|

जाजरकोट : बारेकोट गाउँपालिकाका पहिरो पीडितहरु खाद्यान्न अभाव भएपछि समस्यामा परेका छन्। पहिरोबाट विस्थापित भएको एक साता बिते पनि उनीहरुले खाद्यान्न राहत पाएका छैनन्। उनीहरु विस्थापित भएपछि बारेकोटमा तीन पटक हेलिकोप्टर पुगे पनि राहतबापत खाद्यान्न नआएको पीडितहरुको गुनासो छ। यहाँ ५०० जना विस्थापित रहेका छन्।

हेलिकोप्टरले राहतमा खाद्यान्नबाहेकका सामग्री मात्र ल्याएका बारेकोट सिनचौरका कालीबहादुर कामीले बताए। ‘घर छोडेको आज हप्ता दिनभन्दा बढी भैसक्यो, घरमा भएको केही चामल र पिठो ल्याएर अहिलेसम्म जेनतेन गुजरा चलायौ । अव के खाने?’ उनले भने, ‘त्रिपाल र कम्मलको पनि आवश्यकता छ तर त्योभन्दा पनि महत्त्वपुर्ण कुरा पेट भर्नु छ।’ उनका अनुसार हेलिकोप्टरले केही थान त्रिपाल, कम्बल र सात बोरा चामल मात्र त्यहाँ पु¥याएको छ। पीडितहरुमध्ये केही असार २६ गतेदेखि कालिका प्रावि र केही टेन्ट टाँगेर बस्दै आएका छन्। 

यता, गाउँपालिका उपाध्यक्ष ओाम शर्मा त्यस ठाउँमा खरिद गर्न खाद्यान्न नपाइएको बताइन्। त्यसैले खाद्यान्न समस्या भएको उनको भनाइ छ। बारेकोट गाँउपालिकामा उत्पादित अन्नले वर्ष दिनमा ६ महिना मात्र खान पुग्छ। बर्सेनि खाद्य संकट भैरहने जाजरकोटको बारेकाटका करिब २० हजार बासिन्दाका लागि भनेर सरकारले स्थापना गरेको खाद्य डिपो एक महिनादेखि रित्तै छ। ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ढुवानी नगर्दा समस्या देखिएको हो। बारेकोटको खाद्य संकट टार्न सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चालु आर्थिक वर्षमा थपसहित तीन हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरेको छ। उक्त चामल ढुवानीका लागि सरकारले अनुदान दिँदै आएको छ। तर, आर्थिक वर्ष सकिँदा पनि चामल ढुवानीको जिम्मा लिएका एनबी विल्डर्स्का प्रतिनिधि मानबहादुर खड्काले दुई हजार ४४२ क्विन्टल मात्र चामल ढुवानी गरेका छन्। एक हजार ५८ क्विन्टल चामल ढुवानी नगर्दा बारेकोटमा खाद्य संकट परेको हो।

विस्थापित परिवारहरु विपन्न वर्गका छन्। लकडाउनकै कारण धेरै मानिसहरु गाउँ फर्किएका छन्। रोजगारीका अवसर छैनन्। त्यहीमाथि पहिरोले बारेकोटका विभिन्न गाउँ तथा बस्तीहरु छियाछिया परेका छन्। मानिसहरु कामको खोजीमा बाहिर निस्कन सकिरहेका छैनन्। बर्षात रोकिएको छैन

बारेकोटका जिरी, तल्लो जिरी, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्लीलगायतका गाँउकम केही दिनमै भोकमरीको अवस्था सिर्जना हुँदैछ। गाउँपालिका एक्लैले विपदको सामना गर्न सक्ने अवस्था छैन। विस्थापितलाई खान बस्नको लागि निकै समस्या रहेको उपाध्यक्ष शाहीले बताइन्। बारेकोटका एक गाँउबाट अर्को गाँउ जान र एक वडाबाट अर्को वडा जान कम्तीमा ६ घण्टा लाग्ने भएकाले पनि तथ्यांक संकलनमा समस्या भएको उपाध्यक्ष शाहीले बताइन्।

गत असार २५ मा बारेकोट–४ सार्कीटोलमा गएको पहिरोमा परी ११ जनाको ज्यान गएको छ भने एकजना अझै पहिरोमा बेपत्ता भएका छन्। त्यस्तै, बारेकोट–६ धुमाखोलाले बगाउँदा बेपत्ता दुईजना पनि अझै फेला पर्न सकेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.