साहित्य

आजको चेतनाले भानुभक्तको आलोचना गर्नु ठीक होइन

जसले नेपाली भाषामा प्राण भरेका थिए

असार २९, २०७७

    काठमाडौं : देशदेखि विदेशसम्मका नेपाली भाषीहरूले स्मरण गरिरहने एउटा नाम हो भानुभक्त आचार्य। सबै नेपालीका साझा आदिकवि आचार्यको २०७ औँ जन्मजयन्ती विभिन्‍न कार्यक्रमसहित मनाइएको छ। 

    वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घा गाउँमा जन्मिएका भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ। दार्जिलिङको चौरास्तामा त भानुभक्त पूर्ण कदको सालिकमा उभिएका छन्।  जन्म जयन्तीका अवसरमा रानीपोखरी नजिकको भानुको सालिकमा माल्यार्पण गरेर भानुको सम्मान गरिने परम्परा छ।

    उनलाई नेपाली भाषालाई उचाइमा पुर्‍याउने व्यक्तिका रुपमा चित्रण गरिने गरेको छ। अहिले पनि उनलाई नेपाली साहित्यमा सम्मानित तरिकाले हेरिने गरिन्छ। नेपाली साहित्यमा सबैभन्दा विवादित र सम्मानित नामका रुपमा रहेका भानुभक्तलाई नेपालको भाषिक र सांस्कृति एकीकरणका निम्ति सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।

    भानुभक्त हाम्रो परम्पराका प्रकाश हुन् : प्रा.डा महादेव अवस्थी 

    उनीमाथि भ्रम र केही त्रुटीहरू छन्। उनलाई सहज र सहि तरिकाले सम्झिन जरुरी ठान्छु। अहिलेको पुस्ताले आचार्यमाथि गरेको टिप्पणीले  मलाई असहज महसुस हुन्छ। पहिलो भानुभक्तले रामायण अनुवाद गरे भन्‍ने भ्रम छ। आचार्यले रामायणको अनुवाद गरेका होइनन्। उनले संस्कृत भाषामा लेखिएको रामायणलाई पुन कथन गरेका हुन्।

    आचार्यका कवितारत्न प्रतिभा रहेको थियो। उनले संस्कृत भाषामा रचिएको रामायण पढे। तर, त्यो दुरुस्त अनुवाद गरेका होइनन्। उनले आफ्नो मौलिक प्रतिभा पनि त्यहाँ मिसाएका छन्। भानुभक्तले रामायण अनुवाद गरे भन्ने कथन सच्याउन जरुरी छ। अर्को कुरा के भने वाल्मीकिको रामायण अनुवाद गरे भन्‍ने गरेका छन्। यो गलत छ। उनले व्यास ऋषिले लेखेको अध्यात्म रामायणमा आधारित भएर आचार्यले नेपालीमा रचना गरेका हुन्। 

    भानुभक्तका बारेमा लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यका इतिहासका सर्वश्रेष्ठ पुरुष भन्‍ने निबन्धमा नेपाली साहित्यका सर्वश्रेष्ठ मानेका छन्। अहिलेका पुस्ताले देवकोटाले लेखेको त्यो निबन्ध पनि पढ्ने चेष्टा गरेको छैन। 

    वास्तवका भानुभक्तको साहित्य भनेको सर्वसाधारण नेपालीहरुको साहित्य हो। गाउँ भरका व्यक्तिको साहित्य हो। उनको साहित्य बुझ्न बौद्धिक प्रबुद्धता आवश्यक पर्दैन। उनको साहित्यका सरलता, लोक जीवन छ। लोक हृदयलाई उनको साहित्यले छुन्छ। 

     हामी भानुभक्तबाट पढाई सुरु गर्छौं। पढ्दै जाँदा जब हामी जान्ने सुन्‍ने हुँदै जान्छौं। हामीमा बौद्धिकता बढ्छ। त्यसपश्चात  हामीलाई भानुभक्त पुराना लाग्छन्। अनी हामीले उनलाई हेला गर्छौं। उनी हाम्रा परम्पराका  प्रकाश हुन्। उनले हामीलाई हाम्रो सभ्यता र संस्कार सिकाएछन्। हामीले हाम्रो जीवनलाई संस्कारयुक्त बनाउनु छ भने भानुभक्तलाई पढ्नुपर्छमात्र होइन पढ्नैं पर्छ। 

