अनुसन्धान थालिनुपर्ने स्थानीयकाे भनाइ

|

पर्सा : प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त जयन्तीको अवसरका सोमबार(हिजो) अयोध्या र श्रीरामको प्रसंग उठाए। उनले रामायणको प्रसंगसँगै वीरगन्ज पश्चिम ठोरीमै अयोध्या भएको दाबीसहित बोले। जसको चर्चा नेपालमा मात्र हैन, पूरै भारतभरि भयो।

त्रेता युगका श्रीरामको इतिहास वर्णित रामायण अध्ययनकर्ता तथा सोधकर्ताहरुका लागि यो विषयले झकझक्यायो। 

सामाजिक सञ्जाल प्रयोगकर्ताले त यसै विषयमा केन्द्रित रही सञ्जाल रंग्याए। सानादेखि ठूला ओहदा र सर्वसाधारण सम्मका तर्क सञ्जालमा छरपस्ट छन्। कतिपयले यसबारे अब राज्यस्तरबाटै अनुसन्धान थालिनुपर्नेमा जोड दिइरहेका छन् भने कतिपयले प्रधानमन्त्रीको ओलीको भनाइप्रति खेद प्रकट गरेका छन्। 
 
ठोरीमा ऐतिहासिक स्थल  

सुमेरु पर्वत, ‘सीता गुफा वाल्मीकि आश्रम, अयोध्यापुरी पर्सा जिल्लाको सदरमुकाम वीरगन्जभन्दा ६५ किलोमिटर पश्चिममा अवस्थित ठोरी गाउँपालिकामा पुगेपछि सुन्न पाइने शब्द हुन्।

त्रेता युगमा सीताले वनवास जाँदा बसेको सीता गुफा यो पालिकाको वडा नम्बर २ मा नै छ। वाल्मीकि आश्रम र अयोध्यापुरी भने ठोरीको सीमा छेउ हालको चितवनमा पर्छ। २०३२ सालयता माडी ठोरी अलग भएपछि चितवनमा अयोध्यापुरी गाविस नै थियो। 

हाल त्यो माडी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्छ।  माडीबाट नेपाल–भारत सीमा छेउसम्म फैलिएको सुमेरु पर्वतको उत्तरतर्फ नेपालको काखमा सीता गुफा छ। यसको सामुन्नेमा चिता र ठुटे खोलाको पवित्र सङ्गमस्थल छ। 

‘त्यो दुई नदीको संगमस्थलमा सो समयमा सीता माताले स्नान गर्ने गरेको सुन्दै आएका छौं’, साविकको ठोरी गाविसका अध्यक्ष उद्धव सापकोटाले भने, ‘ठोरीभन्दा थोरै पश्चिम चितवनमा वाल्मीकि आश्रम छ।

जहाँ लव र कुशको जन्म भएको, शिक्षादीक्षा लिएको र रामले छोडेको अश्वमेघ घोडासमेत लवकुशले पक्रेर बाँधेको सुनेका छौं। घोडा बाँधेको खम्बा भनेको अझै त्यहाँ छ। त्यो हेर्न पनि पाइन्छ,’ उनले थपे, ‘रामायणमा पनि उस्तै कुरा उल्लेख छ।’ 

ठोरीकै हालको वडा नम्बर ३ साविकको निर्मलवस्ती गाविसमा रामनगर भन्ने ठाउँ पनि छ। यी ठाउँका नाम यता आएर कुनैले नराखेको परापूर्वकालबाट नै सुन्दै र भनिँदै आएको उनको तर्क छ।

‘पहिले जहाँजहाँ राम त्यहाँ अयोध्या भनिन्थ्यो। खाना खान नपुग्ने नेपालीले ऐतिहासिक ठाउँको अध्ययन अनुसन्धान र प्रवद्र्धन गर्न सकेनौँ। यसको मतलब इतिहास नै कोल्टे फेर्ने होइन। भारतमा राम पुगेको बसेको स्थानमा बडेमानका मन्दिर बने। उनीहरुसँग पैसा थियो। हामीले सकेनौँ। फरक यति हो। सर्पले आफैसँग मणि भएको नचिने जस्तो हामीले पनि त्यसलाई अझै चिन्ने र संरक्षण प्रबद्र्धन गर्ने तर्फ ध्यान दिएका छैनौं’, सापकोटाले तर्क गरे। 

प्रधानमन्त्रीको कुरा कत्तिको सत्य हो ? 

