रामको जन्मबारे भनाइ पुष्टि गर्न सके नेपाललाई फाइदा

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै अभिव्यक्तिका कारण पटक–पटक विवादमा मुछिने गरेका छन्। प्रधानमन्त्री हुनुअघि चुनावी प्रचारमा उखान टुक्कामार्फत जनता हँसाउने ओली प्रधानमन्त्री भइसकेपछि असान्दर्भिक, अपुष्ट तथा अप्रमाणित कुरा गरेर एकपछि अर्को आलोचनाको केन्द्र बन्‍ने गरेका छन्।

हावाबाट बिजुली निकाल्ने, पाइपलाइनमार्फत ग्यास घरघरमै पुर्‍याउने, पानी जहाज चलाउने जस्ता भाषण गरेर पहिलो प्रधानमन्त्रीकालमा आलोचनामा मुछिएका ओलीको स्वभाव दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि उस्तै देखियो।

उनले यस पटक कोरोनाबाट मृत्यु भएकाहरूबारे, बेसार पानी र आफूलाई पदबाट हटाउन दूतावास सक्रिय रहेको जस्ता अभिव्यक्तिका कारण विपक्षीमात्र होइन आफूनिकटकै तारो बनेका छन्।

रामको जन्मबारे ओलीको तीर

सरकारको कामकारबाही प्रभावकारी नभएको बेलामा विवादित अभिव्यक्तिलाई लिएर अहिले पार्टीभित्र विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा आयोजित भानु जयन्तीमा प्रधानमन्त्री भगवान रामको जन्म भारतको अयोध्यामा नभई वीरगञ्‍ज नजिकैको गाउँ (अयोध्यापुरी) मा भएको बताएपछि नेपालभित्र मात्रै होइन, भारतसमेत अहिले तरंगित भएको छ। 

दई वर्षअघि ०७५ वैशाखमा जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रामजानकी विवाह महोत्सवमा हरेक वर्ष, अयोध्याबाट जन्ती आउँछ। यहाँबाट सीतालाई विदा गरेर पठाइन्छ। यस परम्परा र सिलसिलालाई माथि उठाउन र महत्व दिन यस पवित्र भूमिमा समकक्षी मोदी आउनुभएको छ, यस परम्परालाई हामीले कायम राखेका छ भनेका प्रधानमन्त्री ओलीले यतिबेला नै यस्तो अभिव्यक्ति किन दिए?

दुवै देशमा तरंग

त्यसबारे​ पक्ष-विपक्षमा अहिले टिप्पणीहरू सुरु भएका छन्। ओलीको अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टीले मात्र होइन, पूर्व सल्लाहकारदेखि पार्टीभित्र र प्रतिपक्षी दलका नेताहरुले विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना गरेका छन्।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेस नेता डा. शेखर कोइराला, पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका राप्रपाका अध्यक्ष कमल थापा, नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाल, प्रधानमन्त्री ओलीका पूर्व प्रेस सल्लाहकार कुन्दन अर्याल, कूटनीतिक मामिलाका जानकार रमेशनाथ पाण्डसमेतले कडा शब्दमा प्रधानमन्त्री ओलीको विरोध गरेका छन्।

नेपाल-भारत मामिलाका जानकार एवम् प्राध्यापक राजेन्द्र चापागाईँ प्रधानमन्त्रीले बुझेर, जानेर र कुटनीतिक ढङ्गले भनेको भए राम्रो हुने यदि त्यसो नभए नतिजा राम्रो नहुने बताए। 

'यो गम्भीर र महत्वपूर्ण विषय हो, उहाँ (प्रधानमन्त्री) ले बुझेर जानेर डिब्लोम्याटिकल्ली भन्‍नुभएको हो भने त राम्रै कुरा हो', उनले भने, 'होइन भने त त्यसको 'रियाक्सन' भोलि धेरै नराम्रो र प्रतित्युत्पादक पनि हुनसक्छ।’ 

तर भारतले बुद्ध भारतमा जन्मेको भनेर नेपालमाथि गरेको अतिक्रमण भने भुल्न नहुने उनको तर्क छ। ‘म एउटा कुरा म के भन्‍न छुटाउँदिन भन्दा भारतले ‘बुद्ध वाज बोर्न इन इन्डिया’ भनेर पुस्तकमै छापेको छ। डिप्लोमाको कम्पल्सरी इङ्ग्लिसमा पढ्नुपर्छ,’ उनले भने, ‘त्यसरी उसले बुद्धलाई भारतमा जन्मिएको भनेको भन्दै आएको छ। यसरी उनीहरुबाट सांस्कृतिक अतिक्रमण नभएको होइन तर प्रधानमन्त्रीले 'एज अ हेड अफ द स्टेट' नै भन्दा चाहिँ सोच विचार गरेरै भन्‍नु पर्ने हो।’  

जस्टीफाई गर्न सक्नुपर्छ

२०४६ पछि नेपालमा सत्तामा हुँदा भारतको जयजयकार गर्ने र सत्ताबाट बाहिरिएपछि भारतको विरोध गर्ने परम्परा रहँदै आए पनि अहिले भने त्यस्तो अवस्था नरहेको चापागाईँले बताएका छन्। 