    भानुभक्त नेपाली भाषालाई एकाकार गर्ने माध्यम :  प्रा:  केशव सुवेदी 

    नेपाली साहित्यमा सिर्जनाको नयाँ यात्रा आरम्भ गर्ने व्यक्त थिए उनी। यो मात्र होइन् उनले नेपालको भाषिक र सांस्कृतिक एकीकरणका निम्ती पनि सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका छन्।

    जुन बेला भाषाको माध्यमबाट हामीले अभिव्यक्त गर्ने परिस्थिति बनेको थिएन, अथवा लेखन स्तरमा नेपाली सम्भार र समृद्धि स्थापित भइसकेको थिएन। सिर्जनाको क्षेत्रमा नेपाली भाषा पछाडि थियो। त्यो समयमा आचार्यले नेपाली भाषामा आफ्नो सिर्जना गरे। भाषाको स्तरीकरण गरेर भाषालाई राष्ट्रिय मान्यता दिएका छन्। नेपाली जातिलाई भाषिक एकतामा एकताबद्ध गर्ने प्रयास  गरे।  व्यक्तीगत रुपमा भन्ने हो भने म यी नै कोणबाट उनलाई चिन्छु। आजको पुस्ताले यो हिसाबले आचार्यलाई श्रद्धा, सम्मान र आस्था व्यक्त गर्नुपर्छ। 

    अहिलेको पुस्ताले पनि आचार्यलाई सम्मानित रुपमै नै हेरिरहेको छ। उनका हिजोको योगदानलाई आजको पुस्ताले अझै स्तरीकरण गर्दै जाने प्रयत्न गरेको छ। हिजो नेपाली भाषामा सिर्जना गर्ने, साहित्य लेख्ने उनी एक्लै थिए। तर, आज नेपाली भाषाको माध्यमबाट अनेक साहित्य सिर्जना गर्नेहरूको संख्या बढ्दै गएका छन्। यसको बृहत् स्वरुप हेर्नुहुन्छ भने नेपाली गीतको माध्यमबाट पनि भाषाको स्तरीय बनाउन प्रयत्‍न गर्नेहरु हुनुहुन्छ। भाषालाई संसारभर पुर्‍याउने काम अहिलेको पुस्ताले गरिरहेको छ। 

    भानुभक्तको नाम लिनु, जन्मोत्सव मनाउनु मात्र सम्मान होइन। उनले गरेको कामको विस्तार गर्नका निम्ती अहिलेको पुस्ताले गरेको योगदान र भूमिका प्रशंसनीय छ। 

    नेपाल मात्र होइन विश्वका अन्य क्षेत्रमा पुगेका नेपालीलाई एकताबद्ध गर्ने एक माध्यम छ। त्यो हो भाषा। अनेक जाति र भाषाभाषी एक ठाउँमा उभिन्छन्। भाषिक एकत्वलाई निरन्तरता  दिने परिस्थिति दिने अहिलेको पुस्ताले गरिरहेको छ। भानुभक्त विस्तार गरेको भाषालाई निरन्तरता दिइरहेका छन्। आज पनि भाषाको माध्यमबाट भाषा, देशका निम्ति, राष्ट्रियताका निम्ति आजको पुस्ताले गरिरहेको छ। 

    प्रतिभालाई हरेक युगले जन्माउँछ । हरेक देशमा हरेक खालका प्रतिभाको जन्म हुन्छ। यदि भानुभक्त हुँदैन थिए भने मोतीराम हुन्थे होलान्। मोतीराम हुँदैनथे भने लेखनाथ पौड्याल हुन्थे। कुरो के भने भाषाको अस्तित्व सम्वर्द्धनका र सांस्कृतिक चेतनाको सम्वर्द्धनका निम्ति भानुभक्तले नयाँ युगको आरम्भ गरेका छन्।

    संस्कृतको स्तुति ज्ञान गर्ने बेला नेपाली भाषा अँगाल्नु ठूलो कुरा :  डा. रजनी ढकाल

