|

काठमाडौं : योगी नरहरिनाथले गरेका खोजी र उनका कृतिलाई सरकारले संरक्षण गर्ने भएको छ। हाल पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको मृगस्थली क्षेत्रमा उनले गरेका रचनालाई संग्रह गरी राखिएको छ। कतिपय उनका ऐतिहासिक कृतिहरू धमिराले खाएर र लोप हुने अवस्थामा पुगिसकेको छ।

योगी नरहरिनाथले राष्ट्रलाई अतुलनीय योगदान गरेको हुनाले राज्यको तर्फबाट उनको कृतिलाई संरक्षण गर्ने तयारी गरेको हो। धर्म, इतिहास, भूगोल तथा संस्कृतिको अध्येतामा उनले गरेको योगदान र विचारलाई राज्यले बिर्सन नहुने भन्दै संरक्षण गर्न लागेको हो।

बिहीबार राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले पशुपति क्षेत्रमा रहेको योगी नरहरिनाथको बृहत आध्यात्मिक पुस्तकालय, समाधि स्थल, उनका कृति र रचना राखिएको ठाउँको अवलोकन गरेको थियो।

योगी नरहरिनाथका कृतिलाई राज्यले उचित स्थानमा संरक्षण गर्नको लागि पहल गरिने समितिका सभापति रामनारायण बिडारीले बताए।

उनले भने, 'राज्यले योगी नरहरिनाथको कृतिलाई कसरी संरक्षण गर्नुपर्छ त्यसको लागि योगीसँग सम्बन्धित सरोकारवाला अन्य निकायले पनि सरकारलाई सुझाव दिनुपर्छ।'

योगीका रचना र योगदानका बारेमा सबैलाई जानकारी दिनका लागि पुस्तकालयमा ती कृतिहरू राखिनुपर्नेमा उनले जोड दिए। योगीका कृतिले नेपालको भौगोलिक अवस्था, धार्मिक ज्ञान, मानव धर्मको ज्ञान पाउनलाई सहयोग गर्ने उनले प्रष्ट पारे। योगीका कृतिहरू प्रचार-प्रसार गर्नुपर्ने त्यस बारेमा बुझाउन अभिलेखालय निर्माण गर्नुपर्ने उनको भनाइ छ।

नरहरिनाथको योगदानको कदर गर्दै सरकार र बृहद आध्यात्मिक परिषद सहकार्य गरेर अगाडी बढन उनले सुझाव दिए। उनले भने, 'योगीको हिमवतखण्ड छाप्न नपाएको भन्ने सुन्नमा आएको छ। कसले छाप्न नदिएको त्यो थाहा पाउनु पर्‍यो। नेपाल सरकारको तर्फबाट हामी छाप्नलाई पहल गर्छौं।' सरकारले धार्मिक पुस्तकालय र अभिलेखालय खोलेर राष्ट्रका महत्त्वपूर्ण व्यक्तिका कृतिहरूलाई संरक्षण गर्नुपर्नेमा उनको भनाइ छ। योगीका सन्धिपत्र संग्रह लगायत धेरै ऐतिहासिक रचना प्रकाशित छन् भने कतिपय रचनाका पाण्डुलिपि अप्रकाशित नै रहेका छन् ।

'योगी नरहरिनाथको पुस्तकालयलाई अध्ययन केन्द्र बनाउनुपर्छ'

राज्यले उनको योगदानलाई बुझ्न नसकेको बृहत आध्यात्मिक परिषदका योगीले गुनासो गरे। उनले भने, 'योगीका केही अनुयायीहरु भएकोले मात्र उनका कृतिहरूको संरक्षण भएको छ। राज्यले उचित ध्यान दिन नसक्दा राष्ट्रको लागि महत्त्वपूर्ण जानकारी भएका पुस्तकहरू सबै धमिराले खाइसकेको छ। कतिपय पुस्तक हराएर पनि गइसकेको छ।'

उनका कृतिमाथि धेरै विदेशीले अध्ययन गरिरहेको उनले जानकारी दिए। उनले भने, 'कतिपय विदेशी नागरिकले उनको विषयमा विद्यावारिधि गरिरहेका छन्। अध्ययन गर्नको लागि यस ठाउँमा पर्याप्त सुविधायुक्त भवन र स्थान पनि छैन। सरकारले योगी विषयमा अध्ययन गर्न आउनेको लागि अध्ययन केन्द्र बनाइ दिनुपर्छ।'

