|

तनहुँ : भानु नगरपालिका–४ शिखरकटेरीमा आदिकवि भानुभक्त आचार्यको जन्म २०७ वर्षअघि  भएको हो। उनै आदिकविको जन्मघर भने खण्डहर अवस्थामा रहेका छ। घरभित्र रुखका बिरुवाहरु हुर्किंदै गरेको देखिन्छ।

भानुभक्तको जन्मजयन्तीको अवसरमा हरेक वर्ष देश विदेशमा ठूला–ठूला कार्यक्रम हुन्छन्। तर, उनै भानुभक्तको जन्मस्थलको विकास गर्न संघीय, प्रदेश र स्थानीय सरकारले खासै चासो दिएको छैन। 

मेरो ईनार न त सत्तल पाटीकै छन् 
जे धन चिजहरु घरभित्रकै छन् 
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखी कीर्ति

राष्ट्रिय विभूति आदिकवि भानुभक्तको यो कविताको सारले भनेको जस्तै अहिले साँच्चै उनको आफ्नै पहिचानको संरक्षण गर्न नसकेको भान हुन्छ। उनको जन्मघर संरक्षण गर्न नसकेकोमा धिक्कार मान्नुपर्ने देखिएको छ। 

भानुभक्तको जन्मस्थलमा भानुग्राम बनाउने गुरुयोजना बनाइयो। तर काम भने पूरा हुन सकेको छैन। यस स्थानको विकासका गर्न स्थानीय तहलाई जिम्मा दिइएको छ। जसले गर्दा पनि भानुग्राम बत्तीमुनिको अधेरोमा परेको भानुभक्तका खनाति सीताप्रसाद आचार्य बताउँछन्। भानु नगरपालिका–४ चुँदीरम्घास्थित भानुभक्तको जन्म जलेर ध्वस्त भएको १८ वर्ष पुग्न लाग्दा समेत पुनर्निर्माण हुन सकेको छैन। उनको जन्मस्थल हेर्नका आउने साहित्यिक पर्यटकहरु समेत त्यही खण्डहरमा परिणत भएको घर देखेर निराश हुँदै फर्किन बाध्य छन्।

रामायण भवन निर्माण

आचार्यको जीर्ण घर नजिकै रामायण भवन निर्माण गरिएको छ। तर त्यहाँभित्र राखिने भनिएको आचार्यको सातधामका श्लोक राख्न बजेट अभावले नसकिएको तनहुँको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए। 

आचार्यको जीर्णद्दार घर नजिकै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले दुई करोड ६५ लाख रुपैयाँमा रामायण भवन निर्माण गरिरहेको हो। ‘भवनको बाहिरी संरचना निर्माणको काम सकिएको भए पनि भित्री संरचना भने बाँकी नै छ,’ प्रमुख गौलीले भने, ‘तर नजिकै रहेको आचार्यको घर भने दूरावस्थामा छ।’

प्रचारप्रसारको कमी

नेपाली भाषिक एकताका प्रतीक भानु जन्मस्थलको प्रचारप्रचार गर्न नसक्दा ओझेलमा परेको छ। एक त तीन तहको सरकार भए पनि स्थानीय तहले मात्रै संरक्षण गर्नुपर्ने हुँदा पनि छायाँमा परेको नगरप्रमुख गौलीको भनाइ छ।

नगरपालिकाको बजेटले कर्मचारीको तलबभत्ता समेत पूरा दिन नसक्ने हुँदा पनि अझ बढी समस्या छ। यसको प्रचारप्रसारमा संघीय सरकार नै लाग्नुपर्ने स्थानीयवासीको माग समेत रहेको छ। भानुको संरक्षणमा राज्यले चासो नदिँदा भानु जन्मस्थल ओझेलमा परेको स्थानीय लक्ष्मी आचार्यले बताए। विगतका वर्षहरुमा भानुजयन्तीको लागि व्यापक प्रचारप्रसार र राष्ट्रिय अन्तर्राष्ट्रिय साहित्यकारको भेला गराई प्रचारप्रसारलाई प्राथमिकता दिइएको थियो। तर, स्थानीय तहको मातहतमा आएपछि भने राष्ट्रिय स्तरमा प्रचारप्रसारमा कमी आएको स्थानीयको भनाइ छ।

२०७३ मा तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी, पूर्वमुख्यसचिव लीलामणि पौडेल, पूर्वमन्त्री माधव घिमिरे र पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष रामकाजी कोनेले घरको शिलान्यास गरेका थिए। तर, यतिका समय बितिसक्दा समेत घरको पुनर्निर्माण नभएको श्रीभक्त आचार्यले बताए।
 
बाह्रै महिना सवारीसधान चल्ने बाटो नहुनु, सरकार छोटो समयमा परिवर्तन हुनु, घर जाने बाटो खोलिनु तर ग्राभेल नहुनु, पानीको समस्या तथा जंगलको बीच भागमा भएकाले सुरक्षा चुनौतीका कारण घर निर्माणमा ढिलाइ भएको बताइएके छ।  

भानुभक्तलेका जन्मघर निर्माण भए धेरै भन्दा धेरै पर्यटक आउने स्थानीयवासीको अपेक्षा छ। भानु जन्मस्थल विकास समितिले २०५५ सालमा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र बनाउने क्रममा घर पुनर्निर्माण गरेको थियो। तर, २०६० मा जंगलमा फैलिएको आगोले घर जलेर ध्वस्त भएको हो।

