फिचर

चुरे दोहनले जताततै बाढी-पहिरोको त्रास

बर्खामा भीर खस्‍ने चिन्ता, हिउँदमा सुक्खा पहिरोको डर

साउन ८, २०७७

    इलाम :  गत असार २८ गते  जिल्लाको माङसेबुङ गाउँपालिका-५ मा पहिरो जाँदा अम्मदेन, तेङगोबुङ, सेर्माडाडा, सेनेला टोलका १ दर्जनभन्दा बढी विस्थापित भए। उनीहरू अहिले छिमेकीको शरणमा छन्। रोङ गाउँपालिका-४ हल्लुडेकी माया पाख्रीनलाई कतिबेला पहिरोले घर नै बगाउला भन्ने चिन्ताले सताइरहन्छ। पहिरो अहिले उनको आँगनसम्म आइपुगेको छ।

    इलामको चुरे क्षेत्रमा पर्ने माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र रोङ गाउँपालिकाकाको चुरे पहाडका बासिन्दाको वर्षेनी बल्झिरहेन समस्या हो, भू-क्षय र बाढी पहिरो।

    कसैलाई पहिरोले घरै बगाउला भन्ने चिन्ता छ, त कसैलाई जमिन भासिएर पुरीने डर। तीव्र चुरे विनासका कारण उर्लिएर आउने खहरे खोलाको समस्या पनि उस्तै छ। बर्खामा भीर खसेर घर पुरिने चिन्ता त छँदैछ। हिउँदमा समेत  इलामको चुरे क्षेत्रमा पर्ने ४ स्थानीय तहका बासिन्दाहरुलाई सुख्खा पहिरोले पुर्ला भनेर निद्रासमेत लाग्दैन।  इलाममा सबैभन्दा बढी चुरे क्षेत्र रोङ गाउँपालिकाले आगेटेको छ। इलामको चुरे क्षेत्रले आगेटेको ३८ हजार ९ सय ८२ दशमलव २० हेक्टर जमिनको एकतिहाई भूभाग रोङ गाउँपालिकामा पर्छ।

    रोङ गाउँपालिकाको ६ वटै वडाको दक्षिणिभाग संवेदनशील चुरे क्षेत्रमा अवस्थित रहेको छ। टाङटिङ, बिरिङ, टिमाई, निन्दा र मेची जस्ता ठूलासाना गरी एक दर्जनभन्द बढी ठूला र खहरे खोलाले बस्ती र खेतीयोग्य जमिन नै जोखिममा पारेको प्रवक्ता सुवास तामाङले बताए। ‘पहिरोकै कारण वर्षेनी एक दर्जन परिवार विस्थापित नै हुँदै आएका छन्’, तामाङले भने, ‘खोलामा बाढी आएसँगै पहिरोको फेद कटानमा पर्ने र त्यसपछि पहिरो जाने गरेको छ। यो पहिरोको रोकथामका लागि आवश्यक पहल नगर्ने हो भने विस्थापितको संख्या अझै बढ्ने देखिन्छ।’

    झापासँगै जोडिएको चुरे क्षेत्रमा पर्याप्त मात्रामा साल र सखुवाको काठ पाइने भएकाले चोरी तस्करी समेत बढ्दै गएको छ। जसको कारणले पहिरो र भु-क्षयको संभावना चुरे क्षेत्रमा अत्याधिक रुपमा हुने गरेको छ।

    नेपालकै पूवी सीमामा रहेको मेची नदीले समेत रोङ गाउँपालिका वडा नम्बर ६ मा कटान गर्ने गरेको छ। नदीको धार परिवर्तन हुदा सलकपुर, पाटापुर, दुधेचौरी लगायतका गाउँका तल्लो भाग कटानमा पदै आएका छन्। वडा-६ को धजे पहिरोले सलकपुर र रम्याङ दुवै गाउँलाई अफठ्यारोमा पारेको छ। दशकौ अघि शुरु भएको यो पहिरोले आज पर्यान्त स्थानीयलाई सास्ती दिँदै आएको तामाङले बताए।

