|
फाइल फोटो

काठमाडौं : नागरिकता विधेयकको विषयमा कांग्रेसलाई आधिकारिक निर्णय गराउन हम्मेहम्मे नै परेको थियो। केन्द्रीय समितिको बैठकमा अंगीकृत नागरिकता दिँदा सभापति शेरबहादुर देउवाले अहिले संविधानमा भएको व्यवस्थाअनुरूप नभई नेकपाले या संसदीय समितिबाट पारित गरेको जस्तै केही वर्षपछि दिनुपर्ने कुरा राखेपछि उपसभापति विमलेन्द्र निधि जँगिएका थिए।

निधिले अहिले संविधानमा व्यवस्था भएअनुसार नै अंगीकृत नागरिकता दिनुपर्ने अडान राखेका थिए। निधि देउवामाथि आक्रोशित हुँदै गएपछि सहमहामन्त्रीले प्रकाशशरण महतले हस्तक्षेप गरेका थिए। महत र निधिबीच हात हालकै स्थिति पनि भएको थियो। निधि युटर्न भएपछि कांग्रेसले संविधानअनुसार हुनुपर्ने निर्णय गरेको हो। 

निधिको विपक्षमा बोलेपछि कारबाही प्रक्रिया 

तर, अहिले कांग्रेसमा नागरिकता विधेयककै विषयलाई लिएर फरक तरिकाबाट विवाद सुरु भएको छ। विमलेन्द्र निधिले संविधानको व्यवस्था अनुसार नै अंगीकृत नागरिकता दिनुपर्ने बताएपछि नेपाली कांग्रेस बेल्जियम नेपाल जनसम्पर्क समितिकी सभापति सीता सापकोटाले फरक मत राखेकी थिइन्। 

‘अंगीकृत नागरिकता वितरण गर्दा अहिलेको संविधान संशोधन गर्न जरुरी छ। त्यसमा नेकपा र संसदीय समितिले गरेको निर्णयलाई कांग्रेसले साथ दिनुपर्छ’ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका एक नेताले सापकोटालाई उदृत गर्दै भने। अहिले सोही विषयलाई लिएर कांग्रेसमा गुटको विवाद चर्किएको छ। देउवा पक्षले अहिले सापकोटालाई अनुशासन समितिमार्फत कारबाहीको प्रक्रिया अघि बढाएको छ। 

पौडेल पक्षको छुट्टै भेला 

देउवा पक्षले आफ्नो बहुमत बढाउनको लागि आफ्नो पक्षका नेता कार्यकर्तालाई अनुशासन उल्लंघन गरेको नाममा कारबाही गरेर तर्साउन थालेको निष्कर्ष बुधबार भएको पौडेल पक्षको भेलाले निकालेको छ। संस्थापन पक्षले प्रवासमा रहेका नेताहरुलाई कारबाही गरेर तर्साउन खोजेको पौडेल पक्षको भेलाले निष्कर्ष निकालेको हो। कांग्रेसको अनुशासन समितिले पछिल्लो पटक बेल्जियम जनसम्पर्क समितिकी सभापति सीता सापकोटालाई कारबाही गर्नको लागि प्रक्रिया अघि बढाएको छ।

नागरिकता विधेयकमा पार्टी उपसभापति विमलेन्द्र निधिको विचारसँग असहमति जनाएको आरोपमा कारबाही प्रक्रिया अगाडि बढाइएको पौडेल समूहको आरोप छ। कांग्रेस अनुशासन समितिका संयोजक प्रेम केसीले भने बाहिर आएजस्तो केही नभएको बताए।

उनले थाहाखबरसँग भने, ‘त्यस्तो केही हैन। बाहिर आएजस्तो छैन।’ सापकोटालाई कारबाही प्रक्रिया अघि बढाइएको हो भन्ने प्रश्नमा उनी बोल्न मानेनन्। ‘बाहिर त्यस्तो आयो कि क्या हो?’ उनले भने, ‘अरू विषयमा म केही भनिनँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.