|

संखुवासभा : सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरो पीडितलाई प्रदेश १ सरकारले हेलिकप्टरबाट राहत सामग्री पु¥याएको छ । मंगलबार हेलिकप्टर राहत र औषधिसहितको सामग्री लिएर सिलिचोङको बुधबारे पुगेको हो। 

खराब मौसमका कारण सिलिचोङको चित्रेका लागि उडेको हेलिकप्टर अवतरण हुन नसकेपछि सिसुवाको बुधबारे बजारमा राहत सामग्री झारिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । 

प्रजिअ आचार्यका अनुसार, चित्रेमा दिउँसोसमेत बाक्लो हुस्सु र कुहिरो लागेको कारण सेनाको हेलिकप्टर बस्न सकेको थिएन। पदेश–१ सरकारले सिलिचोङ गाउँपालिका–१ वेसिन्दा पहिरोबाट विस्थापित भएका स्थानीयलाई १५ क्विन्टल चामल, २ क्विन्टल दाल, १ सय लिटर तेल, ५० किलो नुन, ५३ वटा टेन्ट, १० कार्टुन चाउचाउ र १० कार्टुन बिस्कुट तथा म्याट्रेस वितरण गरेको छ।  

सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैत, सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम, सामाजिक विकास समितिका सभापति सरिता खड्का, प्रदेश सांसद पूर्ण प्रसाद राई, तुलसी न्यौपाने र पदमकुमारी गुरुङ सङ्खुवासभा आएका थिए । 

सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफैं राहत सामग्री बोकेर आएका थिए। तर मौसममा खराबी आएपछि राहत बोकेको हेलिकप्टर अवतरण हुन नसकी विराटनगर नै फर्किएको थियो । 

गत २८ गते आएको अविरल वर्षा सँगैको पहिरोले ९ घर बगाएको थियो भने ११ जना बेपत्ता भएका छन् । पहिरोमा घाइते भएका ५ जनाको सकुशल उद्धार गरिएको थियो । भने पहिरोको उद्धारका क्रममा खटिएका १ जनाको बेहोस भएर मृत्यु भएको थियो । पहिरोको उच्च जोखिम भएका कारण वेसिन्दालगायत गाउँका ८६ घर परिवारका ३ सय ३९ जना विस्थापित भएका छन् । 

राहत नपुग्दा वेसिन्दाका पहिरोपीडित आलु र पुरानो मकै खाएर बसिरहेका थिए। यातायात पहुँच नपुगेको सिलिचोङमा खाद्यान्न सामग्री भरिया र खच्चरलाई बोकाएर लगिएको छ। पहिरोबाट विस्थापितलाई अहिले पहिरो भन्दामाथिको चित्रे डाडाँको शेर्पा गाउँमा राखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.