नेताहरू भन्छन् : छलफलले पार लागेन, समस्या जहाँको त्यहीँ छ

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले अझै निकास पाउन सकेको छैन। पार्टीका शीर्ष नेताहरूको अडान र लिँडे ढिपीका कारण विवाद भुसको आगोझैँ सल्किँदै गइरहेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको शक्तिको लडाइँका कारण पार्टीमा विवाद चर्किएको हो। अध्यक्ष दाहाल र नेता नेपालले ओलीविरुद्ध मोर्चाबन्दी गरिरहेका छन्। 

गत शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘अर्ली महाधिवेशन कार्ड’ फ्याँकेपछि विवाद समाधानको दिशामा गएको अनुमान छ। मंसिरमा महाधिवेशन गर्ने प्रधानमन्त्रीको प्रस्तावमा अध्यक्ष दाहालले पनि सहमति जनाएको समाचार बाहिरिएका थिए। तर, अध्यक्ष दाहालले आइतबार बिहानै आफू निकटका नेताहरूलाई खुमलटार बोलाएर ओलीसँग कुनै सहमति नभएको प्रष्ट्याए। 

आफू संकटमा परेपछि रक्षात्मक क्षेप्यास्त्र हान्दै आएका प्रधानमन्त्री ओलीको मंसिरमै महाधिवेशन गर्ने प्रस्तावले विवाद अन्तै मोडिएको छ। ओली पक्षका नेताहरूले मंसिर मै महाधिवेशन गर्न सक्ने तर्क गरिरहँदा अध्यक्ष दाहाल-नेपाल समुहले मंसिरमा महाधिवेशन गर्ने प्रस्तावलाई कुर्सी रक्षाको तुरूप मात्र भएको आरोप लगाउँदै आइरह्यो। 

‘मैले पार्टीलाई नीति, विधि र पद्धतिमा सञ्चालन गर्नुपर्छ भन्‍नेमा जोड दिएको छु। पार्टीलाई विधि र पद्धति अनुसार सञ्चालन गर्न सकेमा मात्रै पार्टीभित्रको काम र गतिविधि अघि बढ्छ।’ 

विधि र पद्धतिअनुसार चलौं : माधव नेपाल

पार्टीभित्रको विवादले नेकपा भित्र गुट उपगुट हाबी भइरहेको छ। प्रधानमन्त्री ओलीको कार्यशैलीबाट रुष्ट भएर नेपाल समूहले पनि अध्यक्ष दाहाललाई सघाएको छ। पार्टी एकतापूर्व पनि तत्कालीन एमालेमा तल्लो तहसम्म ओली र नेपाल पक्षबीच कित्ताकाटको अवस्था थियो। पार्टी एकतापछि पनि त्यो यथावत रहिरह्यो

वरिष्ठ नेता नेपालले पार्टी विधि र पद्धतिअनुसार चलाउनुपर्ने माग गरिरहेका छन्। उनले बिहिबार एक भिडियोमार्फत भनेका छन्, ‘मैले पार्टीलाई नीति, विधि र पद्धतिमा सञ्चालन गर्नुपर्छ भन्‍नेमा जोड दिएको छु। पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गर्न सकेको खण्डमा मात्रै पार्टीभित्रको काम र गतिविधि अघि बढ्छ।’ 

मूलभूत आवश्यकता पूरा गर्दै अपेक्षित काम गर्न पहिलो कुरा पार्टी विधिमा चलाउनुपर्छ भन्‍ने मेरो माग हो,’ उनले भनेका छन्, ‘कम्युनिष्ट एकतावद्ध भयो भने जनताको काम गर्न सकिन्छ। विधिअनुसार चल्न सके सबैलाई समान रुपमा काम गर्न सकिन्छ।’ पार्टीको नियमानुसार एकढिक्का बनाएर अघि बढ्न पार्टी छियाछिया हुने कुरा कतैबाट नउठ्ने जिकिर नेपालले गरेका छन्। 

‘प्रधानमन्त्रीले एक पद छाड्नुभयो भने पार्टीभित्रको विवाद त्यहीँ समाप्त हुन्थ्यो। तर, उहाँ दुवैतिर कुर्सी सम्हाल्ने। तर, काम गर्न नसक्ने हुनुभयो। त्यही भएर हामीले पार्टीलाई पद्धतिमा चलाउन चाहेका हौँ’

‘एक पद, एक व्यक्ति’

यसअघिका विवादमा पनि नेता नेपाल समूहले एक पद एक व्यक्ति हुनुपर्ने बिषयलाई अघि बढाएका थिए। ‘हामीले पार्टी विधि र पद्धतिमा सञ्चालन गर्न एक पद एक व्यक्तिको माग गरेका हौँ’, नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘हामीले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ भनेका छैनौँ। समस्या समाधानका लागि सहमतिमा एक पद छोड्नुहोस् भनेका हौँ।’

