|

मुगु : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच घण्टा नबित्दै मुगुको सोरु गाउँपालिकाका लागि प्रमुख प्रशासकीय अधिकृतमा दुई जनाको नाम सिफारिस गरेको छ। 

यसअघि कार्यरत प्रमुख प्रशासकी अधिकृत धान्ने बुढामाथि आर्थिक अनियमितताको आरोप लगाउँदै पालिका प्रमुख लोकबहादुर शाहीले जिल्ला प्रशासन कार्यालयम उजुरी दर्ता गराएका थिए। सो लगत्तै दैनिक प्रशासकीय कामकाज प्रभावित भएपछि प्रमुख शाहीले गाँउ सभा संचालन गर्न मन्त्रालयमा अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन माग गरेका थिए। 

त्यसपछि मन्त्रालयले आइतबार १२ बजेतिर जिल्ला समन्वय समितिमा कार्यरत समन्वय अधिकारी भीमराज सेजुवाललाई अर्को व्यवस्था नभएसम्मका लागि सोरु गाउँपालिकाको कामकाजमा सहजीकरण गर्न भन्दै आर्थिक र प्रशासनिक कार्यसहितको थप जिम्मेवारी दिई खटाएको थियो। 

सेजुवाल नेपाल निजामती कर्मचारी युनियन (संघ) का क्रियाशिल सदस्य तथा युनियनकै नेतृत्वबाट कर्मचारीको आधिकारिक ट्रेड युनियनका जिल्ला कोषाध्यक्ष पदमा रहेको थाहा पाएपछि मन्त्रालयले उनको सिफारिसलाई बदर गरिदियो। सेजुवालालाई सिफारिस गरेको पाँच घण्टाभित्रै मन्त्रालयले गाउँपालिकामै कार्यरत विद्यालय निरीक्षक वीरेन्द्र मल्ललाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमा सिफारिस गरेको हो। 

एउटै गाउँपालिकाको एउटै प्रशासकीय जिम्मेवारीमा एकै दिन दुई जनाको नाम सिफारिस भएपछि अन्योल भएको छ। गाउँपालिका अध्यक्ष शाहीले सत्ता र शक्तिको पहुँचका आधारमा प्रमुख प्रशासकीय अधिकृतको नाम सिफारिस गरेको भन्दै मन्त्रालयको निर्णयमा असन्तुष्टि जनाएका छन्। 

सोरू गाउँपालिकाका अध्यक्ष शाही नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिई स्थानीय तहको निर्वाचनमा विजयी भएका हुन्‌। मन्त्रालयले पहिलोपटक गाउँपालिकामा सिफारिस गरेका सेजुवाल पनि कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ) कै हुन्‌। लगभग 'सेटिङ' मिलिसकेको अवस्थामा मन्त्रालयले पाँच घण्टाभित्रै मल्ललाई सिफारिस गरेपछि अध्यक्ष शाही असन्तुष्ट बनेका हुन्‌।​ दोस्रोपटक सिफारिस गरिएका मल्ल नेकपा निकट रहेको स्थानीय कांग्रेस कार्यकर्ताले आरोप लगाएका छन्‌।

​सुब्बातहका सेजुवाललाई सिफारिसमा कुनै प्रतिक्रिया नजनाएका गाउँपालिकाका कर्मचारीहरूले अधिकृतस्तरका मल्लको सिफारिसमा भने आपत्ति जनाएका छन्‌। मल्लभन्दा जेष्ठ कर्मचारी गाउँपालिकामै रहेको र मन्त्रालयले निजामति सेवा ऐन लत्याएको कर्मचारीको तर्क छ।

मन्त्रालयले सोरु गाउँपालिकाका लागि एकै दिन दुई जनालाई जिम्मेवारी तोकि पठाएको पत्र :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.