|

काठमाडौं : कोरोना महामारीका कारण झण्डै चार महिनादेखि सामुदायिक स्कुल, निजी स्कुल र सबै विश्वविद्यालयका कलेजहरू बन्द छन्। सरकारले लकडाउन खुकुलो बनाएसँगै अहिले सार्वजनिक साधन चल्न दिने निर्णयसमेत गरिसकेको छ। तर, विद्यालय भने बन्द नै छन्।

सरकारले यस विषयमा भने केही निर्णय गरेको छैन। लामो समयदेखि स्कुल बन्द भएपछि निजी विद्यालय आर्थिक मारमा परेको भन्दै सरकारसँग राहत प्याकेजको माग राखेर स्कुल सञ्चालकहरु अहिले पनि आन्दोलनरत नै छन्।

लकडाउनका कारण इन्टरनेट पहुँच भएको ठाउँमा अहिले अनलाइन कक्षा सञ्चालन भैरहेको छ। तर याे प्रभावकारी भएको देखिँदैन। त्यसो त कोरोना संक्रमित नभएका जिल्लामा सामाजिक दूरी कायम गरी सरकारले विद्यालय सञ्चालन गर्नसक्छ। तर यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने यस विषयमा अहिलेसम्म मन्त्रालयले कुनै ठाेस निर्णय नगरेको बताए।  

‘हामीले कोरोना संक्रमित नभएका जिल्लामा विद्यालय सञ्चालन गर्ने भनेर हुँदैन,’उनले भने,‘संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)ले निर्णय गर्ने विषय हो। उनीहरुले जे निर्णय गर्छन् त्यही हुन्छ। अहिले अनुगमन समितिले छलफल गर्दै होला। हामीकहाँ अहिलेसम्म केही निर्णय आएको छैन।’ 

उनका अनुसार अहिले कोरोना भाइरसको जाेखिम झनै उच्च छ। उपत्यकाभित्र तत्काल विद्यालय सञ्चालन गर्ने अवस्था छैन। कोरोना संक्रमित नभेटिएका जिल्लामा विद्यालय सञ्चालन गर्ने निर्णय भएको खण्डमा पनि सामाजिक दूरी कायम गर्ने, मास्क, सेनिटाइजर लगायत सुरक्षा मापदण्डमा रहेर स्कुल सञ्चालन गर्नुपर्दछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.