नगरपालिका र निर्माण कम्पनीप्रति स्थानीयको आक्रोश

|

भद्रपुर, (झापा)  निर्माण कम्पनीको लापरबाहीले झापाको भद्रपुरमा तीन जना बालकको डुबेर मृत्यु भएको छ। तीन जना बालकको मृत्यु भएसँगै गाउँ नै शोकमा डुबेको छ।

भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङको १० वर्षका छोरा अङ्कुश तामाङ, साबिक गरामनि गाविस हाल भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा अन्दाजी १४ र १२ वर्षका करण र अर्जुन थामी रहेको डिएसपी थापाले जानकारी दिए। मृतक तामाङ एसियन स्टार बोडिङ स्कुल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए।

प्रहरीका अनुसार बुधबार दिउँसो कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा माछा मार्न तीनै जना बालक पौडी खेल्न र सँगै माछा मार्न गएका थिए।

घरमा कसैलाई नभनी गएका तीन जना बालक साँझ अबेरसम्म घर नफर्किएपछि उनीहरूको आफन्तजनले खोजी गरेका थिए। खोजी गर्ने क्रममा बुधबार साँझ ७ बजेको समयमा बालक तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो। पोखरीमा बालक तामाङको शव मात्र फेला परेपछि अन्य दुई बालकको पनि प्रहरी र स्थानीयले खोजी सुरु गरे।

खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका विपतका प्रहरी टोलीले बिहीबार बिहान थामी दाजु भाइको शव त्यही पोखरीबाट फेला पारेको डिएसपी थापाले जानकारी दिए। अहिले प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको बताइएको छ।

नगरपालिका निर्माण कम्पनीप्रति स्थानीयको आक्रोश

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा तीन जना बालकको डुबेर मृत्यु भएसँगै पीडितका आफन्तजन र स्थानीयले आक्रोश पोखेका छन्। भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरबाहीले तीन जना बालकको ज्यान गएको भन्दै उनीहरू आक्रोशित भएका हुन्।

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिकाले ठेक्का लगाएको हो। निर्माण कम्पनी आर.एन्ड.सी.\नयाँ युग जेभीले ४ करोड ३८ लाख ३ हजार ५ ७९ रुपैयाँमा २०७८ साल असार २४ गतेसम्म गर्ने गरी ठेक्का लिएको हो। कमलधाप पर्यटन क्षेत्रमा निर्माणको कार्य गर्दा निर्माण कम्पनीले मापदण्ड नअपनाउँदा घटना भएको मृतक बालक अङ्कुशको काका आशिस तामाङले आक्रोश पोखे।

 ‘भतिजसहित अन्य दुई जना बालकको मृत्यु भद्रपुर नगरपालिका र निर्माण कम्पनीको चरण लापरबाहीको कारण भएको हो,’ उनले भने, ‘निर्माण कम्पनीले कम्तीमा सुरक्षाको मापदण्ड किन अपनाएन, र बर्खाको बेला त्यहाँ कम्पनीले कर्मचारी राख्नु पर्दैन।’ तीन जना बालकको मृत्युले वडावासी नै शोकमा डुबेको स्थानीय फागु सुब्बाले बताए। उनले भने, ‘निर्माण कम्पनीको लापरबाहीले नै गाउँमा यस्तो ठूलो घटना भयो, यसका लागि हामी कानुनी उपचारमा जान्छौँ।’    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.