|

सुर्खेत : जिल्ला प्रहरी कार्यालयका दुई प्रहरीमा कोरोना पुष्टि भएको छ। सुर्खेतमा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका ३६ वर्षीय एक थुनुवामा तीन दिनअघि कोरोना भाइरस संक्रमण देखा परेपछि उनको सम्पर्कमा रहेका प्रहरीमा पनि कोरोना देखिएको हो। 

थुनुवाको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्दा सोमबार ती प्रहरीमा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेतको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर ती दुवैको उपचार भइरहेको प्रहरीले जनाएको छ।

हाडनाता करणीको आरोपमा यही असार १४ गते पक्राउ परेका युवाको आरडिटी परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएपछि थुनुवालाई हिरासतमा राखिएको थियो। तर हिरासतमा रहेका थुनुवाहरुको अनिवार्य पिसिआर परीक्षण गर्न अदालतको आदेश अनुसार २० गते ती युवाको स्वाब परीक्षण गर्दा रिपोर्ट ‘पोजेटिभ’ आएको थियो।

तत्कालै उनलाई पनि वीरेन्द्रनगर नगरपालिकाद्वारा सञ्चालित आइसोलेसनमा राखेर उपचार थालिएको थियो। ती युवाको सम्पर्कमा आएका १४ जना प्रहरी, ६ जना थुनुवा र उनीहरुका ३ जना आफन्तको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सोमवार बिहान दुई प्रहरीमा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

उनका अनुसार हिरासतमै र प्रहरीमा कोरोना पुष्टि भएपछि उच्च सतर्कताका साथ काम अघि बढाइएको छ। ती दुईजना प्रहरीको सम्पर्कमा आएका ६ जना प्रहरीलाई पनि क्वारेन्टिनमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.