प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा नदिने अडानबाट पछि नहटेका कारण पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको ती नेताले बताए। ‘प्रधानमन्त्रीले एक पद छाड्नुभयो भने विवाद त्यहीँ समाप्त हुन्थ्यो। तर, उहाँ दुवैतिर कुर्सी सम्हाल्ने। तर, काम गर्न नसक्ने हुनुभयो। त्यही भएर हामीले पार्टीलाई पद्धतिमा चलाउन चाहेका हौं,’ उनले थपे। 

ओलीको एक पद खोस्‍ने खुमलटार रणनीति! 

पार्टीभित्रको विवाद समाधान गर्न प्रधानमन्त्रीले एक पदबाट राजीनामा दिनै पर्ने अध्यक्ष दाहाल निवास खुमलटारमा बसेको भेलाले निष्कर्ष निकालेको भेलामा सहभागी एक नेताले बताए। ‘हामीले पार्टीभित्रको विवाद चर्किएको बेलामा ओलीले एक पद छाडेपछि समाधान हुने देखिएपछि एक पद छाड्नुपर्ने माग गरेका हौँ’, ती नेताले भने। 

‘विवाद समाधानका लागि सहमतिमा अघि बढ्ने तयारी गरेका छौँ। प्रतिस्पर्धाको भावनाबाट अघि बढ्दा पार्टी दुर्घटनामा हुन सक्ने भएकाले सहमतिमै प्रधानमन्त्री ओलीले एक पद राजीनामा दिनुपर्ने बिषयमा हामी सहमत भएका हौँ’, ती नेताले भने, ‘अध्यक्ष दाहालले पनि पार्टी गम्भीर अवस्थामा पुगेकाले दुवै पक्षबाट केही ‘सम्झौता’ गरेर सहमति खोज्नुपर्नेमा जोड दिइरहनु भएको छ।’

‘स्थायी कमिटीको बैठकमा हामीले प्रधानमन्त्रीको दुवै पदबाट राजीनामा माग गरेका थियौँ। हामीले हाम्रो अडान यथावत् राखे पार्टीभित्र दुर्घटना हुने देखियो। त्यही भएर प्रधानमन्त्री ओलीले पार्टीलाई विधिमा चलाउन एक पद छाड्नै पर्ने हाम्रो निष्कर्ष हो,’ उनले भने।

‘विवाद समाधानका लागि सहमतिमा अघि बढ्ने तयारी गरेका छौँ। प्रतिस्पर्धाको भावनाबाट अघि बढ्दा पार्टी दुर्घटनामा हुन सक्ने भएकाले सहमतिमा नै प्रधानमन्त्री ओलीले एक पद राजीनामा दिनुपर्ने बिषयमा हामी सहमत भाको हौँ’

समस्या जस्ताको तस्तै

देशभर बाढी पहिरो र डुबान परेपछि राहात र उद्धारमा जुट्न स्थायी कमिटीको बैठक एक साता पछि धकेले पनि पार्टीभित्रको विवाद जहाँको त्यहीँ रहेको स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन्। 'पार्टीभित्रको विवाद स्थायी कमिटी बैठकबाट जहाँ छाडेको थियौँ। अहिले त्यही छ,’ उनले भने, ‘त्यस बिषयमा थप छलफल भएको छैन।’

‘हामीले पार्टीलाई विधि र पद्धति अनुसार चलाउन माग गरेका हौँ। त्यही बिषयमा सहमति जुट्न नसक्दा पार्टी दुर्घटना नजिक पुग्यो’, उनले भने, ‘त्यसैले अहिले पार्टीभित्रको विवादको बिषयमा छलफल भएको छैन। समस्या समाधानका लागि छलफलपछि सहमतिमा पार्टी अघि बढ्छ भन्ने अपेक्षा गरेका छौँ।’

समस्यालाई सहमतिबाट निकास दिनुपर्ने भन्‍ने पक्षमा रहेको अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बताउँछन्। ‘पछिल्ला दिनमा छलफल भएको छैन। समस्या पनि सुल्झिएको छैन’, उनले भने, ‘हामीले पार्टीको समस्या सहमतिमा समाधान गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छौँ।’

नीति सिद्धान्तका कुरा गरेर अगाडि बढेको पार्टी नेताहरू बीच पदको भागबण्डामा महिनौं अल्झिनाले नागरिक पनि निराशा भएका छन्। उता नेकपाको संगठन सुदृढीकरण र विस्तार अलपत्र छ नै सरकारका कामसमेत प्रभावित हुँदै गएपछि कार्यकर्ता पनि चिन्तित छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.