|

काठमाडौंः निजी विद्यालयका सञ्चालक निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)ले सरकारसँग राहत प्याकेजको माग गर्‍यो। राहत प्याकेज ल्याउन सरकारले आलटाल गरेको भन्दै निजी विद्यालय सञ्चालकले असार २२ गते नै वैकल्पिक कक्षा बन्द गराउने चेतावनी दिए। मन्त्रालयले केही समय मागेपछि कक्षा बन्दको कार्यक्रम त्यसबेला स्थगित गर्‍यो।

अन्तत: ती मागलाई सरकारले बेवास्ता गरेको भन्दै अहिले अनलाइन कक्षाबाट पठनपाठन गराउँदै आएका अनलाइन कक्षा बिहीबारबाट बन्द गरेको छ। अनलाइन बन्दसँगै बुधबार बसेको प्याब्सन र एनप्याब्सनको  बैठकले सरकारले आफूहरूका माग पूरा नगरेको भन्दै शिक्षकहरुलाई बेतलबी बिदा दिने निर्णय गर्‍यो। यो निर्णयले निजी स्कुलमा पढाउँदै आएका शिक्षकहरु मारमा परेका छन। अहिले सामाजिक सञ्जालमार्फत पनि उनीहरुले चर्को विरोध जनाएका छन्। 

'गरिखाने मान्छेलाई लात हानियो'

बौद्ध, नयाबस्तीमा रहेको टाइम लाईन स्कुलमा पढाउँदै आएका शिक्षक नवराज लुइँटेल यो निर्णय गैरजिम्मेवार पूर्ण रहेको बताउँछन्। ‘शिक्षकलाई बेतलबी विदामा राख्ने निर्णय गैरजिम्मेवारपूर्ण छ,’उनले भने,‘गरिखाने मान्छेको पेटमा लात हान्ने काम भयो। अरू बेला शिक्षककै भरमा पैसा उठाएर स्कुल चलायो। आपत परेको बेला हामीलाई नै अन्याय गर्ने?।’ उनले यो संकटमा कोठा भाडा र परिवारसमेत पाल्न समस्या भएको सुनाए।

‘बरु केही समस्य भए सरकार निकायसँग माग गर्नुपर्छ,’उनले भने,‘सहयोग गर्न परे हामी नि गछौँ। तर, घुमाईफिराई हामीलाई नै मारमा पार्ने काम भयो। यस्ता काम बन्द गरियोस।’ उनले प्याब्सन र एन –प्याक्सनले जिम्मेवार भएर काम गर्न पनि सुझाव दिए। ‘उहाँहरुले हाम्रो मर्कालाई बुझेर सहयोग गर्नुपर्छ,’उनले थपे,‘केही कम्प्रमाइज गर्न परेमा हामी गछौँ। हामीलाई बेतलबी विदा दिएर राम्रो हुँदैन।’ 

बेतलबी बिदा दिनु गलत

त्यस्तैगरी जोरपाटीस्थित सेन्टेनिअल माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक यमप्रसाद ढकालले पनि यो संकटको बेला शिक्षकलाई बेतलबी विदा दिनु गलत निर्णय भएको बताए। ‘यो बेला स्कुलले बेतलबी दिने होइन,’उनले भने,‘सम्बेदनशिल भएर काम गर्ने हो। शिक्षकको समस्या बुझेर सहयोग गर्ने हो। शिक्षकलाई बाच्ने आधार बनाउनुपर्छ। बरु सरकारसँग समस्या राखेर समाधान खोज्नुपर्छ।’ उनले शिक्षाबाट मात्रै आर्थिक आय आर्जन हुने बताउँदै स्कुल सञ्चालकको यो निर्णयले मारमा पर्ने सुनाए।

उनले भने,‘हाम्रो पनि परिवार छन्। पाल्नुपर्छ। हाम्रो आम्दानी भनेकै शिक्षा पेसा हो। अब बेतलबी भएर बस्दा कसले हाम्रो परिवार पाल्छ? शिक्षकलाई बाच्न दिने वातावरण बनाउनुपर्छ।’ अनलाइन कक्षा सुचारु गर्नुपर्ने उनको माग छ। यता, प्याब्सन र एनप्याब्सनले भने सरकारले माग पूरा नगरेसम्म अनलाइन कक्षा बन्द गर्ने र शिक्षकलाई बेतलबी बिदामा राख्ने अडान लिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.