|

विश्वकप फुटबल सुरु भएको ९० वर्ष र क्रिकेट विश्वकप ४५ वर्ष। यति लामो समय अवधिमा दुवै प्रतियोगिताको विश्वकप खेल्ने राष्ट्रको संख्या १० छन्। तर, विश्वकप जित्ने राष्ट्र एउटा मात्र। सर्वाधिक लोकप्रिय दुई वटै खेलको विश्वकप जित्ने एक मात्र भाग्यमानी राष्ट्र हो इङल्याण्ड। १९६६ को फुटबल विश्वकप घरेलु भूमिमा जितेको इंल्याण्डले पहिलो क्रिकेट विश्वकप ५३ वर्षपछि जित्दै इतिहास बनायो त्यो पनि घरेलु मैदानमै।

अर्को दुर्लभ संयोग रह्यो बढी बाउन्ड्री प्रहारको आधारमा उपाधिको छिनोफानो अर्थात् बाउन्ड्री काउन्ट ब्याक रुल अनुसारको उपाधि। ४५ वर्षे क्रिकेट विश्वकपको इतिहासमा यस्तो घटना त्यसअघि कहिल्यै भएको थिएन।

हुन त खेलकुदमा अप्रत्याशित हुन्छ चमत्कार हुँदैन तर युरोपेली टोली र ओसियाना टोलीबीचको त्यो खेललाई क्रिकेट विश्लेषक र फ्यानहरूले चामत्कारिक विश्वकप फाइनलकै संज्ञा दिए। १४ जुलाई २०१९ क्रिकेटको मक्काको पहिचान बनाएको लर्डस मैदान। घरेलु टोली इंल्याण्ड र न्यूजिल्याण्ड उपाधिको छिनोफानोको अन्तिम लडाइँमा थिए। समूह चरणकै खेलमा इङल्याण्डले ११९ रनको फराकिलो जित दर्ता गरेको थियो। जोनी ब्रिस्टोले १०६ रनको शतकीय पारी खेलेपछि ८ विकेटको क्षतिमा ३०५ रन बनाएको इङल्याण्डविरुद्ध ४५ ओभरमा १८६ रनमा समेटिएको थियो न्यूजिल्याण्ड। विकेटकिपर ब्‍याट्समेन टम लाथमले ५७ रन बनाउनबाहेक अन्यले सम्झनलायक स्कोर बनाएनन्।

राउन्ड रोबिन लिगका आधारमा भएको समूह चरणको ९ खेलमा न्यूजिल्याण्डले ५ मा जित दर्ता गरेको थियो। रनरेटका आधारमा पाकिस्तानलाई पछि पार्दै सेमिफाइनल पुग्ने भाग्यमानी टोलीसमेत बन्यो। यता, इंल्याण्डले ६ खेलमा जित निकाल्दै सेमीफाइनलको यात्रा तय गरेको हो।

समूहको तेस्रो र चौथो स्थानमा रहँदै सेमीफाइनल पुगेका दुवै टोलीले उपाधिको मुख्य दाबेदारका रूपमा हेरिएको भारत र अष्ट्रेलियालाई पन्छाए। २ पटकको च्याम्पियन बलियो टोली भारतमाथि १८ रनको जित दर्ता गर्दै न्युजिल्याण्ड ब्‍याक टु ब्‍याक दोस्रो पटक फाइनल पुग्यो। यता, ब्याक टु ब्याक दोस्रो उपाधिको लागि आतुर ५ संस्करण विजेता अष्ट्रेलियामाथि इंल्याण्डले शानदार ८ विकेटको जित निकाल्यो। दुवै सेमिफाइनलका लक्ष्यहरु सामान्य थिए। अनि सुरु भयो अविश्वसनीय फाइनल खेल।

जहाँ तीनपटक फाइनल पुगेर पनि उपाधि हत्याउन असफल टोली इंल्याण्ड र पछिल्लो वर्ल्डकप फाइनलिष्ट ब्ल्याक क्याप अर्थात् न्युजिल्याण्डबीचको रोमाञ्चक भिडन्त। विश्वकप फाइनल बराबर हुँदै सुपर ओभर। सुपर ओभर पनि बराबर। अनि चौका छक्का बढी प्रहारको आधारमा विश्वकप च्याम्पियन। न्युजिल्याण्डले ५० ओभर र सुपर ओभरमा गरेर कुल १४ वटा चौका र ३ वटा छक्का प्रहार गर्दा इंल्याण्डले २४ चौका र २ छक्का हान्यो।

