|

कञ्चनपुर :  नगदेबालीका रुपमा रहेको उखु खेतीको कञ्चनपुरमा क्षेत्र विस्तार गरिएको छ। अधिक उखु खेती हुने महाकाली, बेलौरी र बेलडाँडीमा उखु खेतीको क्षेत्र विस्तारको कार्य गरिएको हो। किसानलाई उखु खेती विस्तारका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले बीउमा ८० लाख रुपैयाँ अनुदानका रुपमा उपलब्‍ध गराइएको छ।

एक सय २५ जना उखु खेतीमा संलग्न किसानलाई बिउमा अनुदान रकम उपलब्‍ध गराइएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिए।

उखु खेतीको लागि  तीन सय हेक्टर क्षेत्रफल थपिएको छ। उनका अनुसार कैलालीको भजनीका किसानलाई समेत उखु खेती गर्नका लागि अनुदान रकम दिइएको छ। औद्योगिक बालिका रुपमा रहेको उखुको क्षेत्रविस्तारसँगै क्षेत्रफल बढेर ७ हजार चार सय पुगेको छ। आब ०७५-७६ मा उखु खेतीको क्षेत्रफल ५ हजार ६ सय रहेको थियो।

जसको उत्पादन २ लाख ४८ हजार चार सय मेट्रिक रहेको थियो। आब ०७६-७७ मा उत्पादन बढेर ३ लाख २४ हजार मेट्रिक टन पुगेको छ। उखु खेती गर्ने किसानलाई कृषि औजार र उपकरण अनुदानमा उपलव्ध गराउनुका साथै सँगै खेती गर्ने नयाँ  तरिकाहरू सिकाउन थालिए पछि प्रतिवर्ष उखुको उत्पादन बढ्दै गएको छ।

किसानले हाल परम्परागत हलोको प्रयोग गरी उखु लगाउने कार्यलाई भने छाडदै गएका छन। ट्रेन्च र चिप कटर विधिको प्रयोग गरी उखु रोप्दै आएका छन।

उख बाली संगै किसानले अन्तरबालीका रुपमा तोरी, आलु, लसुन, मसुरो, मटर र धनियाँ खेती गरी अतिरिक्त आम्दानी समेत गर्ने गरेका छन्।

उखु खेतीलाई प्रोत्साहीत गर्नका लागि किसानलाई अनुदान रकम सँगै खेती गर्ने तौरतरिका र उन्नतजातका बीउ लगाउनका लागि कार्यक्रम सञ्चालन गरिएका छन। वर्षातको समय डुवानमा पर्ने क्षेत्रका किसानहरुलाई समेत उखु खेती गर्नका लागि अनुदान रकम उपलव्ध गराइदैँ आएको छ। डुवानका कारण कृषि उत्पादन नहुने खेतमा उखु खेती हुन थालेपछि किसानको आम्दानी बढेको छ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कैलाली र कञ्चनपुरमा उखु खेती विस्तारका लागि आव ०७५-७६ मा १ करोड २५ लाख रकम अनुदान प्रदान गरेको थियो। जस बाट उखु खेतीको ६ सय विघा जग्गा क्षेत्रफल थपिएको थियो।

मुख्य मन्त्री एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यक्रम अन्तर्गत उखु खेती गर्ने बेलडाँडीका किसानलाई ५० लाखको बजेटमा कृषि उपकरण, औजार, बीउ विजन र नयाँ प्रविधि उपलव्ध गराउने कार्य समेत गरिएको छ। 

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले मर्सिकोरको सहायतामा सञ्चालन गरिएको एमरेड परियोजना अन्तर्गत समेत उखु खेती गर्ने किसानलाई अनुदान रकम संगै प्रोत्साहित गर्ने कार्य हुदै आएका छन। नदीका बगरमा रेडक्रसको सहायतामा उखु खेतीलाई बढावा दिइदै आएको छ। समुह मार्फत किसानले नदीका बगरमा उखु खेती गरी जीविकोपार्जन गर्दै आएका छन।

उखु खेती हुन थालेपछि मजदुरीका लागि भारत लगायतका क्षेत्रमा जाने युवाहरुले गाँउमै रोजगारी समेत पाएका छन। उखु खेती गरिन थालेपछि मजदुरी गर्न जाने युवाहरु स्वरोजगार भएका छन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.