|

उदयपुर : उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय किसानहरूलाई सुन्तला र कागतीका २३ हजारभन्दा बढी बिरुवा नि:शुल्क वितरण गरेको छ। ८ हजार ५०० सुन्तला र १४ हजार ५०० कागतीको बिरुवा वितरण गरिएको गाउँपालिकाका कृषि शाखाप्रमुख गगन राईले जानकारी दिए।

बन्दाबन्दीको समयमा समेत धनकुटाबाट बिरुवा ल्याएर पालिकाले ५ वटै वडाहरू वितरण गरेको हो। सुन्तला र कागतीको पकेट क्षेत्रको आधारमा बिरुवा वितरण गरिएको र किसानलाई मापदण्ड अनुसार खाडल खन्न र मल राख्न लगाइएको राईले बताए। उनका अनुसार किसानलाई वितरण गरिएको सुन्तला-कागतीको बिरुवा लगाइएका क्षेत्रमा गाउँपालिकाले निरन्तर अनुगमनसमेत गर्नेछ।

गाउँपालिकालाई कृषि विकासका लागि विशेष प्राथमिकतामा राखेर अध्यक्ष कृषि कार्यक्रम समेत संचालन गरिएको र कृषि क्षेत्रबाटै पालिकालाई सम्पन्न गराउने गाउँपालिका अध्यक्ष मेजर राईले बताए। अब लिम्चुङबुङ गाउँपालिका कागती र सुन्तलाको लागि पकेट क्षेत्र समेत बन्ने उनको दाबी छ। किसानले उत्पादन गरेको सुन्तला, कागतीले बजार नपाए पालिकाले खरिद गरिदिने अध्यक्ष राईको भनाई छ।

पालिकाका किसानको आवश्यकता र माग अनुसार बिरुवा वितरण गरिएको लिम्चुङबुङ-५, जातेकी कृषि प्रावधिक शान्ता खड्काले जानकारी दिइन्। बाहिर एउटा बिरुवा बराबर सय रुपैयाँ पर्ने र सहजै रुपमा किन्न समेत नपाइएको अवस्थामा पालिकाले बिरुवा नि:शुल्क वितरण गर्दा ठूलो राहत गरेको स्थानीय किसान भुपाल कार्कीले बताए।

गाउँपालिकाको जाते, बलम्ता र ताम्लिछामा कागती-सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको लिम्चुङबुङ गाउँपालिकाका प्रवक्ता केशर कुमार खड्काले बताए। गाउँपालिकाले १० लाख रुपैयाँ मुल्य बराबरको बिरुवा खरिद गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.