    पहिरो र उर्लिएर आउने खहरेबाट स्थानीय मात्र होइन व्यवसायीहरू पनि आजित बनेका छन्। माई नगरपालिका-४ की कपडा व्यवसायी सावित्रा ढकालको बर्खाको ४ महिना व्यपार ठप्प जस्तै हुन्छ। उर्लिएर आउने खहरे तर्न नसक्दा उनी जस्ता दुई दर्जन भन्दा बढि हाटबजार गर्ने व्यवसायी वर्षौंदेखि उस्तै पीडा भागिरहेका छन्।

    ‘कतिबेला खोला घट्छ र तर्ने भन्ने हुन्छ’, उनी भन्छिन्, ‘कहिले काँही त पसल फिजाउने ठाउँ पुग्दै ४ बज्छ। फिजाउँकी फर्केर आउँ भन्ने दोधारमा हुन्छौ। खेतीपाती छैन पसल नफिजाए घरको चुलो बल्दैन् ’पछिल्लो समय तीव्र वन फडानीले  चुरे क्षेत्रमा पहिरो जाने क्रम बढेको छ। जसको असर माया र सावित्रा जस्ता हजारौले वर्षेनी भोग्दै आएका छन्।

    तराई र चुरे पहाड क्षेत्रमा राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको सिफारिसमा सम्बन्धित निकायले उत्खननका लागि अनुमति दिन्छन्। त्यसको बढी दुरुपयोग हुने गरेको छ। स्थानीय तहहरूले नदीनालाबाट ढुंगा, गिट्टी र बालुवा उत्खननलाई आम्दानीको प्रमुख स्रोत बनाएका छन। चुरेमा हुने अनियन्त्रित उत्खनन रोक्ने निकाय भने असफल जस्तै देखिएका छन्।

    चुरेको तल्लो भाग चुलाचुली गाउँपालिकाको मावा खोला, कमल र रतुवा खोलामा नदीजन्य बस्तु अत्यधिक दोहन भएका कारण कटानले हजारौँ विस्थापित भइरहेका छन्।  पछिल्लो समय स्थानीय तह गठन भएपछि तराईमा विकास निर्माणका लागि झापा र मोरङ जिल्लाको सीमा क्षेत्रमा पर्ने मावा खोलाको नदीजन्य वस्तु बालुवा, गिट्टी र ढु्ङ्गा उत्खननमा करोडौँको ठेक्का लगाइँदै आएको छ।

    ३ वर्षअघिसम्म सिमानामा बग्ने भएकाले रतुवा खोलाको अधिकार कस्को भनेर चुलाचुली गाउँपालिका र दमक नगरपालिकाबिच समस्या नै पैदा भएको थियो। खोलामा गिट्टि बालुवा उत्खनन्को आम्दानीका लागि विवाद भएको हो। अहिले भने समाधान भएको चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताए।

    ‘रतुवा खोलाको विवाद समाधान भइसक्यो’, राईले भने, ‘खोला बाङ्गोटिङ्गो कुदने भएकाले समस्या थियो। अहिले विवाद क्लियर भएका संयुक्त ठेक्का लगाएको पनि २ वर्ष वित्यो।’

    चालु आर्थिक वर्षको लागि असोजसम्ममा वातावरण संरक्षण ऐन २०७६ को दफा ३० को उपदफा ४ को परिधिमा रहेर चुरे पहाड भन्दा १ किलोमिटर परको क्षेत्रमा ठेक्का लगाउने तयारी भइरहेको राईले बताए। ‘चुरे बचाउने दायित्व अहिले स्थानीय सरकारको हो’, उनले भने, ‘हामीले सरकारले बनाएको वातावरण संरक्षण ऐन र नियमावलीलाई टेकेर नै ठेक्का प्रक्रियामा अघि बढेका छौ।’

    चुरे भएर बग्ने नदी र खोला धार परिवर्तन गरेर तथा क्षेत्र विस्तार गरेर तराईमा बग्दा खेतीयोग्य जमिनमा क्षति पुग्ने गरेको छ। जसबाट किसान समस्यामा परेका छन। चुरे पहाड कमजोर हुँदै गएसँगै इलाम र झापा जिल्लामा बाढीको खतरा बढ्दै गएको छ। चुरे पहाडमा खसेको पहिरोले खोला थुनिएर अझ बढि समस्या निम्त्याउने खतरा छ।

