण सर्ने हो?
ढलको विषयमा
आमजनमानसमा
एक खालको भ्रम पाइएको छ। स्पेनको बार्सिलोनाको ढलमा २०१९ को मार्चमा पनि कोरोना देखिएको थियो। २०१९ को नोभेम्बरमा ब्राजिलमा पनि परीक्षण गर्दा कोभिडको संक्रमण देखिएको थियो।

विभिन्न रिसर्चहरुका अनुसार फ्रान्स लगायतका देशमा पनि त्यस्तो संक्रमण ढलमा देखिएको थियो। नेपालको काठमाडौंमा पनि ४ ठाउँमा गरिएको परीक्षणमा २ ठाउँमा कोरोना भाइरसको संक्रमण देखिएको हो। मैले अघि पनि भने काठमाडौंमा ९ वटा खोलाको २ सयदेखि ३ सय स्थानमा परीक्षण गरेपछि मात्र कुन समुदायमा संक्रमण छ। कुन समुदायमा छैन। त्यसपछि मात्र थाहा हुन्छ।

जब संक्रमितको दिसा पिसाब ढलमा जान्छ त्यसमा भाइरसका टुक्राहरू पनि दिसा पिसाबसँगै जान्छ र  त्यहाँको ढलमा कोरोनाको संक्रमण पाइने वा देखिने हो। त्यो ढल मिसिएको पानी कसैले खाइहाले पनि कोरोना सर्दैन, किनभने त्यो एक्टिभ भाइरस होइन। समुदायमा संक्रमण छ या छैन भन्ने थाहा पाउनलाई मात्र ढल परीक्षण गरिएको हो। त्यसकारण काठमाडौंमा डराउनुपर्ने स्थिति छैन।

कोरोना भाइरस सर्न नदिन आफू सुरक्षित रहन अपनाउनुपर्ने नयाँ उपायहरू केही छन्

सबैभन्दा ठूलो कुरा त युनिभर्सल माक्स सबैले सही तरिकाले लगाउने मात्र हो भने पनि ३०–५० प्रतिशतसम्म संक्रमण आफैँ नियन्त्रणमा आउन सक्छ भनिन्छ। दोस्रो, सामाजिक दूरी कम्तीमा पनि ६ फिटसम्म कायम राख्नुपर्छ, भिडभाड भोजभतेर रेष्टुरेन्टमा नजाने, हातहरु नियमितरुपमा धुने, स्यानिटाइजरको उचित प्रयोग गर्ने गर्नुपर्छ।

बन्द कोठाभित्र हावाको माध्यामबाट संक्रमण फैलने भएकाले हामीले आफ्नो कार्यालयभित्र झ्याल ढोका थप्ने र अरूसँग टाढा रहेर कुरा गरे पनि सुरक्षित रहन सकिन्छ।

देशमा एकदुई वटा केश हुदा हामी एकदमै डराएर लकडाउनमा बस्यौ तर अहिले यसलाई सामान्य हिसाबले लिन थालेका छौँ। यसरी सामान्य रुपमा बुझ्नु हुदैन। विश्वभर हेर्दा पनि अहिले संक्रमण झन् फैलने क्रममा छ। त्यसैले मेरो सुझाब छ। मर्निङ्वाकइभिनिङ वाक पनि घरमै गर्ने गरौं। संक्रमणबाट आफु पनि बचौँ अरुलाई पनि बचाऔँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.