काराेबार हुन नसक्दा त्रसित

|

धनगढी : लकडाउन अवधिमै भारतबाट घर फर्किएका कैलालीका काशीराम चौधरी भारतीय रुपैयाँ (भारु) नचल्ने भएपछि समस्यामा परेका छन्। मजदुरी गर्न भारत गएका उनी लकडाउन भएपछि कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल आएका थिए।

सीमा क्षेत्रमा भारु सटही गर्न नपाएपछि भारतीय ५ सयदेखि २ हजार सम्मका नोटका गड्डी लिएर घर आइपुगेका थिए। अहिले स्थानीय बजारमा व्यापारीहरुले भारु नोटको कारोबार गर्न मानेका छैनन्, उनले पीडा पोख्दै भने, ‘घर व्यवहार चलाउन पनि गाह्रो भएको छ, कतै डुबिने पो हो कि ?’

भारतबाट तीन महिनाअघि घर फर्किएका डोटीका कर्ण भट्ट पनि भारु नोट नचल्दा आर्थिक कारोबारबाटै वञ्चित भए। वर्षभरि भारतमा काम मजदुरी गरेर ल्याएको डेढ लाख बढी भारु सटही गर्न नपाएपछि घरमै थन्काएर राख्नुपरेको भट्टले दुखेसो पोखे। ‘व्यापारीहरुले भारु ५ सयभन्दा बढीका नोटको कारोबार गर्न मानेका छैनन्।’ भारतले पहेलेजस्तै मुद्रा नै परिवर्तन गर्ने पो हो कि भन्ने पिरलो छ उनलाई। 

भारुको कारोबार रोकिँदा पीडित यी दुई प्रतिनिधि पात्र मात्र हुन्। यो घटनाका कारण भारतमा मजदुरी गरेर लकडाउनमा घर फर्किएका थुप्रै नेपाली मारमा परेका छन्। चार वर्षअघि भारत सरकारले आफ्नोे चलनचल्तीमा रहेका ५ सय र १ हजार दरका नोटहरु हटाउने निर्णयले ठूलो घाटा खेपेको डरले अहिले व्यापारीहरुले भारु नोटको कारोबार गर्न मानेका छैनन्। यही कारण भारतीय नोटको कारोबार गर्न जोखिम रहेको व्यपारीहरु बताउने गर्छन्। 

लकडाउनमा भारतबाट सुदूरपश्चिम प्रदेशमा मात्रै दुई लाख बढी मानिस फर्किएका छन्। उक्त तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशमा ठूलो परिमाणमा भारतीय रुपैयाँ भित्रिएको छ। सुदूर पहाडका जिल्लाहरुमा भारतबाट मजदूरी गरेर फर्किएका मानिसले सीमा क्षेत्रमा सटही गर्ने ठाउँ नभएपछि ठूलो परिमाणमा भारु नोट ल्याएका छन्। 

यहाँका चोक, चिया पसल, सार्वजनिक स्थलमा सर्वसाधारण र व्यापारीबीच भारु नोट सटही हुने र नहुनेबारे विभिन्न अड्कलबाजी हुने गरेको छ। यता नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक निश्चल अधिकारी भारतीय १ सयभन्दा माथिका नोटको कारोबार नेपालमा गैरकानुनी भएको बताउँछन्। 

भारतीय १ सयका नोटहरु नेपाल राष्ट्र बैंकले सहजै रुपमा सटही गरिरहेको उनले जानकारी पनि दिए। तर निर्देशक अधिकारीले भारतले चलनचल्तीबाट यी नोटहरु हटाएको खण्डमा ठूलो जोखिम हुने आकलन गरे। भारतमा काम गर्ने नेपालीहरुले १ सयका नोट मात्र ल्याउने वा रेमिटेन्समार्फत नेपाल पठाएर जोखिम कम गर्न सकिने उनको बुझाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.