    आजको समयका सबैभन्दा बढी विवादित र सम्मानित लेखकको नाम हो भानुभक्त आचार्य। उनको लेखन र उनले उठाएका विषयमा आजका कतिपय दृष्टिकोणबाट हेर्दा विवाद आउनु स्वभाविक हो। तर, आचार्यलाई आजको कोणबाट मूल्यांकन गर्नु गलत हो। उनी आफ्नो  समयमा जुन तरिकाले हुर्किए, अध्ययन गरे त्यसबेला उनले गरेका कुरा प्रगतिशील पनि थिए होला ।

    त्यो अनुसार उनले लेखनको दायरा निर्माण गरे। हामीले मूल्यांकन गर्दा पनि यसरी नै मूल्यांकन गर्न जरुरी छ। हामीले अध्ययन गर्दा भानुभक्तको क्षमता शास्त्रीय ज्ञानमा सामान्य ज्ञान मात्र थियो  भन्‍ने थाहा पाउँछौँ। आचार्यलाई कतिपयले रामायणको रचनाको आधारमा कहिलेकाहीँ देवत्वकरण गरेको पाइन्छ। मेरो व्यक्तिगत धारणा के हो भने उनलाई देवत्वकरण गरेर माथि पुर्‍याउनुपर्छ भन्‍ने चाहिँ लाग्दैन।

    तर, त्यति सामान्य ज्ञानमा पनि उनले अध्यात्म रामायणलाई गहिरो गरी पढेर त्यसलाई नेपाली भाषाको माध्यमबाट साह्रै सरल र सुन्दर ढंगले मौलिक सिर्जना गर्न सके। शार्दुलविक्रिडित छन्दलाई नेपाली गला गलामा कण्ठ गराउने गरी लेखिदिन सके। उनको त्यो भाषिक सरलता, प्रवाहले नेपाली भाषा र कवितालाई उचाइमा पुर्‍यायो। त्यो नै महत्वपूर्ण पाटो हो। 

    त्यो समयमा नेपाली भाषामा कलम चलाए। जतिखेर संस्कृतमा कलम चलाउनेलाई मात्रै स्तुति गरिन्थ्यो। नेपाली भाषामा कलम चलाउने भने हेयको दृष्टिले हेरिन्थ्यो। बोलि चालीको नेपाली भाषालाई अँगालिदिनु नै उनको शक्तिशाली पाटो थियो। 

    उनको लेखनमा केही सीमाहरु छन्। ती सीमाहरु हामीले बुझ्न जरुरी छ। ति सीमाहरु के छन् भने, त्यति बेलाको नेपाली समाज कस्तो थियो? महिलालाई हेर्ने दृष्टिकोण कस्तो थियो? पारिवारिक अवस्थामा ठूलाले सानालाई कसरी राख्थे? सामाजिक सम्बन्ध कस्तो थियो भन्‍ने ती व्यवहारको कुराहरु उनका कविताको माध्यमबाट त्यो बेलाको समयलाई बुझ्‍न पाउँछौ। 

    त्यो समयलाई पढ्दै जाँदा खेरी कतिपय कुराहरुमा त्यो समयको कुरा चिनाउन खोज्दा खेरी महिलाहरू तल परेको प्रसंग, महिला हेपिनुपर्ने प्रसंग उनले गरेका छन्। 'हाँस्नु हुँदैन नारी, हाँस्ने वेश्या हुन्छन्'-बधुशिक्षा। ​यो श्लोकबाट आचार्य पढ्न लायकको मान्छे होइन। यसलाई हाम्रो साहित्यबाट आदिकविको दर्जाको लायक होइनन् भनेर मूल्यांकन गर्नु सही होइन।  उनी जुन परिवेशमा जन्मिए। उनको बोधको क्षमता जति थियो। त्यो दायरा अनुसार लेखेका हुन्। उनले गाउँ ठाउँको विषयलाई चतुर्‍याईपूर्वक कविता लेख्थे।

    नेपाली भाषामा उनले कलम चलाइदिनु भनेको नेपाली भाषालाई एउटा प्राण भरिदिनु हो। त्यो समयमा कविताको माध्यमले सरल कविता लेखेर जनजनको हृदयमा पुर्‍याउनु उनको सबैभन्दा ठूलो शक्ति थियो। 

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]