|

ओखलढुंगा : लकडाउनका कारण सबै शैक्षिक संस्थाहरु ठप्प भएका बेला चम्पादेवी गाउँपालिका–८ मा भने शिक्षक र शिक्षिकाहरु एक महिनादेखि टोल टोलमै गएर पठनपाठन गराइरहेका छन्। सामुदायिक विद्यालयका शिक्षक र शिक्षिकाहरुले विद्यार्थीहरुलाई घरघर पुगेर पढाउन थालेका हुन्।

कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण विद्यार्थीहरु स्कुल जान वञ्चित भएका छन्। शैक्षिक सत्र सुरु हुनासाथ विद्यार्थीहरुले पाठ्यपुस्तक पाएका र शिक्षकहरु पनि गाउँमै गएर पठनपाठन गराउँदा विद्यार्थीहरुको सिकाइ सहज भएको चम्पादेवी–८ का लिला बहादुर श्रेष्ठको भनाइ छ। 

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत वैकल्पिक शिक्षा प्रणालीबाट विद्यालयका शिक्षकहरुले गाउँ–गाउँमा पुगेर शिक्षण सिकाइ कार्यमा सहजीकरण गरिरहेका हुन्। चम्पादेवी–८ मा रहेको कल्पेश्वर माविले घुम्ती टोली परिचालन गरी आफ्नो सेवा क्षेत्रभित्र ६ वटा केन्द्र बनाई घुम्ती शिक्षा सेवा दिइरहेको छ। 

शिक्षक÷शिक्षिकाहरुले डलीडाँडा, पात्ले, धुसेनी, धमला टोल, महादेव मन्दिर र तारादेवी मन्दीर आसपासमा छ वटा केन्द्र बनाएर पठनपाठन गराइरहेका छन्। विद्यालयले हरेक टोलमा बिहान १०ः१५ देखि हरेक दिन दुई वटा केन्द्र संचालनमा ल्याएको छ। शिक्षक र विद्यार्थीहरुलाई मास्क र सेनिटाइजर लगाई सामाजिक दूरी भने अनिवार्य गरिएको छ। 

कोरोना भाइरस विपद् र महामारी विश्वभर फैलिरहँदा नियमित पठनपाठन गर्न समस्यामा परेका विद्यार्थीलाई रेडियो, टेलिभिजन र अनलाइन मार्फत वैकल्पिक शिक्षा प्रणालीअन्तर्गत पठनपाठन भइहेका बेला शिक्षकहरु गाउँमै खटिएका हुन्। 

कोरोना भाइरसका कारण विद्यालयहरु बन्द रहँदा वैकल्पिक शिक्षा प्रणालीबाट गाउँमा गएर शिक्षण कार्य गर्दा विद्यार्थीलाई सिकाइ कार्यमा सहज हुनुका साथै विद्यार्थीहरुमा पढ्ने बानीको विकास हुने गाउँपालिका अध्यक्ष नवराज केसीले बताए। गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा गाउँघरमै घुम्ती शिक्षा सञ्चालन गरिने योजनाका साथ लागि परेको उनको भनाइ छ।  

गाउँमा गई पठनपाठन गराउन केही झन्झटिलो भए पनि एउटा गाउँका मात्र विद्यार्थीहरु अध्ययन गर्ने भएकाले सिकाइ प्रभावकारी भएको कल्पेश्वर मावि विलन्दुका प्रअ राम्जी दाहालको भनाइ छ। 

शिक्षा ऐन २०२८ को दफा १९ क बमोजिम नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेपछि सोहीअनुसार सामाजिक दूरी कायम गरी शिक्षकहरुले विद्यार्थीहरुलाई पायक पर्ने स्थानमा केन्द्र बनाई घुम्ती शिक्षा सेवा दिइरहेको उनले बताए। वर्षको समयमा टोलटोलमा गएर पठनपाठन गर्न समस्या भएकामा विद्यालयले वैकल्पिक रुपमा विद्यालयमा सामाजिक दूरी कायम गरी टेलिभिजन कक्षा पनि लिने हो कि भनेर आफूहरु लागिपरेको दाहालको भनाइ छ।

जिल्लामा रहेका ८ स्थानीय तहका सामुदायिक विद्यालयहरुमा कल्पेश्वर मावि उदाहरणीय बनेको छ। हाल उक्त विद्यालयमा २५२ विद्यार्थी अध्ययनरत रहेका छन्। जिल्लाका अन्य विद्यालयहरूले पनि यो कार्य थालनी गरे बालबालिकाहरु अध्ययनमा मन लगाउने अभिभावकहरुको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.