कलाकार नै स्वीकार्दैनन् अस्‍तित्‍व

|

काठमाडौं :  नेपालमा चलचित्रको विकास क्रम केही ढिलो सुरू भए पनि अहिले यो क्षेत्र सशक्त बन्दै गइरहेको छ। नेपाली सिनेमा उद्योगमा वर्षमा दर्जनौ फिल्महरू निर्माण भइरहेका हुन्छन्।

पछिल्लो समय नेपाली केही चलचित्रहरूले बन्ने क्रम बढ्दै गए पनि न्युन संख्याका सिनेमाले मात्र  कमाइ गरेका छन्। जे जस्तो भए पनि यसले आफ्नो गतिलाई अगाडि बढाइ नै रहेको छ।

मौलिकतामा र सृजनात्मक चलचित्र बन्न नसकेको आरोप नेपाली सिने क्षेत्रले पाउँदै आएको छ।   झण्डै ५० वर्षदेखि निर्माण हुँदै आएको नेपाली फिल्म समयानन्तरमा जुन खालको विकास हुनुपर्ने हो त्यो हिसाबले विकास हुन नसकेको सत्य हो।

कोरोना भाइरसको विश्वव्यापी माहामारीपछि जारी गरिएको लक डाउनको समयमा केही कलाकारहरू विवादित बने। चलचित्र कलाकारहरूबीच नै द्वन्द्व देखियो। नायिका पूजा शर्मा र सुष्मा कार्कीबीचको विवाद, नायक भुवन केसी र साम्राज्ञी राज्यलक्ष्मी शाह बीचको विवाद लकडाउनको समयमा नै देखियो। भने केही कलाकार अन्तरवार्तामा बोल्दा बोल्दै चिप्लिए।

कलाकारको आफ्नै कारण उनीहरूमाथि  निरन्तर प्रहार भइरहेको छ। चलचित्र क्षेत्रकै मानिसहरुबाट कलाकारहरुमाथि प्रहार भइरहेको यो परिस्थितीलाई नियाल्दा एकले अर्काको अस्थित्व स्वीकार गर्न हिचकिच्याहट गरेको देखिन्छ।

नेपाली चलचित्र उद्योगमा जमेका र रमेका कलाकारहरू एकले अर्कोलाई सहयोग त परै जाओस् उसको अस्थित्व स्वीकार गर्न सकिरहेका छैनन्।  यहाँ  प्रतिस्पर्धाको नाममा खुट्टा तान्ने प्रवृत्ति हावि छ।  प्रतिष्पर्धामा स्वच्छताको अभाव छ।

अस्वस्थ प्रतिस्पर्धा हुँदा व्यक्ति व्यक्तिबीच मात्रै नभई सिंगो क्षेत्रलाई असर गर्छ। वादविवाद हुनु सामान्य भए पनि सहयोग नहुनु, अस्वस्थ प्रतिस्पर्धा हुनु दुःखद हो।

सिनेमाको प्रचारप्रसार तथा खुलेर नबोल्ने

सानो आकारको नेपाली चलचित्र क्षेत्रमा बढी अस्वस्थ प्रतिस्पर्धा देखिन्छ। प्रतिस्पर्धा आफैमा राम्रो कुरा भएपनि कलाकारहरुले ईगोका रुपमा लिने गर्नाले पनि यसलाई घाटा देखिन्छ। थुपै कलाकारहरु नेपाली चलचित्रलाई व्यवसायिक बनाउने भन्दा पनि आफु व्यवसायिक बन्ने जोडबलमा हुन्छन्। उसो त आफ्नो मिहेनत कसलाई प्यारो नलाग्ला आफ्नो सफलता त खोज्नै पर्छ। तर आफूसँगसँगै यो क्षेत्रलाईनै सहयोग हुनेगरी सहकार्य कलाकर्मीमा देखिँदैन। उनीहरू न त एक अर्काका चलचित्रका राम्रा पक्षमा बोल्छन्। न त कुनै छलफल र सहकार्य नै। बस, आफू र आफ्नो लगानीमात्र व्यावसायिक बनाउनेतिर।

