|

डडेल्धुरा :  सुदूरपश्चिम प्रदेशका विभिन्न क्वारेन्टाइनमा बसिरहेकाहरूको पिसिआर परीक्षण गरिने भएको छ। 

स्वास्थ्य निर्देशनालय राजपुर डोटीले विभिन्न जिल्ला तथा भारतबाट आई यहाँका क्वारेन्टाइनमा बसेका सम्पूर्णको पिसिआर परीक्षणका लागि नमुना पठाउन अनुरोध गरेको छ। 

आइतबार निर्देशनालयले प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै क्वारेन्टाइनमा बसिरहेका तथा अवधी पुगेका सबैको स्वाब संकलन गरी धनगढी र डडेल्धुरा प्रयोगशालामा पठाउन अनुरोध गरेको हो। 

प्रदेशका क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरुको संख्या दिन प्रतिदिन घट्दै गइरहेको भन्दै नेपाल सरकारको कोरोना परीक्षण गाइडलाइन अनुसार नमुना पठाउन अनुरोध गरिएको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले जानकारी दिए।

स्वास्थ्य निर्देशनालयले संक्रमित क्षेत्रबाट फर्केका तथा संक्रमितको सम्पर्कमा आएको ५ देखि १० दिनभित्र पिसिआर जाँचका लागि उपयुक्त हुने भन्दै तुरुन्त सम्पूर्णको नमुना पठाउन भनेको छ। आइतबारसम्म सुदूरपश्चिमका विभिन्न क्वारेन्टाइनमा पाँच हजार ५८९ जना बसिरहेका छन्। जसमा एक हजार ३४२ महिला र बाँकी ४ हजार २४७ पुरुष छन्।

कोरोना संक्रमणको दर घट्दो

सुदूरपश्चिम पछिल्लो केही दिन यता कोरोना संक्रमणको दर घट्दो क्रममा रहेको छ। प्रदेशमा आइतबार ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढी र डडेल्धुरामा गरिएको परीक्षणका क्रममा चार जिल्लाका ६ जनामा कोरोना पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका दुई जना र बझाङका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। यस्तै धनगढी प्रयोगशालामा कैलाली र दार्चुलाका तीन जनामा कोरोना पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको मोहन्याल गाउँपालिका ३ का ४६ वर्षीय पुरुष, कैलारी गाउँपालिका ७ का २५ वर्षीय पुरुष, दार्चुलाको नौगाड गाउँपालिका ७ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताए।

सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६३ नमूना परीक्षण गरिएको उनले बताए। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार ९२० पुगेको छ। 

शनिबार कञ्चनपुरका तीन जना र शुक्रबार प्रदेशका विभिन्न जिल्लाका पाँचजनामा कोरोना पुष्टि भएको थियो। सुदूरपश्चिममा कोरोनाको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने एक हजार दुई सय ६७ जना उपचारपछि घर फर्किएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.