आत्तिए प्रदेशसभा सदस्य, कर्मचारीमा समेत खैलाबैला

|

सुर्खेत : कर्णाली प्रदेशका विपक्षी दलका नेता प्रदेशसभा सदस्य जीवनबहादुर शाहीमा कोरोना संक्रमण पुष्टि भएपछि कर्णाली प्रदेशसभा अन्य सदस्य र कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ थालिएको छ। 

केही प्रदेश सभा सदस्य, मुख्यमन्त्री कार्यालय र आन्तरिक मन्त्रालयका कर्मचारीले कोरोना परीक्षण गराएका छन्। मुख्यमन्त्री कार्यालयका २० जना, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका ५ जनाको स्वाब संकलन गरिएको छ। संक्रमित प्रदेशसभा सदस्यको ट्राभल हिस्ट्री ट्रेसिङको काम भइरहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

‘माननीयज्यूको ट्राभल हिस्ट्री सुर्खेतभन्दा बाहिरको देखिँदैन’, तिवारीले भने, ‘सुर्खेतमा ट्रेसिङको काम अन्तिम चरण पुगेको छ। उनका अनुसार ट्राभल हिस्ट्री हेरेर ७५ प्रतिशतको पिसिआर परीक्षण गर्ने तयारी भइरहेको छ।’ 

प्रदेश सभाभित्र स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना हुने हुँदा प्रदेशसभा बाहिरका भेटघाट र सम्पर्कलाई विषेश महत्व दिएर ट्रेसिङको काम भइरहेको उनको भनाइ छ। ‘प्रदेश सभा भित्रको उति चिन्ता भएन, भित्रको लाइभ रेकर्ड पनि हुन्छ, कोको सँग हात मिलाउनुभयो, मास्क लगाउनु भएको थियो कि थिएन भन्ने कुरा थाहा भइहाल्छ’, उनले भने ‘बाहिर हामीले बढी जोड दिएका छौं।’

‘माननीयका व्यक्तिगत भेटघाट, पार्टीका बैठक, संसदका समितिहरुका बैठक, कुनै भोज भतेरजस्ता कार्यक्रम र परिवारको सदस्यहरुको पिसिआर परीक्षण गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘यसरी ट्रेसिङ भएका दूरी र अवस्था हेरी ७५ प्रतिशतको परीक्षण गरिनेछ।’

उनले संक्रमित प्रदेशसभा सदस्यको सम्पर्कमा पुगेका र आत्तिएकाको मंगलबार स्वाब संकलन गरिएको जानकारी गराए। महाशाखा प्रमुख तिवारीले माननीयलाई संक्रमण भयो भन्दैमा विकराल रुप भइहाल्ने अवस्था नभएको बताए। उनले कोबाट संक्रमण सर्‍यो भन्ने कुरा भने पत्ता लगाउन गाह्रो हुने बताए। 

प्रदेशसभाका उपसभामुख पुष्पा घर्तीले केहीको मंगलबार नै स्वाब संकलन गरिएको र बाँकीको बुधबार हुने जनाइन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.