|

हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ को  डाङडुङे सामुदायिक वन समूहको संरक्षित क्षेत्रका करिब ३५ वटा सिसौंका रुख बुधबार राति जरासहित उखालिएको छ।

डिभिजन वन कार्यालय राप्तीअन्तर्गत रहने उक्त क्षेत्रमा कार्यालयलाई नै जानकारी नगरी बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत कार्यालय रहने भन्दै उखेलिएको हो। 
उक्त रुख अहिले डिभिजन वन कार्यालय राप्तीले नियन्त्रणमा लिएको छ। 

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको कार्यालयका लागि भवन निर्माण गर्ने भन्दै रुख कटान गर्न मन्त्री रामेश्वर फुँयालले नै निर्देशन दिएका स्रोतले बताएको छ। 

बिनासमन्वय, प्रतिकूल समय 

मन्त्रालयको भवन निर्माणका लागि वन क्षेत्र हेर्ने सम्बन्धित निकायसँगको समन्वयबिना रातारात रुख कटान गरिएको हो। मन्त्रालय मातहतको पूर्वाधार निर्देशनालयका लागि आवश्यक भवन निर्माण गर्ने भन्दै रुख उखेलिएको हो। 

रुख उखल्दा जानकारी नै नगराएको राप्ती डिभिजन वन कार्यालयका प्रमुख दीर्घनारायण कोइरालाले बताए। उनका अनुसार अहिले उक्त क्षेत्र नियन्त्रणमा लिइएको छ। कोइरालाका अनुसार काटिएको रुख ३ सय ७० क्युफिट र आधा चट्टा दाउरा रहेको छ। रुख कटानका लागि प्रतिकूल समय भन्दै सरकारले बिरुवा पलाउने र बाढी आउने समयमा रुख नकाट्न निर्देशन दिएको छ। 

उक्त क्षेत्र अहिले जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले उपभोग गर्दै आएको थियो। उक्त क्षेत्रबाट रातारात एक्जाभेटरले प्रयोग गरेर रुख उखेलिएको भन्दै डिभिजन प्रमुख कोइरालाले अनुसन्धान गरिरहेको बताएका छन्। 

रुख उखेल्ने एक्जाभेटरले खोजी गरिरहेको भन्दै पत्ता लाग्ने बित्तिकै मुद्दा चलाउने उनले बताए। कुनै निकायको पनि संरचना निर्माणका लागि यसरी सरकारी जमिन अतिक्रमण गर्न नमिल्ने, पूर्वाधार मन्त्रालयले दादागिरी देखाएको कोइरालाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.