|

काठमाडौं : सरकारले काठमाडौंको मध्य सहरबाट बग्ने टुकुचा खोलाको संरक्षण र हरियाली प्रवर्द्धन शुरु गर्ने भएको छ। 

सोमबार बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सहरी सुन्दरता झल्कने गरी टुकुचाको व्यवस्थापन गर्न लागिएको बताए। मन्त्री मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिनका लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको बताए।

मध्य सहरबाट बग्ने टुकुचाको दायाँ बायाँ किनार मिचेर बनाइएको संरचना भत्काएर व्यवस्थित रुपमा बाटो र ट्रयाक निर्माण गरिने बताउँदै मन्त्री मानन्धरले मध्य सहरलाई सुन्दर बनाउनका लागि टुकुचा खोलाको दायाँ बायाँ किनारालाई व्यवस्थित बनाइने बताए। 

टेकुमा ट्रिटमेन्ट प्लान्ट बनाउन र टुकुचा खोलाको ६ किलोमिटर क्षेत्रलाई सुन्दर र प्राकृतिक बहावमा ल्याउनका लागि यो आर्थिक वर्षमा २० करोड खर्च गरिने मन्त्री मानन्धरले जानकारी दिए।  सुन्दर सहरका लागि टुकुटाको व्यवस्थापन अनिवार्य भएको बताउँदै मन्त्री मानन्धरले सरकारले सहरी क्षेत्रको सुन्दरतालाई विशेष ध्यानमा राखेको बताए। 

राजधानी उपत्यकालाई व्यवस्थित र सुन्दर बनाउनका लागि सरकारले दिर्घकालिन योजनासहित काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले आगामी वर्षसम्ममा टुकुचाको रुप फेरिने दाबी गरे। अनुगमनमा अधिकार सम्पन्न एकिकृत बागमती आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँ बायाँ ढलसहित खोलामा शुद्ध पानीमात्र बगाउने योजना बनाइएको बताए। 

ढकालले डिपिआर निर्माणको काम थालनि गर्न लागिएको बताउँदै सरोकारवालासँगको छलफलपछि डिपिआरलाई अन्तिम रुप दिइने जानकारी दिए। प्रदेशसभा सदस्य केशव स्थापितले टुकुचा काठमाडौंको सभ्यता भएकाले यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.