    चुलाचुलीमा २०४४ सालदेखिको खोला कटानले हजारौँ बिगाहा जमिनसँगै चार सय बढी परिवार विस्थापित भइसकेका छन्। चुलाचुली १ की देउसिला अधिकारीको ५ बिगाहा जग्गा कमल खोलाले  कटान गरेपछि अहिले सुकुम्बासी छिन्। २०४४ सालमा जग्गा र घर बगाएपछि अधिकारीको परिवार तितरबितर मात्रै भएन बस्नका लागि अरुको साहार लिनुपर्छ। ‘घर जग्गा सबै बगाएपछि छोराहरू पनि खर्च नभएर पढ्न पाएनन्', अधिकारीले  भनिन्,  ‘छोराहरु विरक्तिएर काठमाडौँ गएका फर्किएका छैनन्, म अरुको घरमा साहार खोज्दै बस्दै छु। सम्झदा रुँदै जंगल गएर मर्नुजस्तो हुन्छ के गर्नु अरुको खाली घर कस्को भन्दै खोज्दै हरेक वर्ष रात कटाउँदै छु।’

    वातावरण संरक्षण ऐन २०५३ को पछिल्लो संसोधन वातावरण संरक्षण (पहिलो संशोधन) ऐन, २०७५ को दफा १० को उपदफा ४ अनुसार ‘कुनै क्षेत्र वा स्थान विशेषमा अत्याधिक वातावरणीय प्रदुषण, भुःस्खलन, प्राकृतिक सम्पदाको अत्याधिक दोहन वा प्राकृतिक विपत्ति हुन गई जनस्वास्थ्य वा वातावरणमा नकारात्मक असर परेको वा पर्ने सम्भावना देखिएको अवस्थामा नेपाल सरकारले सम्बन्धित स्थानीय तहको परामर्शमा त्यस्तो क्षेत्र वा स्थानलाई वातावरणीय दृष्टिले संवेदनशील क्षेत्र तोकी वातावरणीय सन्तुलन, व्यवस्थापन वा वातावरणीय पुर्नस्थापनाको लागि कुनै उपयुक्त आदेश गर्न सक्नेछ।’

    यद्यपि स्थानीय सरकारसंगको समन्वयमा विचौलियाले यहाँबाट दोहन गर्न अनुमति लिदै आएका छन्। जसको मारमा देउसिला जस्ता किसानहरु पर्ने गरेका छन्। मन्त्रिपरिषदको २०७१ असार २ गतेको निर्णयअनुसार चुरे क्षेत्रबाट एक किलोमिटर टाढासम्म रोडा, ढुंगा, बालुवा उत्खनन गर्न पाइँदैन। तर यो निर्णय इलाम र झापाका नदिहरुमा पालना गरेको पाइँदैन।

    के हो चुरे क्षेत्र?

    पूर्वमा भारतको ब्रम्हापुत्र नदीदेखी पश्चिममा पाकिस्तानको इन्दुस नदीसम्म फैलिएको शिवालिक भू-परिधि नेपालमा चुरे क्षेत्रका नामले परिचित छ। करिव चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरु थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे पहाड श्रृंखला हो।

    नेपालमा पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३६ वटा जिल्लाहरुमा फैलिएको र कुल भू-भागको १२.७८ प्रतिशत जमिन चुरे क्षेत्रमा पर्दछ। अधिकांश ठाउँमा तराईको भू-भाग सकिएर माथि उठेको भू-भाग तथा महाभारत क्षेत्रको भू-भागबाट ओर्लिदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेको छ। सामान्यतया पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ।

    चुरेको यहि संवेदनशिलताका कारण यस क्षेत्रका बासिन्दाले वर्षेनी विभिन्न किसिमका प्राकृतिक बिपत्ति बेहोर्दै आएका छन्।

नमीन ढकाल

ढकाल थाहा खबरका इलाम समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]