|

काठमाडौं : देशकै पहिलो शैक्षिक संस्था दरबार हाइस्कुल यसै वर्षबाट सञ्चालनमा आउने भएको छ। काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सबै पुनर्निर्माणको काम सकिएकाले यसै वर्षबाट स्कुल सञ्चालनमा ल्याउने जानकारी दिए।

२०७२ सालमा आएको भूकम्पले विद्यालय भवनमा क्षति पुर्‍याएको थियो। पुननिर्माणको सबै काम सकिएको जानकारी दिँदै प्रवक्ता डंगोलले यसै वर्षबाटै स्कुल सञ्चालनमा ल्याउने बताए। ‘लकडाउनबीचमै स्कुल पुननिर्माणको सबै बाँकी काम सकिएको छ,’ उनले भने,‘सरकारले सबै अहिले बन्द गरेको स्कुल सञ्चालनमा ल्याउने निर्णय ल्याएमा यही आर्थिक वर्षबाटै दरबार हाइस्कुल पनि सञ्चालनमा आउँछ। यसको लागि महानगरपालिकाले तयारी थालेको छ।’

उनका अनुसार स्कुल निर्माण कम्पनीबाट स्कुल हस्तान्तरण हुन भने बाँकी नै छ। उनले भने,‘स्कुल पुनर्निर्माणको काम सकिए पनि हस्तान्तरण भएको छैन। कोरोना महामारी कम हुँदै छ। अब विस्तारै हस्तान्तरणको कार्यक्रम पनि हुन्छ।’ स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले सरकारी तथा निजी विद्यालयको सुधार, व्यवस्थापन र अनुगमन गर्ने जिम्मा पाएका छन्। यसअनुसार मुलुककै जेठो दरबार हाइस्कुलको जिम्मा महानगरपालिकाले पाएको छ। 

बेलायत भ्रमणबाट फर्केपछि तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले छोरा–भतिजाहरूलाई प्रारम्भिक शिक्षा दिन थापाथलीस्थित आफ्नै दरबारको दाखचोकको भुइँतलामा विसं. १९१० आश्विन २७ गते दरबार हाइस्कुल स्थापना गरेका थिए। यही विद्यालयमा राणाले प्रारम्भिक तहको आधुनिक अंग्रेजी शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएका थिए। अंग्रेजी पढाउनका लागि उनले बेलायतबाटै एकजना शिक्षकसमेत झिकाएका थिए। दरबारभित्र खोलिएको यो विद्यालय ३८ वर्षसम्म दरबारमै रह्यो।  

पछि विसं १९४८ सालमा रानीपोखरी अगाडि दरबार हाई स्कूलका लागि छुट्टै भवन बनाइएको थियो। सो भवन वि.सं. २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले भत्कायो। उक्त भवन भएको स्थानमा छिमेकी मुलुक चीनले पुरानै स्वरूप देखिने गरी अत्याधुनिक नयाँ भवन बनाएको हो। २०७५ साउनबाट पुनर्निर्माणको लागि काम थालेको चीनले भवन पुरानै स्वरूपमा बनाए पनि भित्री भाग अत्याधुनिक बनाइदिएको छ। चीनले ८५ करोड खर्चेर ठड्याएको चारतले भवनमा ४६ कोठा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.