|

धनकुटा : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ। यसैबीच धनकुटामा पनि वृक्षरोपण र अन्तरक्रिया कार्यक्रम गरी पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस मनाइएको छ।

धनकुटामा नेपाल कम्युनिष्ट पार्टी नेकपा धनकुटाको आयोजनामा जिल्लाका ६० वटै वडामा वृक्षारोपण तथा पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा 'समाजवाद र कमरेड पुष्पलाल' विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि श्रेष्ठको सम्झना गरिएको हो।

नेकपा धनकुटाका जिल्लास्तरका नेता कार्यकर्ताले विभिन्न प्रजातिका बिरुवा रोपी पुष्पलाल र उनले गरेका योगदानको सम्झना गरेका थिए। पुष्पलालले वि.स. २००६ साल बैशाख १० स्थापना गरेको नेकपा विभिन्न चरणमा जुट्दै र फुट्दै अहिले नेकपासम्म आइपुगेको छ।

को हुन पुष्पलाल ?

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वि सं १९८१ असार १५ गते रामेछापको भंगेरीमा भएको थियो। पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा उनको जन्म भएको थियो। पुष्पलाल पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूले गरेको हड्तालका क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बनेका थिए। 

वि.सं. १९९७ सालमा आफ्ना दाजु शहीद गङ्गालाल श्रेष्ठलाई गोली ठोकी मारेको अघिल्लो दिन भद्रगोल जेलमा स-परिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला! मैले प्रजातन्त्रका निमित्त बालेको दीयोलाई तैंले प्रज्वलित पार्नेछस्’ भनेका थिए। दाजुको यही शब्द पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बनेको बताइन्छ। 

वि.सं. १९९८ मा पुष्पलालले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरेका थिए। मार्क्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन्‌। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली अनुवाद गरेका थिए। वि.सं. २०३५ साल साउन ७ गते उपचारको क्रममा भारतमा उनको निधन भएको थियो।

पुष्पलालका सपना अझै पूरा भएनन्‌

नेकपाका महासचिव पुष्पलालले नेपालको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षको विश्लेषण गर्दै यसमा परिवर्तनको बहस अघि सारेका थिए। उनले ७० वर्षअघि नै नेपालमा गणतन्त्र र समाजवादको परिकल्पना गरेको भएपनि त्यसले अझैसम्म पूर्णरूपमा सार्थकता पाउन नसकेको पुष्पलालका अनुशरणकर्ताहरू गुनासो गर्छन्‌।​

पुष्पलालको जन्म नेपालको रामेछापमा भएपनि योगदान र मृत्यु भारतमा भएका कारण पुष्पलालले त्यहाँ आर्थिक रुपमा कष्टकर जीवन बिताएका, तर यसका बाबजुद सधैँ नेपाली समाज र राजनीतिक रुपान्तरणको पक्षमा चिन्तन गरेको उनका शुभेच्छुकहरू बताउँछन्‌।

पूर्वसांसद गोपाल गुरागाईंले नेपाली राजनीतिमा पुष्पलालको योगदान अतुलनीय रहेको बताउँदै उनकै योगदानले राणाशासन, पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था, गणतन्त्र, जनताबाट आफैँ संविधान हुँदै संघीयता आएको बताए। ‘यी सबै उपलब्धी त भयो, तर जनप्रतिनिधि वा पदमा रहेका नेतामा स्वार्थ पलाएको छ,’ उनले भने, ‘जनताको अपेक्षा अनुसारको काम भएकै छैन, नेतृत्व तहमा भएको जुन विवाद चलिरहेको छ : त्यसले कार्यकर्तामा निराशा छाएको छ।’ पुष्पलाललाई सम्झेर एकातिर जानुपर्नेमा अर्कैतिर गएको विश्लेषण गुरागाईंले सुनाए।

यस्तै, धनकुटा नगरपालिका पूर्व-उपप्रमुख जीवप्रसाद पोख्रेलले पुष्पलालले कठिन दिनहरुको सामना गर्दै नेपाली समाज रुपान्तरणमा जुन खालको योगदान दिए, आजका कम्युनिष्टहरुले त्यसलाई बिर्सेर अघि बढेको भान आफूलाई भएको बताए। उनले त्यतिबेला पनि अल्पसंख्यक शासकहरुले बहुसंख्यक जनतालाई शासन गरेको अवस्थाको विरोधमा पुष्पलाल वृहत संयुक्त मोर्चाको पक्षमा उभिएका, उनको जीवनकालमा त्यो कुरा लागु हुन नसकेपनि नेपालमा गणतन्त्र आएको, तर आन्दोलनहरु सम्झौतामा टुंगिएको र जनताको जीवनस्तर जस्ताको जस्तै रहेको उनले बताए। 

नेकपा जिल्ला सचिवालय सदस्य अर्जुन राईले पुष्पलालको जनवादी क्रान्तिले अहिलेको उपलब्धी आएको बताउँदै राजाले एक्लै देश चलाउन सक्दैनन्‌ भनेर पुष्पलालले कम्युनिष्ट पार्टी खोलेको बताए। उनले तीन करोड नेपालीलाई समृद्ध बनाउने कि केही व्यक्ति धनी बन्ने भन्ने अहिलेको प्रश्न रहेको बताए। नेकपाले 'क्लीन स्वीप' गरेको धनकुटा जिल्लाका स्थानीय तहको समिक्षा पार्टीले गर्नुपर्ने बताए। उनले आफू विलासी जीवन बिताउने, अनि कम्युनिष्टमा पुष्पलालको चर्चा खोज्दै हिँड्दा पुष्पलाललाई सम्झिनुको सार्थकता नहुने बताए। 

त्यस्तै राजनीतिक विश्लेषक एवम्‌ धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक इच्छापूर्ण राईले पुष्पलालले भनेजस्तो ‘योग्यता र क्षमता अनुसारको काम, आवश्यकता अनुसारको दाम’ अहिलेसम्म कार्यान्वयन नभएको बताए। उनले देशमा गणतन्त्र आएपनि जागिर खान मन्त्रीसम्मको सिफारिस खोजिने भएकाले योग्यताभन्दा आफ्नो मान्छे खोजिने गरेको बताए।

नेकपा धनकुटाका सचिव ऋषिराम ढुंगानाले पुष्पलालले चाहेको जस्तो पार्टी निर्माण गर्न पार्टी एकता भएको बताए। उनले पुष्पलालले देखाएको बाटोमा लाग्न आवश्यक रहेको बताउँदै पार्टी एकता भएपनि पुष्पलालले भने बमोजिम सिद्धान्त, संघर्ष र संगठन अहिले पनि भनिएको, तर कार्यान्वयनमा समस्या भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.