दाहाल-नेपाल केन्द्रीय कमिटी डाक्ने पक्षमा

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद चुलिँदै गर्दा शीर्ष नेताहरूबीच छुट्टा छुट्टै बैठक चलिरहेको छ। विशेष गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा दुवै पक्षका गुटका बैठक बसेका हुन्। 

आन्तरिक छलफल भनिए पनि अर्को समूहविरुद्ध कडा रणनीति निर्माणमा यी बैठक भएका हुन्। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नैता माधवकुमार नेपालबीच छलफल भएको थियो। 

बैठकमा अध्यक्ष दाहाल र नेता नेपालले प्रधानमन्त्रीलाई दुईमा एक पदबाट राजीनामा दिनुपर्ने बताएका थिए। तर, प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा नदिने अडानसहित सकेको गर्न भनेका थिए।

प्रधानमन्त्रीको अडानपछि अध्यक्ष दाहाल निवासमा खुमलटारमा दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य भीम रावल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरूबीच छलफल भएको छ। 

दाहाल-नेपाल पक्ष ओलीलाई जसरी पनि गलाउने रणनीतिसहित अब स्थायी कमिटी सकेर केन्द्रीय कमिटी बैठक डाक्नुपर्ने तयारीमा जुटेका छन्। बिहीबारको छलफलमा केन्द्रीय कमिटी डाक्ने बारेमा पनि छलफल भएको बताइएको छ। ​

दुवै समूहले आफ्नो अडान नछाडेका बेला भोलिको लागि स्थायी कमिटी बैठक बोलाइएको छ। स्थायी कमिटीमा प्रस्तुत हुने रणनीति तयार गर्न गुट बैठक बोलाएर शीर्ष नेताहरुले छलफल गरेका हुन्। बुधबारको त्रिपक्षीय वार्तामा पनि कुनै सहमतिको संकेत नदेखिएपछि अझै केही दिन नेकपाको किचलो लम्बिने अवस्था छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.