महानायक उपाधि अस्वीकार

यतिबेला नेपाली चलचित्र क्षेत्रमा एउटा विषय निकै विवादमा परेको छ। राजेश हमाललाई महानायक मान्ने वा नमान्ने विषयको चर्चासँगै यसको पक्ष र विपक्षमा टिप्पणीहरू आइरहेका छन्। कलाकार दीपाश्री निरौलाले हमाललाई कुन आधारमा महानायक मान्ने भन्दै प्रश्न गरेपछि यो विषय चर्चामा आयो।

चौतर्फी आलोचना भएपछि उनले माफी माग्दै आफूले सँधै हमाललाई महानायक नै मान्दै आएको प्रष्टीकरण नै दिइन्। माफी मागेपछि यो विवाद अन्त्य होला भन्ने अनुमान गरिएको थियो। तर, चाँडै सेलाउने छनक देखिएन। सामाजिक सञ्जालमार्फत दीपामाथि तथानाम गालीगलौज आइरहे, उनको ट्रोलसमेत बनिरहे। यो प्रकरणले पनि कलाकारहरु एक अर्काको अस्तित्व स्वीकार्न हिचकिचाइरहेको ठम्म्याउन असहज लाग्‍दै। यद्यपि यो विषयमा कलाकारहरू पक्षविपक्षमै छन्। तर राजेश हमाललाई भने जनताको साथ छ। जनमतले राजेशलाई महानायक मान्न कुनै पनि कन्जुस्याइँ नगरे पनि कलाकार यसलाई मान्न तयार देखिँदैनन्।

पूजा सुष्‍मा

नेपालील कलाकारिता क्षेत्रमा कलाकारहरूको बेलाबेलामा गसिपहरू बाहिरिरहेको हुन्छ। कहिले ड्रेसअपले त कहिले घुमघामले। तर, नेपाली चलचित्रक्षेत्रकी २ नायिका भने व्यक्तिगत रिसईबीका कारण गसिप बनिरहेकी छन्। सुष्मा कार्की र पूजा शर्मा बिचकोरिसको ज्वाला मज्जैले दन्केको छ। कार्कीले पूजालाई फ्यानका नाममा आफैँ सामाजिक सञ्जाल चलाउने र त्यसमा आफ्नो प्रशंसा आफैँ गर्ने गरेको दाबी गरेकी थिइन्। साथै सोही पेजबाट आफूलाई नकारात्मक टिप्पणीसमेत गरिएको उनी दाबी गर्दै आएकी छन्।

 तर, पूजाले यसको अहिलेसम्म खासै प्रतिउत्तर दिएकी छनैन्। नयिकाद्धय पूजासुष्‍माबीचको आरोप प्रत्यारोपले पनि देखाउँछ कि उनीहरूले एक अर्काको अस्थित्व स्वीकार गर्दैनन्। लामो समय नै भयो उनीहरूका बीचमा मनमुटाव देखिएको। जहाँ त्यही उनीहरू एक अर्काप्रति कटाक्ष गर्दै आरोप प्रत्यारोप लगाएर हिडिँरहेका हुन्छन्।

फिल्मकर्मीमा चेतना छैन

नेपाली कलाक्षेत्रका वरिष्ठ अभिनेता नीर शाह कलाकारहरुमा देखिएको यो खालको समस्या चेतनाका कमी ठान्छन्। कलाकारहरू आफू कुन क्षेत्रको मान्छे हो?, आफू आवद्ध क्षेत्रलाई संसारले कसरी नियाली रहेको छ?, र आफुले गरेको कुनै पनि कामको सार्वजनिक मूल्यांकन हुने गर्दछ भन्ने चेतना कलाकारहरुमा नहुँदा नै यस्तो खालमा समस्या सिर्जना भएको उनको ठहर छ।