टस जितेर किवि टोली न्युजिल्याण्डले ब्याटिङको निर्णय लियो। २ ओभर ३ बलमा हेनरी निकोलस विकेट जानबाट बचे। क्रिस वोक्सको बलमा अम्पायर कुमार धर्मसेनाले एलबीडब्लु आउट दिएका थिए। तर डीआरएसको माध्यमबाट निकोलस बचे। उनले पहिलो अर्धशतक सहित ५५ र टम लाथमको ४७ रनको योगदान दिएपछि न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रनको सामान्य लक्ष्य प्रस्तुत गर्‍यो। ब्ल्याक क्यापका अन्तिमका ३ जना बाहेक सवैले दोहोरो अंकको स्कोर छुन सफल भए। बलिङ तर्फ इंल्याण्डका क्रिस वोक्स र लियम प्लङकेटले समान ३÷३ विकेट लिए। जोफ्रा आर्चर र मार्क उडको नाममा १/१ विकेट रहयो।

इंल्याण्डको सुरुवाती व्याट्समेन चल्न सकेनन्। ओपनरद्धय जेसन रोय १७, जोनी बेयरस्टोले ३६ रन बनाए। २३ ओभर १ बलमा ८६ रनमा सुरुवाती ४ विकेट गुमाएको इंल्याण्डको पारी बेन स्टोक्स र विकेटकिपर जस बटलरले सम्हाले। उनीहरुले १ सय १० रनको शतकीय साझेदारी गर्दै उपाधि नजिक पुर्‍याएका थिए। ४४ ओभर ५ बलमा बटलरलाई लक्की फर्गुसनले टिम साउथीको हातबाट ५९ रनमा क्याच आउट गराएपछि शतकिय साझेदारी तोडियो। अनि धरमरायो इंल्याण्डको व्याटिङ लाइन। १९६ रनमा ५ विकेटको अवस्थामा रहेको इंल्याण्डका लागि स्टोक्सले सम्हालिएर अविजित ८४ रन बनाउँदै टाइसम्म पुर्‍याए।

​स्टोक्ससँग साझेदारीका लागि आएका क्रिस वोक्सले २ र लियाम प्लङकेटले १० रन बनाउनबाहेक अन्य ३ जना खाता खोल्न सकेनन्। अन्तिम बलमा स्टोक्सले फुलटस बललाई लङ अनमा प्रहार गर्दै दुइ रन लिने क्रममा मार्क उड रन आउट भएपछि दुवै टोलीको स्कोर २४१ रन बन्यो। 

इंल्याण्डलाई विश्वकप दिलाउनका लागि अन्तिम ओभरको चौथो बलमा स्टोक्सले दिलाएको ४ रन महत्वपूर्ण बन्यो। ट्रेन्ट बोल्टको फुलटस बललाई स्टोक्सले २ रन प्रहार गर्दै स्ट्राइकमा रहन चाहन्थे। तर मार्टिन गुप्टिलको थ्रो बल विकेटकिपरतर्फ फाल्ने क्रममा स्टोक्सको ब्याटमा लाग्यो। बल रोक्न कुदेका ग्रान्डहोमले सीमा रेखा पार गर्नबाट बचाउन सकेनन्। र अम्पायरले चार रन दिए। त्यसपछि इंल्याण्डको खातामा अतिरिक्त ४ रनसमेत थपियो।

पाँचौँ बलमा मिचेल स्यान्टरको थ्रो बलमा बोल्टले अदिल रसिदलाई सहजै स्टम्प आउट गराए। स्ट्राइकमा स्टोक पुगे। उनले अन्तिम बलमा लङ अन प्रहार गर्दै २ रन स्कोरको प्रयास गरे। तर दोस्रो रन लिने क्रममा मार्क उडले डाइभ्स हान्दै लाइन छुनु भन्दा पहिले नै बोल्टले स्टम्पिङ गराइसकेका थिए। स्कोर २४१ बन्यो। इंल्याण्डले त्यो अतिरिक्त ४ रन नपाएको भए व्याक टु ब्याक फाइनल पुगेको न्युजिल्याण्डले खेल जित्दै विश्वकपको नयाँ च्याम्पियन बन्न सक्थ्यो। अथवा बोल्टले स्टम्पिङ गराउनुपुर्व उडले लाइन क्रस गरेको भए इंल्याण्ड सुपर ओभर अघि नै उपाधिको हकदार बनि सक्थ्यो। स्टोकले पारी नसम्हाल्दा हुन त इंल्याण्डको पहिलो विश्वकप उपाधि अनिश्चित जस्तै थियो।

