|

काठमाडौं :  हिउँदको वर्षाले जमिन भिजेको र गलिसकेका कारण मनसुन सुरु हुने बित्तिकै ठाउँठाउँमा पहिरो गएको मौसम विज्ञान विभागले जनाएको छ । 

हिउँदमा औषतभन्दा २ सय ३० प्रतिशत बढी वर्षा भएको र मनसुनमा समेत १ सय ३० प्रतिशत बढी वर्षा भएकाले पहिराेका घटनाहरु बढेको विभाग विभागका महानिर्देशक सरजु वैद्यले  जानकारी दिए। 

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा महानिर्देशक वैद्यले साउन ९ गतेसम्म मनसुन सक्रिय रहने र त्यसपछि क्रमिक रुपमा वर्षा कम हुने बताए। विगत तीन दिनयता प्रदेश नम्बर २, ५ र गण्डकी प्रदेशमा १ सय ५० देखि २ सय मिलिमिलिटर पानी परेको छ। 

मनसुन सुरु भएयता प्रदेश नम्बर १ , २, र ५ मा औषत भन्दा २ सय प्रतिशत बढी पानी परेको छ। विभागले कोसी नदीको चतरा, बागमती नदीको खोकना, नारायणी नदीको देवघाटमा खतराको तह पार गरेको बताएको छ। 

नारायणी नदीको देवघाट, अरुणको सिम्ले, तमोरनदी र त्रिवेणी नदीमा जल सतह खतराको तहमा पुगेकोले सतर्कता अपनाउन महानिर्देशक वद्यको भनाइ छ।  आज सुस्ता आसपास र तटिय क्षेत्रमा डुबानको जोखिम रहेको उनको भनाइ छ। आगामी तीन दिनसम्म प्रदेश नम्बर १, २, ५, बागमती र गण्डकी प्रदेशका नदीहरुमा बाढीको जोखिम रहेको विभागले जनाएको छ। 

विभागले बाढीको पूर्व सूचना समेत प्रदान गरिरहेको छ। मनसुन सुरु भएयता मात्रै ५० लाख १७ हजार २ सय ३३ वटा मोबाइल एसएमएस मार्फत पूर्व सूचना दिइएको विभागले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.