|

सल्यान : २०४८ सालदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को भ्रातृ विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी लागेर राजनीतिक सङ्घर्ष गर्दै आएका सल्यानका युवा नेता टीकाराम ओली केही वर्षयता राजनीतिसँगै कृषि व्यवसायतिर मोडिएका छन्।

भूमिगत कालमा पार्टीको सेनाको जिम्मेवारी, पार्टीको जिल्ला सेक्रेटरीको जिम्मेवारी बहन गर्दै राजनीतिक जीवनलाई अघि बढाई रहेका छन्। तत्कालीन माओवादीका विभिन्न अनुभव  बटुलेका ओली हाल पार्टीको एकतापछि नेकपाको कर्णाली प्रदेश सदस्य रहेका छन्। तर, आजभोलि उनको परिचय यतिमा सीमित छैन।

रोजगारीकै लागि हजारौँ युवाहरू विदेश पलायन हुनुपर्ने बाध्यताको बीचमा ओली भने पार्टी लिएको नीतिअनुसार आर्थिक क्रान्तितिर मोडिएको छन्। उनले जिल्लाको बागचौर नगरपालिका २ बागचौरमा सभ्यता नर्सरी व्यवसाय सञ्चालनमा ल्याएपछि अरू युवा पनि उनको व्यवसायबाट पाठ सिकेर आफ्नै गाउँमा केही गर्न तम्सिन थालेका छन्।

राजनीतिले मात्र जीविकोपार्जन नहुने रहेछ

झन्डै ३० वर्षदेखि सक्रिय रूपमा राजनीतिक गर्दै आएका ओली राजनीतिले मात्र जीविकोपार्जन गर्न नसकिने बताउँछन्। ‘राजनीतिलाई व्यवसाय बनाउन सकिँदैन’ उनले भने ‘बरु राजनीतिसँगै अरू नै व्यवसाय गर्न सकिन्छ। राजनीति मात्र सेवा हो।’ राजनीतिसँगै आय आर्जनको लागि विभिन्न खेती व्यवसाय गर्न आवश्यक रहेको उनको बुझाई छ। 

उनलाई  श्रमती सुम्निमा डिसीले पनि साथ दिँदै आइरहेकी छन्। उनी पनि नेपमाको कर्णाली प्रदेश सदस्य नै हुन्। सक्रिय राजनीतिसँगै कृषि व्यवसायमा दुवै जना तल्लीन रहेका छन्।

पाँच रोपनीमा नर्सरी

थोरै क्षेत्रफलबाट नर्सरी व्यवसाय सुरु गरेका ओलीले हाल पाँच रोपनीमा नर्सरी व्यवसाय गर्दै आएका छन्। आफ्नो दुई रोपनी क्षेत्रफल र बाँकी तीन रोपनी वार्षिक १२ हजार प्रतिरोपनीका दरले लिजमा लगेको उनको भनाइ छ। उनले भने, ‘विभिन्न बिरुवाहरूको माग बढ्दै जान थालेपछि तीन रोपनी लिजमा लगेर व्यवसाय गर्दै आइरहेका छौँ।‘

उनको नर्सरीमा टिमुर, कागती, सुन्तला लगायतका झन्डै एक लाख बढी बिरुवा रहेका छन्।

मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लान प्रत्येक राजनीतिकर्मी व्यावसायिक र सामाजिक बन्नु पर्ने उनी बताउँछन्। त्यसको व्यावहारिक प्रयोग राजनीति गर्ने व्यक्तिबाटै गर्न जरुरी रहेकाले व्यवसायलाई निरन्तरता दिएको उनले बताए।

दश लाख आम्दानी

थोरै क्षेत्रफलबाट नर्सरी व्यवसाय गरेका ओलीले अहिले मनग्य आम्दानी गर्दै आइरहेका छन्। गत वर्ष दुई रोपनीबाट ५ लाख आम्दानी भएको बताउँदै उनले यो वर्ष भने १० लाख भन्दा बढीको आम्दानी हुने बताए। 

जग्गा भाडा, दुई जना कर्मचारीको पारिश्रमिकलगायत अन्य खर्च कटाएर १० लाख बचत हुने अनुमान गरिएको उनको भनाई छ । उनले भने ‘कोरोना भाइरसको सन्त्रास र बिचौलियाको बिगबिगीका कारण केही बजारीकरणमा समस्या भएको छ।’

२ जनालाई रोजगारी

नर्सरी व्यवस्थापनका लागि उनले दुई जनालाई पनि रोजगारी दिएका छन्। मासिक १२ हजारका दरले दुई जनालाई पारिश्रमिक दिएको उनको भनाई छ। सिजनको समयमा अन्य कामदार पनि लगाउँदै आइरहेको उनले बताए। उनले भने, ‘रोजगारीका लागि विदेश नै जानुपर्छ भन्ने मान्यतालाई हटाउन मासिक रूपमा दुई जनालाई रोजगारी दिएको छु साथै सिजनलाई अन्यलाई पनि रोजगारी दिँदै आइरहेको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.