भानुको जन्मथलोको विकास

भानुको जन्मथलोको विकासका लागि सरकारले भानु जन्मस्थल विकास समिति गठन गरेको थियो। तर, समिति गठन भएको दुई दशकभन्दा बढी नाघिसक्दा समेत विकासका लागि ठोस पहल गर्न सकेको छैन। संघीयता लागु भएसँगै समिति पनि विघटन भएर भानुको जन्मस्थलको विकासबाट संघीय सरकारले हात समेत झिकेको छ।

समितिमा लामै समय नेतृत्वमा रहेका भानुकै खनाति पर्ने श्रीभक्त आचार्यले नगरपालिकाले विनियोजन गरेको बजेटले कर्मचारीलाई तलब भत्ता समेत दिन नपुग्ने बताए। ‘संघीय सरकारले राष्ट्रिय विभूतिको जन्मस्थल संरक्षणबाट हात उठाएको छ,’ उनी भन्छन्, ‘भानु नगरपालिकाको मात्रै विभूति हो भानुभक्त आचार्य?’

सबै कर्मचारी संघीय सरकारबाट नियुक्ति भएका छन्। ‘स्थानीय तहको बजेटले कर्मचारीलाई तोकिएको तलब दिन सकिएको छैन,’ उनले भने, ‘यसरी कसरी विकास गर्न सकिन्थ्यो र? सरकारले आवश्यक बजेट विनियोजन गर्दैन विकास कसरी हुनु?’

कथनमा मात्रै सीमित भानुग्राम 

भानु जन्मस्थललाई साहित्यिक स्थल बनाउने अवधारणा आचार्य नेतृत्वले ल्याएका थिए। तर, उनी तीनपटक अध्यक्ष बन्दा पनि यो योजनाअन्तर्गत कुनै काम हुन सकेन। उनीबाहेक अध्यक्ष भएकाहरुले पनि यस योजनामा इँटा थप्न सकेनन्। बरु विगतमा तामझामसाथ हुने भानुजयन्ती कार्यक्रमसमेत ओझेलमा पर्न थालेको छ।

विगतमा देश–विदेशका साहित्यकार आउने भानुजयन्तीको कार्यक्रम दलगत निकट रहेका समितिलाई नेता रिझाउने ठाउँ बन्न थालेपछि साहित्यकारले वर्षे झरीमा चुँदी जाने कष्ट गर्न छाडेका छन्।

हालै गीतल प्रतिष्ठान संस्थाले गरेको कार्यक्रममा भारत, चीन र म्यानमारदेखिका कविले भानु जन्मभूमि टेकेका थिए। उनीहरुले कवितामार्फत भानु जन्मस्थलको महिमा गाए तर हाम्रै नीति निर्माताको मनमा अझै पनि भानु बस्न नसकेको देखिन्छ  

भानु ग्राम निर्माण गर्ने योजना पूर्वसभामुख रामचन्द्र पौडेलको समयमा बनाइएको थियो। केही काम अगाडि बढे पनि राजनीतिक अन्यौलताले त्यो पूरा हुन सकेन।

चालुवर्षमा भने भानु नगरपालिकाले १० लाख रुपैयाँ विनीयोजन गरी १० रोपनी जग्गा खरिद गरिसकिएको नगरप्रमुख उदयराज गौलीले बताए। ‘विस्तारै थोरै थोरै बजेटबाट बनाउने योजना गरिएको छ, संघीय सरकारसँग पहल गर्दा समेत अहिलेसम्म केही पनि भएको छैन,’ उनले भने, ‘तर नगरपालिकाले मात्रै बनाउन भने सम्भव छैन, इट्टा थप्ने प्रयास भने छोडेका छैनौं।’

भानु जयन्तीमा सार्वजनिक बिदा 

तनहुँको भानु नगरपालिकाले असार २९ गते भानु जयन्तीका दिन सार्वजानिक बिदा दिने निर्णय छ। भानु जयन्ती मनाउनको लागि बिदा दिने निर्णय गरिएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिए। नगरपालिकाले गत वर्ष पनि भानु जयन्तीका दिन नगरपालिका क्षेत्रभित्र सार्वजानिक बिदा दिएको थियो।

नगरपालिकाले कर्मचारी र जनप्रतिनिधिहरूलाई अनिवार्य बिर्खेटोपी लगाउनुपर्ने व्यवस्था लागु गरेको छ। गत असार १ गतेदेखि उनीहरूलाई अनिवार्य रुपमा बिर्खेटोपी लगाउनुपर्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ। भानुभक्तकै नामबाट स्थापित भानु नगरपालिकाले भानुभक्तको सम्झना गराउने उद्देश्यले कर्मचारी र जनप्रतिनिधिहरूलाई अनिवार्य बिर्खे टोपी लगाउनुपर्ने निर्णय गरेको हो।

भानु जन्मस्थल समितिविहीन

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घामा भानुभक्तको कृतित्व र व्यक्तित्व विश्वसामु पु¥याउने उद्देश्यले गठित भानु जन्मस्थल विकास समिति यतिबेला पदाधिकारीविहीन बनेको छ। स्थानीय तहहरू गठन भएपछि सो संस्था समितिविहीन बनेको हो ।

यस अघि उक्त संस्थामा नेपाल सरकारले अध्यक्ष र कार्यकारी निर्देशकको रुपमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई मनोनयन गर्दै आएको थियो। अहिले भानु नगरपालिकाले जन्मस्थल विकास समितिले गर्ने काम हेरिरहेको बताइएको छ। नेपाल सरकारसँग समिति गठनका लागि पहिल भइरहेपनि सो पूरा हुन नसकेको भानु नगरपालिका–४ का अध्यक्ष पूर्णबहादुर लौडारी भाटले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.