यस्तो थियो सुपरओभरको खेल

सुपरओभरको नियमअनुसार टस हार्ने टिमले पहिलो ब्याटिङ गर्नुपर्ने हुन्छ। जस अनुसार इंल्याण्डका लागि शतकीय साझेदार स्टोक र बटलर क्रिजमा आए। बलिङमा न्युजिल्याण्डले बोल्टलाई पठायो। सुपर ओभरमा बोल्टको पहिलो बलमा स्टोक्सले ३ र दोस्रो बलमा बटलरले १ रन लिए। तेस्रो बलमा स्टोक्सले चौका प्रहार गरे। चौथोमा १, पाँचौँ २ र अन्तिम बलमा बटलरले चौका प्रहार गर्दै कुल १५ रन बनाए। न्युजिल्याण्डलाई विश्वकप उपाधि जित्न १६ रनको लक्ष्य पायो। जोफ्रा आर्चरले पहिलो बलमै वाइड फाले। त्यसलगत्तै दुई रन खर्चिए।

दोस्रो बलमा जेम्स निशमले उत्कृष्ट छक्का प्रहार गरेपछि ब्ल्याक क्यापको सम्भा‍वना बलियो देखियो।  तेस्रो बलमा फिल्डिङको गल्तीले २ रन थपियो।   चौथो बलमा पनि दुई रन न्युजिल्याण्डको खातामा थपियो। पाँचौ बलमा १ रन बटुलेपछि न्युजिल्याण्डलाई विश्वकप च्याम्पियन बन्न अन्तिम बलमा दुई रन आवश्यक थियो।

मार्टिन गुप्टिलले डिप स्क्वायर लेगमा बल प्रहार गरे। तर दोस्रो रन लिने क्रममा जोसन रोयले सिधै विकेटकिपर बटलरलाई बल दिए। बटलर योर्कर लाइनभन्दा अलिकति अघि आएर उत्कृष्ट स्टम्पिङ रन आउट गराएपछि न्युजिल्याण्डको सपना चकनाकुर चुर भयो। अन्तत ३ पटकको उपाधिविहीन फाइनललाई अन्त्य गर्‍यो इंल्याण्डले। र अर्को नयाँ र्कीतिमान पनि बनायो विश्वकप फुटबल र क्रिकेट दुवै जित्ने एक मात्र टोली।

स्टोक्सले मैदानमै सुतेर सेलिब्रेसन गरे। इंग्ल्यान्डका खेलाडी, प्रशिक्षक र अफिसियलले मैदानमा अंगालो मार्दै खुसी मनाउन थाले। विश्वकप च्याम्पियन बनाउन चुकेका गुप्टिल मैदानमा रोए। सुपर ओभरमा पनि बराबर भएमा चौका र छक्का बढी जसले प्रहार गर्छ त्यही टोली विजयी हुने आइसीसीको नियमको चौतर्फी आलोचना भयो। विजेता टिमका कप्तान इयान मोर्गनले समेत सो निर्णयबाट चित्त नबुझेको प्रतिक्रिया दिए।

त्यो विवादास्पद निर्णयको आलोचनाको भएपछि आइसीसीले नियम परिर्वतन गर्दै अब सुपर ओभरमा बराबर भएमा नतिजा नआउँदा सम्म सुपर ओभर भइराख्ने छ। तर, यो नियम सेमीफाइनल र फाइनल खेलका लागि मात्र लागू हुनेछ। समूह चरणको खेलमा सुपर ओभरमा टाइ छ भने खेल बराबर हुनेछ।

अर्को संयोग बन्यो न्युजिल्याण्डलाई हराउँदै इंल्याण्डलाई विश्वकप दिलाउने स्टोक न्युजिल्याण्डमै प्लेयर अफ दि इयरको नोमिनेसन। उनी न्युजिल्याण्डको क्राइस्ट चर्चमा जन्मिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.