रामायणमा वर्णन गरिएको जनकपुर र अयोध्याको सम्बन्ध अनि रथ र दूरीको विषयमा प्रधानमन्त्री ओलीले बोलेको कुरामा सत्यता भएको र यसलाई अझ गम्भीर भएर बुझ्ने र वास्तविकता नजिक पुग्ने प्रयास गरिनुपर्ने उनले बताए। 

वाल्मीकि आश्रममा अहिले पनि सीताले प्रयोग गरेको लोरो सिलौटो, पानी खाने इनार (कुवा) सबै छ। अयोध्यापुरी भने माडीमा पर्छ। अयोध्यापुरी ठोरीभन्दा करिब १५ किलोमिटर टाढा चितवन छ। ठोरीको सरस्वती माविका प्रधानाध्यापक केशव प्रसाद रेग्मी भन्छन्, ‘वाल्मीकि आश्रम नारायणी, रेवा र रापती नदीको छेउमै छ, रामायणमा वाल्मीकि आश्रम तीन वटा नदीको छेउमा पर्छ भनी उल्लेख गरिएको छ।’

वाल्मीकि आश्रम यहाँ भएपछि त्यसैको आसपासमा अयोध्या हुने कुरा रामायणमा पनि उल्लेख हुनुले ठोरी आसपासको स्थान ऐतिहासिक हो भएको रेग्मीले बताए। ब्रिटिस सेनालाई हराएको पर्साको पर्सागढी ओझेलमा परे जस्तै श्रीरामको जन्मभूमि अयोध्या पनि पर्सा र यसको आसपासमा भएको अध्ययन अनुसन्धानले नै पत्ता लगाउनुपर्नेमा उनले जोड दिए। ‘त्यतातर्फ गम्भीर भएर लाग्नुपर्छ, आगो नबली धुवाँ फैलन्‍न। अनुसन्धान र अध्ययनको खाँचो छ,’ प्रधानाध्यापक रेग्मीले भने। 
अयोध्यापुरी ठोरी छेवैमा 

‘माडी नगरपालिका वडा नम्बर ७ र ८ भएको ठाउँ साविकको अयोध्यापुरी गाविस हो। अहिले नयाँ संरचनामा त्यो माडी नगरपालिकामा पर्छ,’ ठोरीका स्थानीय तथा शिक्षक प्रेम लामाले बताए। 

‘पहिले बेतियासम्म नेपाल थियो। इण्डियाको राम नगरमा नेपालीको बस्ती अझै पनि छ। तर त्यो अहिले इण्डियामा पर्छ। नेपालको वाल्मीकि आश्रम छेउमा भएको भारतको जंगललाई उनीहरुले पनि वाल्मीकि टाइगर नाम राखेका छन्। त्यो रामनगरसँग पनि जोडिएको छ’, उनले सरसर्ती बताए। राजा जनककी छोरी जानकी तथा रामायणमा उल्लिखित सीता त्रेता युगमा ठोरी छेउमा रहेको ‘सीता गुफा मा बसेको परापूर्वकालबाट सुनिँदै आइएको छ। 

नेपाल भारतको सीमा नजिक सुमेरु पर्वतको उत्तरतर्फ नेपालको काखमा सीता गुफा छ। चिता र ठुटे खोलाको दोभान सीता गुफा नजिक छ। सीताले त्यही पवित्र नदीमा स्नान गर्ने गरेको अग्रजहरुले सुनाउँदै आएका छन्। सीताले भगवान् रामको तपस्या गर्ने क्रममा आफ्नै हातले खोपेर ढुंगामा बनाएको शिवलिंग सीता गुफा नजिकमा अझै देख्न सकिन्छ। 

सीता गुफामा मन्दिर बनाउन बजेट 

ठोरी गाउँपालिकाले सोमबार जारी गरेको पालिकाको नीति तथा कार्यक्रममा पनि सीता गुफामा मन्दिर बनाउने र मेला लगाउने भनी बजेट विनियोजन भएको छ।

प्रधानमन्त्रीले बोल्नुपूर्व कार्यक्रममा पारित भइसकेको ठोरीका अध्यक्ष पीएल श्रेष्ठले बताए। ठोरी गाउँपालिकाले चालु आर्थिक बर्षका लागि सीता गुफामा मन्दिर बनाउन ७ लाख र त्यहाँ प्रचारप्रसारका लागि मेला लगाउन डेड लाख विनियोजन गरेको अध्यक्ष श्रेष्ठले बताए।

'आगामी वर्ष धार्मिक पर्यटकलाई सीता गुफामा आउन जान सहज होस् भनी झोलुंगे पुल पनि बनाउने योजना बनाइ सकिएको छ। सम्भव भए चालुसम्म जति सक्दो चाँडो झोलुंगे पुलको पनि काम अगाडि बढाइन्छ', उनले भने। 

रामायणमा उल्लेख भएका ती ठाउँसँग प्रायः मेल खाने धेरै कुरा ठोरी गाउँपालिका र यसको आसपास छन् । त्यसको अध्ययन अनुसन्धान भएको छैन । न त राज्यले नै यता तर्फ ध्यान दिएको छ।

त्रेता युगका राजा जनककी पुत्री जानकी ( सीता ) वनवास जाँदा बसेको सीता गुफा भनी अग्रजहरू सीता र रामको महिमा सुनाउँछन्। 'वाल्मीकि आश्रम पनि नजिकै छ। अनि अयोध्यापुरी त छिमेकमा गाविस नै थियो। यो सबैकुरा एक आपसमा मेल खाने भएकोले यसमा सत्यता नहोला भन्ने लाग्दैन', ठोरीवासीले भने।

१) गुफाबाट निस्किएर सीताले नुहाउने भनिएको दुई नदीको दोभान

२) ढुंगामा सीताले खोपेर बनाएको शिवलिंग नियाल्दै स्थानीय चिरञ्जीवी सापकोटा


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.