|

गुल्मी : असार सकिनै लाग्दा गुल्मीमा हालसम्म ४३ प्रतिशत मात्रै रोपाइँ भएको छ। मकैबाली ढिला पाक्ने खेतहरुमा रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख वुद्धिराज घिमिरेले बताए।

गुल्मीमा ८५ हजार ६७० हेक्टर जमिन धान खेतीका लागि योग्य जमिन रहेको छ। हालसम्म चार हजार ६७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको घिमिरेले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा ९ हजार ४५८ हेक्टरमा धान खेती भएको थियो।

कोरोना भाइरसका कारण धेरै मानिसहरु विदेशबाट स्वदेश फर्किएका छन्। युवाहरु यतिबेला धान खेतीतर्फ केन्द्रित छन्। यसले गर्दा धान उत्पादन हुने क्षेत्रफलमा समेत वृद्धि हुने घिमिरेले बताए। समयमै पानी परेकाले पनि कृषकहरुले समयमै रोपाइँ गरेका हुन्। 

१० हजार हेक्टरमा सिँचाइ

गुल्मीका करिब १० हजार हेक्टर क्षेत्रफल जमिनमा सिँचाईको सुविधा छ। तीन हजार ६०० हेक्टर क्षेत्रफलमा वर्षभरि नै सिँचाइको व्यवस्था रहेको कृषि ज्ञान केन्द्र गुल्मीका कृषि प्रसार अधिकृत सनबहादुर रानाले बताए। उनका अनुसार बाँकी क्षेत्रफलमा अर्ध सिंचाइको व्यवस्था रहेको छ।

यस क्षेत्रमा उन्नत जातका खुमल–४, खुमल–६, खुमल–१०, मकवानपुर–१, रामधान, लोकतान्त्रिक, हिमाली धानको खेती गरिँदै आइएको छ। स्थानीय जातका हंसराज, मानोमुरी, हावा, मार्सी, लामी, जडन, जुवा, अनदी, काठे मार्सीलगायत जातको धानको खेती हुने गरेको छ। त्यस्तै हाइब्रिड अन्तर्गत यु.एस–३१२ र शंकर जातको धान लगाउँदै आएका छन्। चैते धान अन्तर्गत चन्दिना र सिएच–४५ जातको धान कृषकहरुले लगाउँदै आएको रानाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.