'योगीले सुगौली सन्धिको अध्ययन गरे'

त्यसैगरी, योगी नरहरिनाथले गरेको रचना अध्ययन गरेर नेपालको ऐतिहासिक ज्ञान लिन सहज हुने अधिवक्ता प्रकाशमणि शर्माले बताए। उनले भने, 'योगीको ऐतिहासिक दस्तावेज पढेर पनि नेपालको सीमा, भुगोल, धार्मिक र सांस्कृतिक ज्ञान लिन सकिन्छ।'

नेपालमा विवाद भइरहेको सुगौली सन्धिको अन्तिम र पहिलो पेजको पनि अध्ययन गरेको दस्तावेज भेटिएको प्रमाण छ त्यसलाई खोजी गरेर संरक्षण गरिनुपर्ने अधिवक्ता शर्माले प्रष्ट पारे।

योगी नरहरिनाथको जन्म वि.सं. १९७१ फागुन १७ मा कालीकोट जिल्ला, तत्कालिन ठाँटीकोट गाउँ विकास समिति, वडा नं. ७, लालुलोखाडा, चाखा, लालुगाउँका भारद्वाज गोत्रीय ललितसिंह ऋक्सेन थापा र माता गौरीदेवी (आत्रेयगोत्री) को माइला पुत्रको रूपमा भएको थियो ।

आठ वर्षकै उमेरमा व्रतबन्ध गरिएका बलवीरसिंह ऋक्सेन थापाले वि.सं. १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग सन्न्यास लिएपछि मात्र उनको नाम योगी नरहरिनाथ रहन गएको थियो ।

योगी नरहरिनाथ नौ वर्षको उमेरमा जुम्ला, चौघान स्थित वटुक भैरवनाथ सिद्ध चन्दननाथ भाषा पाठशालामा प्रवेश गरेका थिए । त्यसपछि उनले हरिद्वार, मायापुरी योगा श्रममा समग्र व्याकरण, दर्शनशास्त्र र काव्य साहित्यको अध्ययन गरे।

वि.सं. १९९२-९३ मा वाराणसी, गोरक्षटिल्ला, मैदागिनीमा सिद्धान्तकौमुदी, महाभाष्य प्रथमान्हिक र वाक्यपदीय ब्रम्हकाण्डको अध्ययन गरे।

लाहौर, प्राच्य विद्यापीठमा काव्यप्रकाश, कादम्बरी पूर्वाद्र्ध तथा अन्य दर्शनशास्त्रको अध्ययन गरे । विसं. १९९५ मा सरस्वती संस्कृत महाविद्यालय, लुधियानाबाट शास्त्री उत्तीर्ण, गुरुकुल काँडी विश्वविद्यालय, हरिद्वारबाट वि.सं. १९९७ मा ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, शतपथ ब्राम्हण, तैतिरीय ब्राम्हण, ऐतरेय ब्राम्हण, ताण्ड्य ब्राम्हण, गोपथ ब्राम्हण अध्ययन गरी वेदालंकार परीक्षा उत्तीर्ण गरे।

अध्ययन पूरा गरेपछि उनी'गौहत्या निषेध आन्दोलन' एवं भारतको स्वतन्त्रता संग्राम सत्याग्रहमा होमिए। यस क्रममा उनी पटकपटक लाहौरको मल्तान, शिन्ध, पञ्जाब, दिल्ली र कलकत्ताका कारागारहरूमा थुनिए।

भारतमा लोकतान्त्रिक सरकार गठन भएपछि भारत सरकारले ताम्रपत्र, स्वतन्त्रता सेनानी जीवनवृत्ति तथा भारतीय भूमिमा प्रदान गर्न चाहेको आ श्रम अस्वीकार गर्दै'मलाई आफ्नै देश र आफ्नै माटो प्यारो छ' भन्दै नेपाल फर्किएका थिए।योगी नरहरिनाथ २००४ कात्तिक २० गतेदेखि स्थायी रूपमा मृगस्थलीमा बस्न थाले।

१३ फागुन २०५९ मा मृगस्थलीको गोरक्षपीठमा उनको निधन भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.