|

दार्चुला : महाकाली नगरपालिका-३, डुङ्री क्षेत्र डुबानमा परेको तीन दिनसम्म पनि सरकारी उद्धार टोली नपुगेको स्थानीयले बताएका छन्।

स्थानीय लास्कुखोलामा बाढी आउँदा नदी किनारमा रहेका बस्ती नै डुबानमा परेपनि सरकारी उद्धारकर्मी नआउँदा स्थानीयले आक्रोश व्यक्त गरेका छन्‌। यो क्षेत्रमा २०४३ सालमा निर्माण गरिएको साना जलविद्युत योजनाको विद्युत गृह रहेको छ।

साउन ४ गते राति खोलामा बाढी आएपछि उक्त क्षेत्र डुबानमा परेको थियो। साउन ६ गते बिहान साढे ८ बजे सशस्त्र प्रहरी बलको टोलीले करिब ४ घण्टा खोलाको बहाव परिवर्तन गराउन सहयोग गरेपनि बाँकी उद्धारकर्मीहरू नआएको स्थानीय मानमतीदेवी कार्कीले बताएकी छिन्‌। उनले भनिन्‌, ‘बिहानै सामुदायिक प्रहरी चौकीका तीन जना आएका थिए, पछि सशस्त्र प्रहरी आयो, तर स्थानीयको सरसामान सुरक्षित ठाउँमा लैजान कसैले सहयोग गरेन।’

विद्युत गृह बचाउन समेत सरकारी पहल नभएको नेपाल विद्युत प्राधिकरण डुङ्री वितरण केन्द्रका एक कर्मचारीले बताए। स्थानीयको सहयोगमा खाद्यान्न र लत्ता कपडा सुरक्षित स्थानमा पुर्‍याएको, तर साउन ७ गते दिउँसोसम्म पनि विद्युत प्राधिकरण वा अन्य सरकारी निकायको उद्धार टोली नआएको उनले जानकारी दिए।

खोलाको मूल प्रवाह नै विद्युत गृहभित्र पसेको छ। सुरुमै खोलाको बहाव परिवर्तन गर्न मेसिनहरू प्रयोग गरिएको भए विद्युत गृहलाई सुरक्षित राख्न सकिने कर्मचारीहरू बताउँछन्।

अझै पनि खोलाको प्रवाह परिवर्तन नगर्ने हो भने विद्युत गृह पुरिने सम्भावना रहेको साना जलविद्युत योजनाका पूर्व कर्मचारी तथा सोही क्षेत्रमा पसल गरि बस्ने धनसिंह कार्कीले बताए। ‘मेसिनहरू बचाउन सकिने देखिएन, बाटो खोल्न मात्रै मेसिन पठाउन सकिएन,’ नेपाल विद्युत प्राधिकरण दार्चुलाका प्रमुख दयाराम शाहले बताए।

स्थानीय आक्रोशित

खोला बढ्दा डुङ्री क्षेत्रका तीन ठाउँमा खलंगा–दल्लेक सडक खण्ड अवरुद्ध भएको छ। ठाउँ-ठाउँमा सडक अवरुद्ध भएपनि सडक खोल्ने कुनै तयारी नभएको डुङ्री क्षेत्रमा सरकारी उपस्थिति नभएको भन्दै स्थानीय आक्रोशित भएका छन्।

डुङ्री क्षेत्रभन्दा माथि सडक अवरुद्ध छ। प्रत्येक शनिबार र मंगलबार डुङ्री पुग्ने सरकारी कर्मचारीहरू समेत सो क्षेत्रका हालखबर बुझ्न नआएको स्थानीय दानसिंह महर बताउँछन्। अप्ठेरो परेको बेला नहेर्ने सरकारी निकाय स्थानीय सडक लगायत अन्य निर्माण कार्य गर्न आए अब आफूहरूले रोक्ने उनी बताउँछन‌्‌।

सो क्षेत्रमा एक विद्युत गृह र एक कर्मचारी आवासगृह लगायत स्थानीयका आधा दर्जन स्थानीयका घर पसल रहेका थिए। स्थानीयले आफैंले सुरक्षित स्थानमा सरसामान सारेका छन् भने दुई परिवारले नजिकै रहेको समैजी मन्दिर परिसरमा शरण लिएका छन्।

गैरजिम्मेवार जवाफ

विद्युत गृह र स्थानीयका घर पसल पुरिन लाग्दा पनि सरकारले किन नहेरेको भन्ने प्रश्नमा सरोकारवालाहरूले गैरजिम्मेवार जवाफ दिएको स्थानीय नयाँ नेपाल एफएमका समाचार प्रमुख सन्तोष कोट्टारी बताउँछन्।

‘तीन दिनदेखि सरकारी उपस्थिति छैन, विद्युतका कर्मचारी र स्थानीयको बेहाल छ, सडक पहुँच छैन, साविक तीन गाविसका १२ वडामा विद्युत आपूर्ति छैन, तर सरोकारवालाहरूले गैरजिम्मेवार जवाफ दिएका छन्,’ कोट्टारीले भने।

विद्युत प्राधिकरण दार्चुलाका प्रमुख दयाराम शाहले बाटो बनाउन मात्र मेसिन प्रयोग गर्न नसकिएको बताएका र महाकाली नगरपालिकाका प्रवक्ताले सो क्षेत्रमा स्थानीयले सार्वजनिक जग्गा कब्जा गरेर बसेकाले उद्धार हुन नसकेको गैरजिम्मेवार जवाफ दिएको उनी बताउँछन्।

प्रमुख जिल्ला अधिकारीले शरद कुमार पोखरेलले पहिलो जिम्मेवारी विद्युत प्राधिकरणको भएको तथा प्राधिकरणले माग गरेअनुसार तार-जाली उपलब्ध गराएको र यसबारे थप छलफल गर्ने बताएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.