|

दैलेख : कर्णाली प्रदेशका १० जिल्लामध्ये कोभिड १९ को केन्द्र बनेको दैलेखमा महामारीमा मजाक जस्तै हुँदै आएको छ। 

११ वटा स्थानीय तहमा संक्रमितको संख्या ८ सय बढी रहे पनि अहिले आइसाेलेसनमा २० जना मात्र बसेका छन्। केही समयअघि सुर्खेत वा जुम्लाबाट पिसिआर परीक्षण गरिँदै आइए पनि अहिले भने जिल्लामै कोरोना परीक्षण हुन थालेको छ। तर जिल्लामै परीक्षण थालिए पनि कोरोना जाँचको दायरा भने खुम्च्याइएको छ। 

परीक्षणमा ढिलाइ गरिँदा क्वारेन्टाइनमा राखिएकालाई संक्रमण पुष्टिपछि घर पठाउने गरिएको छ। चैत ५ गते प्रदेशको पहिलो पटक दैलेखमा कोरोना संक्रमित भेटिएका थिए।
सम्बन्धित निकायको खेलाँचीका कारण जिल्ला कोरोनामय बनेको छ।

स्थानीय तहले कोरोनाका नाममा लाखौँ खर्च गरेको भए पनि कोरोनाका नाममा बनेका संरचना खाली छन्। जिल्लाभर क्वारेन्टाइन बेडको संख्या ९ हजार २ सय १३ रहेका स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ। आइतबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ८२ छ। ७ सय ८२ आइसोलेसन वार्डमा रहेकामा अहिले २० जना मात्र छन्।  

लक्षण नदेखिएको भन्दै ६ सय ३७ लाई घर पठाइयो    

दैलेखमा आइतबारसम्म कोरोना संक्रमितको संख्या ८ सय ८ पुगेको छ। तर हालसम्म १ सय ७१ जनाले मात्र कोरोना जितेर घर गएका छन्। सामान्यसमेत लक्षण नभएका थप ६ हजार ६ सय ३७ जनालाई घर पठाइएको छ। 

स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले सरकारको नीतिअनुसार सामान्य लक्षण नदेखिएकालाई घर पठाइएको बताए। तर होम क्वारेन्टाइनमा बस्न भनी घर पठाइएका कोरोनाका बिरामी हिँडिरहेका छन्। त्यसमाथि परीक्षणको दायरा घटाइनुले दैलेखमा कोरोना भुसको आगोझैं फैलने सक्ने खतरा बढेको स्थानीयहरु बताउँछन्। 

लाखौँ खर्चेको आइसोलेसन रित्तै

जिल्लाका स्थानीय तह र सम्बन्धित निकायले कोरोना संक्रमण पुष्टि भएकालाई राख्न बनाएका आइसोलेसन बेड अहिले खाली छन्। तर संक्रमितलाई भने घर पठाइएको छ। जिल्लामा सबैभन्दा बढी कोरोनाका बिरामी रहेको नारायण नगरपालिकामा १ सय ९४ आइसोलेसन बेड बनाइएको छ। 

तर आइसोलेसनमा भने २ सय ४२ संक्रमितमध्ये ५ जनालाई मात्र राखिएको छ भने १ हजार ४ सय ३७ क्वारेनटाइन बेडमध्ये त्यहाँ १४ जनालाई मात्र राखिएको छ। १ सय १ जना कोरोनाका बिरामी रहेको दुल्लुमा १० जना मात्र क्वारेन्टाइनमा बसेका छन्। तर दुल्लुमा आइसोलेसन बेडको संख्या ४५ छ। १ हजार ३ सय २३ क्वारेन्टाइन बेड यहाँ खाली छन्।

९ सय ९७ क्वारेन्टाइन बेड रहेको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ३२ जना क्वारेन्टाइनमा छन्। ६ जना कोरोनाका बिरामी रहेको चामुण्डामा १५ वटा आइसोलेसन वार्ड खाली छन्। 
त्यस्तै आठबिस नगरपालिकामा २४ जना संक्रमित थिए, यहाँ २१ बेडको आइसलेसनमा जम्मा २ जनालाई मात्र राखिएको छ। ६ सय ६९ क्वारेन्टाइन बेडमा मात्र २२ जना बसेका छन्।
१ हजार १७ बेड क्वारेन्टाइन र १५ बेड आइसोलेसन रहेको ठाँटिकाध गाउँपालिकामा सबै बेड खाली छन्। 

उक्त गाउँपालिकामा हालसम्म संक्रमितको संख्या ४ जना मात्र छ। १७ जना संक्रमित रहेको भैरवी गाउँपालिकामा ७ सय ४५ बेड क्वारेन्टाइन बनाइए पनि यहाँ ५ जना छन् भने १३ बेडको आइसोलेसन रित्तै छ। 

महाबु गाउँपालिकामा १ हजार ४ सय ३७ क्वारेन्टाइन बेड रहेकोमा सबै खाली छन्। १ सय ६६ कोरोनाका बिरामी भेटिएको यहाँ १ सय १० बेडकाे आइसोलेसन भए पनि यो पनि खाली नै छ।

१ सय ५१ जना संक्रमित रहेको नौमुले गाउँपालिकामा २ सय ८० बेडको आइसोलेसनमा २ जनालाई राखिएको छ। ३ सय ३० बेडकोे क्वारेन्टाइनमा ८ जना मात्र बसेका छन्। १५ जना कोरोना संक्रमित रहेको भगवतीमाई गाउँपालिकामा २ सय ३८ बेडको क्वारेनटाइनमा हाल १ जनालाई मात्र राखिएको छ। १५बडको आइसोलेसन भए पनि जम्मा १ जना बसेका छन्। 
७३ जना सङ्क्रमित भेटिएको डुंगेश्वर गाउँपालिकामा ५ सय क्वारेन्टाइन बेड खाली छन्। यहाँ ५३ आइसोलेसन बेडसमेत खाली छन्। 

हालसम्म ९ जना कोरोनाका बिरामी फेला परेको गुराँस गाउँपालिकामा ५ सय २० क्वारेन्टाइन र १२ बेड आइसोलेसन खाली छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.