‘विशेषगरी २०४६ साल पछाडिको राजनीतिक इतिहासलाई हेर्यौँ भने जब मान्छे सत्तामा हुन्छ, त्यसबेला भारतको जयजयकार गर्ने र सत्ताबाट फुत्किएपछि भारतको विरोध गर्ने अवस्था छ', उनले भने, 'नेपालमा भारतविरोधी मौसमी राष्ट्रवादी कहलिने गरेको देखिन्छ।'

तर अहिले परिस्थिति फेरिएको पनि उनले बताएका छन्। 'अहिले अलि फरक स्थिति देखिएको छ, सत्तारुढ पार्टी र सरकारले भारतले गरेका अतिक्रमणहरु चाहे भूमिको होस् वा संस्कृतिप्रतिको होस् यसविरुद्ध आवाज निकालेको पक्कै हो', उनले भने, 'यो प्रशंसनीय काम हो। सरकारले बोलेर मात्र हुँदैन। तर यसलाई 'जस्टिफाई' गर्न सक्नुपर्छ 'जस्टिफाई' गर्न सकियो भने यो हामी नेपालीका लागि सुन्दर पक्ष हो।' 

सत्ता टिकाउन प्रोपोगान्डाको सहारा

राजनीतिक विश्लेषक युग पाठक सरकार र पार्टीको कमजोरी ढाकछोप गर्न प्रधानमन्त्रीले एकपछि अर्को प्रोपोगान्डा झिक्ने गरेको बताउँछन्। 'यो जरुरी थिएन तर यस्ता अभिव्यक्ति दिएर आफू समाचारमा छाइरहने र राष्ट्रवादी बन्‍न सकिन्छ भन्‍ने भ्रम ओलीमा रहेको छ', उनले भने। 

'भारतको राष्ट्रवादको तुलनामा नेपालको राष्ट्रवादले कसरी जोरी खोज्न सक्छ?', उनले प्रश्‍न गर्दै भने ‘भारतको राष्ट्रवाद धेरै खतरनाक छ, उनीहरु यस्तो मामिलामा धेरै नै उत्तेजित हुने गर्छन्। त्यसकारण भारतीय र खासगरी मोदी नेतृत्वको राष्ट्रवादसँग यसरी जुध्‍न, लड्न सकिदैन।’

भारत सरकारले पनि राष्ट्रवादका नाममा अति गरिरहेको बताउँदै उनले त्यो भन्दा अति नेपालमा ओलीले गरिरहेको जिकिर गरे। 'भारत सरकार पनि नेपालको सरकार जस्तै जस्तै राष्ट्रवादी हो। मोदीको नेतृत्वमा भारतमा जे भइरहेको छ, त्यो भनेको नेपालमा ओलीको नेतृत्वमा भइरहेको भन्दा पनि खतरनाक छ', उनले भने, 'भारतभित्र हिन्दूबाहेक मुस्लिम, दलित, अल्पसंख्यक सम्पूर्ण समुदायलाई ब्यापक ठूलो असर पुगेको पाइन्छ। त्यहाँ कयौंको हत्या गरिएको छ, धेरै ठूलो स्तरमा भारतमा आतंक छ, भारतमा अगाडि बढ्ने बाटो अवरुद्ध छ।’

विश्लेषक पाठकले मोदीको विषाक्त बाटोलाई नै ओलीले अनुशरण गरेको ठम्याएका छन्। तर त्यसरी अनुशरण गरिरहँदा त्यो विषाक्तको प्रभाव डरलाग्दो हुने उनी बताउँछन्। 

‘प्रधानमन्त्रीलाई पछिल्लो समय किसिम-किसिमका अफवाहहरुमा विश्‍वास लाग्‍न थालेको छ, त्यसो गर्दा आफू राष्ट्रवादी भइन्छ भन्‍ने ठूलो भ्रम रहेको पाइन्छ,’ उनले भने, ‘सँगसँगै अर्को महत्वपूर्ण कुरा पछिल्लो समय सरकार आफ्नो कर्तव्य निर्वाहमा असफल भएर सबैतिरबाट आलोचना खेप्नुपर्ने अवस्था आएकाले त्यसलाई टार्न पटक–पटक यस्ता अभिव्यक्ति आउने गरेका छन्।’

प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति धेरै महत्वपूर्ण कुरा नहुँदा–नहुँदै पनि प्रधानमन्त्रीको कुर्सीबाट गरिएको कुरा भएकाले यो निकै हानिकारक रहेको उनको धारणा छ। 

‘प्रधानमन्त्रीले यो भन्‍नेबित्तिकै ठूलो कुरा भइहाल्ने त केही होइन, तर न्यूज हुन्छ, त्यो न्यूज हुने भनेको के हो भने, केही समय मानिसलाई अलमल्याउने र ध्यान भड्काउने काम हुन्छ,’ उनले थपे, ‘हाम्रो समाज र भारतसँगको कूटनीतिक सम्बन्धमा नक्साकै सन्दर्भमा पनि वार्ता गर्ने चरणमा रहेका बेला सबै चिजलाई बिगार्ने काम गरेको छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.