|

सुर्खेत : गत फागुन १० गतेदेखि हराइरहेका सुर्खेतका एक युवाको अस्थिपञ्जर प्रहरीले फेला पारेको छ। बराहाताल गाउँपालिका–१ को सम्सेनीका अन्दाजी ३१ वर्षीय शिवराम रानाको अस्थिपञ्जर प्रहरीले बर्दिया राष्ट्रिय निकुञ्जमा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार पत्रकारहरुसँग बरामद गरिएको कंगाल सार्वजनिक गरेको छ। सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा खटिएको टोलीले निकुञ्जभित्र ठाकुरद्वारको जंगलमा रानाको कंकाल फेला पारेको हो। 

मानव कंकालसहित हँसिया, भरुवा बन्दुक एक थान, छर्रा, उनका कपडा तथा झोला प्रहरीले सार्वजनिक गरेको छ। ‘उनकी श्रीमती मनमायाले खोजी गरिपाऊँ भनी निवेदन दिएकी थिइन्,’ एसपी भट्टले भने, ‘सोही निवेदनका आधारमा हामीले खोजी गरेका थियौं, तर फेला पार्न सकेका थिएनौं, मृतक रानासँगै अन्य दुई पनि हराएका हुँदा हामीलाई खोज्न समस्या भएको थियो।’

‘रानासँगै यामबहादुर सम्सेली र सूर्यबहादुर वली पनि हराएको खबर थियो। उनीहरु भारततर्फ गएका रहेछन्। लकडाउन अलि खुला भएपछि उनीहरु भारतबाट गाउँमा आए,’ उनले भने, ‘रानाकी श्रीमतीले असार १६ गते ती दुुई जनाले श्रीमानलाई बेपत्ता पारेको आरोपसहित किटानी जाहेरी दिनुभएको थियो, सोही आधारमा खोजी गर्न बर्दिया गएका थियौं। त्यहाँ उनको कंकालसहित सामान भेटिएको हो।’

प्रहरीका अनुसार मृतक रानाका बुवा र श्रीमतीले उनको सनाखत गरिसकेका छन्। प्रहरीका अनुसार अहिले मनमायाले दुवै जनाविरुद्ध हत्या कर्तव्य गरी मारेको जाहेरी दिएकी छन् भने प्रहरीले घटना अनुसन्धान गरिरहेको छ।

रानासँगै गएका भनिएका दुई जनाले भने शिकार गर्न निकुञ्ज गएको बेला रानालाई बाघले लिएको बयान दिएका छन्। उनीहरुलाई उद्धृत गर्दै एसपी भट्टले भने शिकारमा गएको बेला रानाले बन्दुक समातेर शिकार कुरिरहेका थिए। 

दुवै जनाले निकुञ्जमा आफूहरुले वन्यजन्तु लखेटेको तर रानालाई बााघले लिएपछि भागेको बयान दिएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.