सिनेक्षेत्र सहयात्रामा मात्रै अगाडि बढ्न सक्ने उद्योग भएकाले सहकार्य त आवश्यक छ।  सहकार्यका लागि सह अस्थित्वको महत्वपूर्ण रहेको छ।  हरेकले हरेकको अस्थित्व स्वीकार्नु पर्छ', उनले भने, ' नेपाली चलचित्र उद्योगको विकाशका लागि एक जनाको प्रयास मात्रै सर्वोपरी हुँदैन।  विगतमा यो क्षेत्रको विकाशका लागि सामूहिक पहल भएका कारण नै यहाँसम्म ल्याइपुर्‍याउन सफल भएको हो।'

समूहवाद हाबी भयो

नेपाली चलचित्र उद्योगमा परिवारवादको कमि भए पनि समूहवाद हाबी छ, यसका कारण नै समग्र चलचित्रक्षेत्र समूहवाद मनोरोगबाट ग्रस्त रहेको निर्देशक तथा सञ्चारकर्मी प्रकाश सुवेदी बताउँछन्।

यो क्षेत्रमा एकले अर्को व्यक्तिको सफलतादेखि नसक्ने उनले उल्लेख गरे। एकले अर्काको सफलतादेखि नसक्ने भावना कलाकारमा विकसित भएको र त्यसको समग्र दोष भने मिडियाकर्मीमा थुपार्ने प्रवृत्ति रहेको उनको भनाइ छ। सुवेदी भन्छन् ‘३० वर्षे मेरो यो यात्राको दौरानमा नेपाली चलचित्र उद्योगमा कहीँ कतै  ग्रुपिजम छ, त्यही कारणले गर्दा एकले अर्काको सम्मान गर्न नसकेको र अस्तित्व स्वीकार गर्न नसकेको मैले अनुभव गरेँ।’

एउटाको फिल्म चले अर्काको टाउको दुख्‍ने, फ्लफ भयो भने खसी काटेर भोज खाइन्छ। एउटाको फिल्म चल्दा अर्कोलाई टाउको किन दुख्‍नु अहिलेको नेपाली फिल्मकर्मीको गम्भीर समस्या रहेको सुवेदीले बताए। चलचित्रमा भएको प्रगतिका विषयमा समीक्षा नगर्ने र तर रिसिइबी गर्ने मानसिकता हाबी भएको उनी बताउँछन्।

ग्रुपिजमका कारण नै चलचित्रको समग्र क्षेत्रमा असर परिरहेको छ। यसकै कारण जुन किसिमले चलचित्रको विकास र पवर्द्धन हुनुपर्ने हो त्यो भइरहेको छैन। एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु, एकले अर्काको खुट्टा तान्नु, प्रगतिमा डाहा इर्ष्या गर्नु। एउटा कलाकार अलिकति माथि जान लागे अन्य कलाकारले गुठबन्धी गरेर नकरात्मक हल्ला फैलाइ दिने, जथाभावीको मिडियाको प्रयोग गर्नु नेपाली कलाकारको प्रवृत्ति रहेको छ', उनले भने।

उनले केदार घिमिरे 'माग्नेबुढा' को उदाहरण दिँदै भने, 'उनी अहिले  एउटा संस्थाको कपिराइट गरेर बसिरहेका छन्। माग्नेबुढाले गर्दा फिल्म चल्छ भने वर्षमा अन्य ५ वटा फिल्म खेल्न दिए के हुन्छ त? आखिर यसरी चलाएमान हुन्छ भने उनलाई किन एउटै फिल्ममा सीमित गर्दिने त? बाँधेर राख्ने? यो परम्पराले जे मनस्थिति देखाउँछ भने हाम्रो मात्रै एकछत्र राज होस भन्ने जुन किसिमको ग्रुपिजम बनाइएको छ, यो तत्व नै नेपाली चलचित्रको उत्थानको बाधक हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.