|

काठमाडौं : हिन्दु धर्मावलम्बीहरूको महान चाड तीज नजिकिँदैछ। तीज आउँदै गर्दा नेपाली लोक संगीत क्षेत्रमा गीत निकाल्ने होडबाजी चलिरहेको छ।

सामान्यतया: तीज पर्व छोरीचेलीका लागि माइत जाने, दर खाने, नाच्ने, दिदी-बहिनी लिन जाने लगायतका विषय केन्द्रित हुने भएपनि अहिलेका गीतहरूमा यो विषय पाउनै मुस्किल छ। यस्ता गीत खोज्ने हो भने ६० अथवा त्यो अघिको दशकमा पुग्नुपर्ने हुन्छ।

यस वर्षका तीज गीत विशेष गरेर कोरोना र देशको राजनीतिमा केन्द्रित छ। कतिपय गीत सुन्दा हेर्दा लाग्छ : अब महिला केन्द्रित तीजलाई कलाकारहरूले देशको राजनीतिक दुरावस्था देखाउने र अंग प्रदर्शन गर्ने एउटा अवसरका रुपमा लिँदैछन्‌। धेरै तीज गीतहरू सार्वजनिक हुनै बाँकी नै छन्। ती गीत कस्ता हुनेछन्, सार्वजनिक भएपछि नै थाहा लाग्नेछ। 

अहिले निस्किएका अधिकांश गीतहरू कोरोना भाइरस र राजनीति प्रभाव केन्द्रित छ। तीजको मर्मअनुसार महिला केन्द्रित हुने गीत सीमित छन्। कतिपय त रत्यौली भन्दा फरक नपर्ने खालका छन्।

अहिलेका गीत यतिमा मात्र सीमित छैनन्। स्वतन्त्र सिर्जना गर्ने नाममा अहिलेका गीतले संस्कृतिलाई नै मास्ने काम भइरहेको छ। परिवारका सदस्य एकसाथ बसेर हेर्न समेत नमिल्ने, अर्धनग्न र कामुक देखिनेगरी कपडा लगाएर गरिएका अभिनय र उस्तै शब्द तथा संगीतले तीजका गीतलाई चुलोचौकोमा दमित नारीहरूको उद्‍गारभन्दा पनि महिलाहरूलाई कामवासना पैदा गर्ने 'इरोटिक अब्जेक्ट' का रूपमा प्रस्तुत गरिरहेको देखिन्छ। यसबाहेक पनि अहिलेका तीज गीतको केन्द्रमा नारीहरूको भावनाभन्दा बढी बेमेल र विग्रह निम्त्याउने  विषयहरू समावेश हुने गरेको देखिएको छ।

अहिले रातो सारी देखेपछि मात्र 'यो तीजको गीत रहेछ' भन्ने थाहा लाग्छ। यो हाम्रा संस्कृतिमाथिको अवमूल्यन भएको गायक तथा सर्जक पुरुषोत्तम न्यौपाने बताउँछन्।

'कुनै बेला तीज महिलाका दु:ख, पीडा र खुशी गीतमार्फत प्रस्तुत गरिन्थ्यो, अहिले तीजको मर्म मासिएको छ, यसले गर्दा हाम्रा भावी पुस्तालाई तीज के हो भन्ने पनि थाहा नहुने पक्कापक्की छ,' न्यौपानेले भने, 'गीतका नाममा अर्काका गीतलाई तोडमोड गरेर मनलाग्दी गीत गाउने प्रवृत्ति आपत्तिजनक छ।'

देशको सामाजिक संरचना अगाडी बढ्दै जाँदा तीजका गीतमा शब्द परिवर्तन हुनु स्वभाविक हो। महिलाहरू क्रमश: अधिकारसम्पन्न भएका छन्‌। चुलोचौको र लेकबेँसीका पीडा मात्रै तीजका गीतका विषय बन्ने अवस्था पनि फेरिएको छ। महिलाहरू पनि देशदेशावरमा पुगेका छन्‌। सामाजिक र सांस्कृतिक संरचना तीव्र गतिमा बदलिएको छ। गाउँघरमै १० वर्षअघि र अहिले तीज मनाउने शैली फेरिएकै छ। 

तर, महिला अधिकारसम्पन्न हुनु र छाडा गीत बजारमा आउनुबीच कुनै सुर्तो साइनो छैन। महिला अधिकारसम्पन्न हुनुको अर्थ महिला केन्द्रित तीजलाई बिगार्नु पनि होइन। अहिलेका दुर्गेश थापा, रत्यौली शैली र पशुपती शर्मामा शैलीले तीज गीतमार्फत नारीको मर्म र अभिव्यक्तिलाई सम्बोधन गर्न सकिरहेको छैन। अर्कातिर, अर्धनग्न प्रस्तुती दिने प्रीति आले र ज्योती मगरहरूको शैलीले मानिसको स्वतन्त्रता र अधिकारीलाई सायदै सम्बोधन गरेको छ।

तीजको मान्यता अन्तर्गत नै गीतहरू सार्वजनिक गर्न कलाकारहरू जिम्मेवार बन्नुपर्ने भएपनि क्षणिक चर्चा र पैसाको लोभमा संस्कृति माथिको प्रहार सह्य हुन सक्दैन। यो तर्कमा न्यौपाने पनि सहमत छन्‌। 'तीजको मौलिकता बचाउने हो भने यो पर्वमा निस्किने गीतमा सेन्सर लगाउन जरुरी छ, यसो गर्न सेन्सर बोर्ड नै चाहिँदैन, लोकदोहोरी प्रतिष्ठानलाई अधिकार दिए हुन्छ, अब कला र सिर्जनाका नाममा निस्कने यस्ता सामग्रीहरूमाथि निगरानी जरुरी भइसकेको छ', न्यौपाने भन्छन्, 'हाम्रा मौलिकता बचाउने हो भने लोक गीतमा पनि सेन्सर लगाउनुपर्ने अवस्था आइसकेको छ।'

कुन समयमा कुन गीत सार्वजनिक गर्ने भन्ने पनि सर्जकले मुल्यांकन गर्न नसकिरहेको देखिन्छ। एउटा पर्व या संस्कारसँग जोडेर मनमा लागेका र जस्तासुकै विषयका गीत सार्वजनिक गरिरहेका छन्। गायक खुमन अधिकारी भन्छन्‌, 'अहिले यस्तो प्रवृत्तिको मुख्य कारण नै लोक दोहोरी प्रतिष्ठानलाई सेन्सरको अधिकार नहुनु हो, हाम्रो संस्कृति नै मासिने डर भयो।'

शीर्षकमा तीज गीत लेखेर मनलाग्दी सिर्जना भइरहेको यो अवस्थामा कलाकारलाई क्षणिक लाभ प्राप्त भएपनि यसले समग्र संगीतमाथि भने विकृति निम्त्याइरहेको छ। अधिकारी थप्छन्‌, 'तीजको गीत केही परिमार्जन हुनु स्वभाविक हो, तर मर्म नै भत्काउन त भएन नि!'

अहिले टिकटक वा युट्युबमा हिट बनाउन पनि मनलाग्दी गीत सिर्जना भएको छ। अधिकारीले यहाँ हरेक कलाकारको युट्युब च्यानल छ। आफ्नो च्यानलमा मनलाग्दी शब्द जोडेर गीत निर्माण गरेर हालिएको छ। यसले तीज गीतमाथि गम्भीर संकट निम्त्याउने निश्चित भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.