विश्‍वमा भारतको विशाल सांस्कृतिक विरासत छ : श्रीवास्तव

|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि भारतमा नभइ नेपालमै रहेको भनेर असार २९ गते दिएको अभिव्यक्तिलाई लिएर भारतीय विदेश मन्त्रालयले कुनै टिप्पणी नगर्ने जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रामको जन्मभूमि’ बारेमा दिएको अभिव्यक्तिबारे पत्रकारले सोधेको प्रश्‍नको उत्तर दिँदै यसबारेमा टिप्पणी नगर्ने बताएका हुन्। 

‘भारतको विशाल र समृद्ध सांस्कृतिक विरासत विश्‍वभर परिचित छ। नेपालको विदेश मन्त्रालयले पनि यसबारेमा स्पष्टीकरण दिइसकेको छ', उनले भने, 'हामीले यसबारेमा थप टिप्पणी गर्न जरूरी छैन, म यसबारेमा केही भन्‍न चाहन्‍नँ।'

प्रधानमन्त्री ओलीले आदिकवि भानुभुक्त आचार्यको जन्म जयन्तीका अवसरमा असार २९ गते राति बालुवाटारमा भगवान रामको जन्म वीरगञ्जबाट पश्चिमस्थित ठोरीमा भएको दाबी गरेका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर नेपालमा भारतलाई चिढ्याउने प्रयासका रुपमा टिप्पणी भइरहेका बेला भारतीय विदेश मन्त्रालयले टिप्पणी नगर्ने जनाएको हो। 

ओलीको अभिव्यक्तिलाई लिएर परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिँदै यसलाई कुनै राजनीतिक विषय र कसैप्रति लक्षित धारणाका रुपमा नबुझ्न भनेको थियो। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्ति कुनै राजनीतिक कुरासँग नजोडिएकाले अलमलमा नपर्न भनेको थियो। 

भगवान् श्रीराम र उनीसँग सम्बन्धित स्थानहरूबारे अनेकौँ कथा र मिथकहरु चल्दै आएको जनाउँदै मन्त्रालयले ओलीले भनेका ऐतिहासिक स्थान र तथ्यबारेमा अनुसन्धान हुनुपर्नेमा जोड दिएको थियो।

प्रधानमन्त्रीले ठोरीको अयोध्यापुरीमा रामको जन्म भएको बताएपछि अहिले त्यस स्थानमा पुरातत्व विभागले उत्खनन् तयारी गरेको छ। ओलीको उक्त भनाइपछि अयोध्यापुरीमा जाने भक्तजनको पनि भीड लाग्न थालेको छ। 

भिडियो​​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.