|

काठमाडौं :  शनिबार नक्कली कागजपत्र बनाई अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा एकजना जनप्रतिनिधिसहित १२ पक्राउ परे। पक्राउ पर्नेमा तीनजना डाक्टर, एकजना जनप्रतिनिधि (वडाध्यक्ष) र एकजना कानुन व्यवसायी समेत गरी १२ जना रहेका थिए।

यस सम्बन्धमा थप विवरण दिन  नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आइतबार पत्रकार  सम्मेलन गर्‍यो। ३ बजे डाकिएको पत्रकार सम्मेलनमा सबै मिडियाकर्मी जम्मा भए। करिब ३ : ३० बजे ब्यूरो प्रमुख एसएसपी डा. देव बहादुर बोहोराले आज पत्रकार सम्मेलन स्थगित भएको जानकारी दिए। पत्रकारले मान्छे सार्वजनिक नगरे पनि घटना विवरण सार्वजनिक गर्न आग्रह गरे।

प्रहरीले  चार बजेसम्म अदालतको काम सकिने त्यसपछि हरेक मिडियालाई प्रेस रिलिज पठाउने जानकारी गरायो। केही पत्रकार भने पत्रकार सम्मेलन नहुने भन्दै बाहिरिए। केही प्रतिक्षामा बसे। प्रतिक्षा गरेका पत्रकारलाई ब्यूरोले १० मिनेट नबित्दै घटनाबारे जानकारी गरायो। प्रेस रिलिज जारी गर्‍यो।

पत्रकार सम्मेलनमा  एक वर्षअघि काठमाडौँका एक पुरुषको मिर्गौला प्रत्यारोपणको विषयलाई लिएर उनीहरु नियन्त्रणमा परेको जानकारी दिइयो। पक्राउ पर्नेमा भरतपुर मेडिकल कलेजका डा.राकेश कुमार बर्मा, डा सुप्रभात श्रेष्ठ, डा. बाल कृष्ण कालाखेती रहेका छन्। त्यसैगरी अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन्।

प्रहरीले जिल्ला प्रशासन चितवनका शाखा अधिकृत रामचन्द्र ढकाल, प्रहरी नायव निरीक्षक योगेन्द्रराज थपलिया, प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल, ललितपुर महानगरपालिका वडा- ३ का अध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका अवकाश प्राप्त खरिदार नवराज केसी पनि पक्राउ परेका छन्।

त्यसैगरी जिल्ला प्रशासनका कार्यालय सहायक नवराज केसी पनि पक्राउ परेका छन्। यस्तै पक्राउ पर्ने महिलाहरू जमुनाराज भण्डारी, रेश्मा राई छन्। उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४ उपदफा-१ (ग) अनुसार अनुसन्धान अगाडि बढाइने भएको छ।

तर रोचक कुरा के भने  घटनामा संलग्न व्यक्ती भने सार्वजनिक गरेन। अन्य बेला घटनाका अभियुक्त सार्वजनिक गर्न हतार गर्थ्यो प्रहरी प्रशासन। ब्यूरोले भने अभियुक्त सार्वजनिक नगरेपछि ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियासँग जिज्ञासा  राख्दा ब्यूरोले अभियुक्तहरु पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने व्यवस्था नरहेको जानकारी दिए।

केहि समयसम्म अदालती प्रक्रियाले रोकिएको भनेर जानकारी दिएको ब्यूरोले केही समयपछि नै अभियुक्त सार्वजनिक गर्ने व्यवस्था नरहेको भन्ने जानकारी दियो। ब्यूरोले अभियुक्त सार्वजनिक गर्दैन भने पत्रकारलाई क्यामरासहित पत्रकार सम्मेलनमा किन ढाकिरहनुपर्‍यो? 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.