आकर्षक पेशा नै बदनाम हुने चिन्ता

|

काठमाडौं : ललितपुरस्थित पाटन अस्पतालको स्वास्थ्य सामग्री चोरी गरिएको अभियोगमा जेठ २८ गते दुई जना चिकित्सकलाई प्रहरीले पक्राउ गर्‍यो। घटनामा एमबीबीएस डाक्टर प्रवीण मिश्र र अहेव रमेश कुमार शर्मा थिए।

महोत्तरीको बर्दिबासमा अस्पताल चलाइरहेका उनीहरुले अस्पतालको पोर्टेबल अल्ट्रासाउण्ड मेसिन र त्यसका पाटपुर्जा चोरी गरेका थिए। अस्पतालमा सामान हराएपछि प्रहरीले अनुसन्धान गर्दा डाक्टरले ती सामान चोरेर साथीको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

गत वर्षको असोजमा मिर्गौला बिक्री गरेको आरोपमा निदान अस्पतालका सिइओसहित डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकर लाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आलेलाई प्रहरीले पक्राउ गरेको थियो।

त्यसैगरी,शनिबार अवैधरुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा चितवनस्थित भरतपुर मेडिकल कलेजका डाक्टर सहित अन्य दुई व्यक्ति गरी चारजनालाई प्रहरीले पक्राउ गरेको छ। डाक्टर राकेश बर्मा, डा. सुप्रभात श्रेष्ठ र डा.बालकृष्ण कालाखेती पक्राउ परेका हुन्।

यतिखेर संसारभर कोरोना महामारी रहेको छ। कयौं संक्रमितको ज्यान गइसकेको छ। उपचारको लागि चिकित्सक फ्रन्टलाइनर भएर अहोरात्र खटिएका छन्। कतिपय चिकित्सकले ज्यान समेत गुमाइसकेका छन्। संक्रमितको उपचार चिकित्सकले सेवा प्रदान गरिरहेका छन्। तिनले राज्य र नागरिकस्तरबाट सम्मान पाइरहेका छन्।

यहीँ बेलामा अवैध मिर्गौला कारोबारमा संलग्न रहेको आरोपमा चितवनबाट नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले केही चिकित्सकलाई पक्राउ गरेको छ।

संसारमा सबैभन्दा बढी सम्मानित पेसामध्ये डाक्टरी पेशा हो। सम्भवत: नेपाली समाजमा सबैभन्दा बढी पारिश्रमिक आर्जन गरिरहेका पेशा मध्येका व्यक्तिमा यिनै चिकित्सकहरु पर्छन्।

अर्कोतर्फ चिकित्सकलाई दोस्रो भगवानको रुपमा मानिन्छ। तिनैले मृत्युको मुखमा पुगिसकेको बिरामीलाई पुनः नयाँ जीवन दिन्छन्। चिकित्सकहरु बारम्बार विभिन्‍न  विवादमा मुछिएका घटनाहरु सार्वजनिक भइरहेका छन्। आखिर यति सम्मानित पेशामा रहेका स्वास्थ्यकर्मीहरु किन अवैध गतिविधि र आपराधिक क्रियाकलापमा संलग्‍न हुन्छन?

'चिकित्सक संघले अध्ययन गर्ने'

'चितवनमा केही चिकित्सकको संलग्‍नतामा गैरकानुनी घटना भएको सुन्‍नमा आएको छ', नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष शिव प्रसाद श्रेष्ठ 'त्यस विषयमा चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ। मिर्गौला प्रकरणको चिकित्सको गल्ती छ भने सजायको भागीदार हुनुपर्छ। त्यस विषयमा के भएको हो, चिकित्सक संघले अध्ययन गर्छ।'

अभियोग लागिसकेकाले चिकित्सकले अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्ने उनको भनाइ छ। चितवन घटनामा चिकित्सकको संलग्नता रहेको विषयमा संघले बैठक विषय बसेर आधिकारीक धारणा प्रस्तुत गर्ने उनले जानकारी दिए।

लाइसेन्स खारेजसम्मको कारवाही

चिकित्सकको उपचार प्रक्रियामा मात्र सरकारले हेर्ने भएकोले मिर्गौला प्रकरणको विषय अलिक गम्भीर रहेको नाम नबताउने शर्तमा नेपाल मेडिकल काउन्सिलका एक अधिकारीले बताए।

'उपचारको प्रक्रियाको शिलशिला पुर्‍याएर ल्याइएको छ भने अस्पतालले बिरामीको उपचार थाल्छन्,' उनले भने,' मिर्गौलाको प्रत्यारोपणको कानुन आफैंमा पनि अलिक बाझिएको जस्तो पनि छ।'

डाक्टरहरु केही समययता अवैधानिक क्रियाकलापमा संलग्‍न भएका छन त्यस्ता डाक्टरहरुको लाइसेन्स खारेजदेखि देशभरका कुनै पनि अस्पतालमा सेवा दिन नपाउने गरी कारवाही गरिने उनको भनाइ छ।

चिकित्सक पेशाप्रति सम्मान हराउने चिन्ता

समाजका हरेक  पेसाका मानिसमा महत्त्वाकांक्षा बढदै गएकाले सम्मानित पेसाका मानिसहरु गैरकानुनी क्रियाकलापमा संलग्‍न हुनेको संख्या बढिरहेको समाजशास्त्री डा.दिनेश प्रसाई बताउँछन्। पैसा कमाइ हाल्नुपर्ने, समाजमा बिलासी सवारीसाधन खरीद गरेर हिँड्नुपर्ने र देखाउने भावनाको विकास बढेकाले पनि यस्ता गतिविधिहरु बढिरहेको उनले बताए।

चिकित्सक जस्तो सम्मानित पेशा, मानिसलाई नयाँ जीवन दिन सक्ने पेशामा रहेकाहरु अवैध कारोबार र अपराधमा संलग्‍न भएको समाचार बाहिर आउँदा समाजमा हेयको भावना बढ्दै जाने उनले बताए।

'समाजमा चिकित्सकलाई भगवानको रुपमा लिने गर्छन्', उनले भने, 'अहिलेका मानिसहरु उपभोक्तावादी र देखावटी कुरामा रमाउने छन्। अर्को कुरा डाक्टर पढ्दा धेरै पैसा खर्च भएको हुन्छ। त्यसको लगानी उठाउन गैरकानुनी क्रियाकलाप गर्न पनि उनीहरु अग्रसर हुन्छन्।‘

चिकित्सक पेसालाई राज्य र समाजले त्यति सारो अवहेलना नगरेको उनले बताए।  सबैभन्दा ठूलो कुरा हरेक पेशामा रहेका मानिसले आफ्नो मनस्थितिलाई नियन्त्रणमा राख्नुपर्नेमा उनले जोड दिए।

१० वर्ष सजाय 

चितवन मेडिकल कलेजबाट पक्राउ गरी ल्याइएका चिकित्सकलाई अनुसन्धान गरिरहेको मानव बेचबिखन ब्यूरोका प्रवक्ता गोविन्द थपलियाले बताए। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन,२०६४ को दफा ४ उपदफा अनुसार अनुसन्धान गरी कारवाही गरिने उनले जानकारी दिए। अभियोग प्रमाणित भएमा बढीमा १० वर्षसम्म जेल सजाय तोकिने र ५ लाख जरिवाना लिने व्यवस्था रहेको उनले प्रष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.