|
फाइल फोटो

काठमाडौं : नेपालमा पछिल्लो एक महिनामा बाढी-पहिरोका कारण १०५ जनाले ज्यान गुमाएका छन्। जेठ ३० गतेयता मनसुन सक्रिय भएसँगै हालसम्म देशभर पहिरोका कारण एक सय २ जना र बाढीका कारण ३ जनाको मृत्यु भएको हो। यसअवधिमा बाढी-पहिरोकै कारण ४८ बेपत्ता रहेका छन् भने ५१ जना घाइते भएका छन्।

राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार बाढीका कारण कैलाली, सर्लाही र मोरङमा एक–एक जना गरी ३ जनाको मृत्यु भएको छ। केन्द्रका अनुसार शनिबार कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ की १२ बर्षीया उर्मिला चौधरीको बाढीले बगाएर मृत्यु भएको हो। यसअघि शुक्रबार मात्र कास्कीमा पहिरोका कारण थप ३ जनाको मृत्यु भएको थियो।

यसअघि कास्कीमा पहिरोकै कारण ७ को मृत्यु हुनुका साथै १७ जना घाइते भएका थिए। यस्तै, बिहीबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ फुल्पिङमा पहिरोमा पुरिएका ३ जनाको शव भेटिएको थियो भने २ जना अझै बेपत्ता छन्। त्यसअघि सिन्धुपाल्चोकमा ५ जनाको मृत्यु हुनुका साथै २० बेपत्ता भएका थिए।

यसैगरी, पहिरोका कारण म्याग्दीमा २८, जाजरकोट र तनहुँमा ११–११, पर्वतमा ९, बझाङमा ७, गुल्मी र पाल्पामा ४–४ र बाजुरामा एक जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म म्याग्दीमा ४, जाजरकोटमा २, तनहुँ र पर्वतमा एक–एक जना बेपत्ता रहेका छन् भने, म्याग्दीमा ६, सिन्धुपाल्चोकमा ५, जाजरकोटमा २, तनहुँमा एक जना घाइते भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.