|

दैलेख : असार अन्तिममा विकासको काम देखाउने र कामभन्दा बढीको बिल देखाएर रकम कुम्ल्याउन पल्केकालाई यसपालि सिस्टममै तालाबन्दी भएपछि समस्या परेको छ। 

असार ३१ गते राति १२ बजेपछि भुक्तानी सिस्टम अटोमेटिक रुपमा बन्द भएपछि कामै नगरेर बिल भरपाई मिलाउने खोज्नेहरुका लागि त निकै राम्रो भए पनि कतिपय निर्माण कम्पनीले काम गरेको मात्रै रकम पाउन सकेका छैनन्। 

दैलेख नारायण नगरपालिकासँग विभिन्न मितिमा सम्झौता गरेर निर्माणको काम थालनी गरेका निर्माण व्यवसायीले आफूहरुले काम गरेको रकमको समेत भुक्तानी नपाएको भन्दै विरोध जनाएका छन्। 

विरोधसँगै निर्माण व्यवसायीले नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेका छन्। उनीहरुले समयमा काम सम्पन्न गरी बिल भरपाई बुझाएको भए पनि २ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी नपाएको भन्दै नगरपालिका तालाबन्दी गरिएको निर्माण व्यावसायी अशोक कुमार थापाले बताए। 

हामीले जिम्मा लिएका कामहरु जति सकिएका छन् त्यतिको मात्र भुक्तानी दिनुप¥यो भनी नगरपालिकामा बिल भरपाई बुझाएका थियौं। असार ३१ गतेसम्म भुक्तानी दिन मिल्ने हो, हामीले कार्यालयमा बुझाएपछि कार्यालयले यसबारे छिटो छरितो काम गर्नुपर्नेमा प्रमुख प्रशासकीय अधिकृतले लापरवाही गरेका कारण समस्या भएको थापाको गुनासो छ। 

प्रशासकीय अधिकृत छविलाल नेपालीले बजेट फ्रिज भएका कारण भुक्तानी दिन नसकिएको बताए। असार ३१ गते राति १२ बजेसम्म भुक्तानी दिन मिल्ने भए पनि निर्माण व्यवसायीले ढिलो गरेका कारण भुक्तानीका लागि बिल भरपाई ल्याएकाले पनि समास्या भएको उनले बताए। 

‘गरेको कामको बजेट कसरी भुक्तानी गर्ने भन्ने विषयमा छलफल भैरहेको छ। भुक्तानी नदिनुको अन्य कुनै कारण छैन,’ निर्माण व्यवसायीले काम गरेअनुसार नगरपालिकाले भुक्तानी गर्ने नेपालीले बताए।   

नगरप्रमुख रत्न बहादुर खड्काले निर्माण व्यवसायीलाई समस्या परेको भए निकास निकाल्न आफूले सम्बन्धित सबै स्थानमा पहल गर्ने र शुक्रबार २ बजेसम्म तालाबन्दीलगायत काम नगर्न आफूले अनुरोध गरेको बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.