|

काठमाडौं :  सन् २०१९ को अन्त्यतिर चीनको उहान सहरमा देखिएको कोरोना भाइरस ( कोभिड १९) हाल संसारभर फैलिइसकेकाे छ। याे संक्रमण यस शताब्दीकै सबैभन्दा ठूलो स्वास्थ्य संकट रहेको विज्ञहरुले बताइरहेका छन्।

नेपालमा पहिलो संक्रमण देखिएको झन्डै पाँच महिनामा नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ। नेपालमा हाल संक्रमण देखिएका सबैभन्दा धेरै युवा उमेरका छन्।हालसम्म नेपालमा २१ देखि ३० वर्ष उमेर समूहका ६ हजार ६ सय ७९ जनामा संक्रमण देखिएको छ।

कोरोनाको बढ्दो संक्रमणलाई न्यूनिकरण  गर्न विश्वभर कोरोना भाइरसको बढ्दो मानिसहरुलाई सावधानी अपनाउने तथा सरसफाईमा ध्यान दिन आग्रह गरिँदैछ। नेपालसहित विश्वका विभिन्न देशहरुमा लकडाउन घोषणा गरिएको छ। यसबीच मानिसहरुलाई भीडभाड नगर्न तथा भीडभाड हुने स्थानमा नजानका लागि समेत आग्रह गरिँदैछ।

हालसम्म कोरोनाको भ्याक्सिन र औषधि नबनेकाले कोरोनाबारे विभिन्न अध्ययन अझै भइरहेका छन्। 

कोरोना भाइरसले फोक्सोमा आक्रमण गर्ने हुँदा धेरैले लामो समयसम्म धुम्रपान गर्ने मानिसहरु कोरोना भाइरसको उच्च जोखिममा रहने विज्ञहरुले बताउँदै आएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रकाशन गरेको प्रतिवेदनअनुसार पनि  चुरोट, बिँडी खानेमा यसकाे उच्च जोखिममा रहने समेत बताइसकेको छ।

चुराेट बिँडी सेवन गर्ने अम्मलीहरुलाई फोक्सोमा चाँडै असर गर्ने हुँदा कोरोना जाेखिम पनि अन्य मानिसमा भन्दा बढी हुने गरेकाे हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

चुरोड, बिँडी समात्ने औँला तथा चुरोट बिँडी ओठको सम्पर्कमा रहने भएकोले हातबाट पनि भाइरस सर्ने जोखिम उनीहरुमा उत्तिकै रहेन गर्छ। ​धुम्रपान गर्नेलाई कोरोना भाइरस (कोभिड–१९)लाई प्रश्रय दिने खालका विभिन्न रोगसँग समेत लाग्ने हुँदा संक्रमणको नाता प्रत्यक्ष–अप्रत्यक्ष रूपमा धुम्रपानसँग जोडिएको विज्ञहरु बताउँछन्।  

विज्ञका अनुसार, धुम्रपान गर्नेको रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ। चुरोट सेवनले रोग प्रतिरोधात्मक कोषिकालाई दबाउने र निष्क्रिय बनाउनुका साथै फोक्सोका कोषिकाहरूमा पुग्ने बताइन्छ। जसले गर्दा धुम्रपान गर्नेमा यसकाे जोखिम धेरै हुने गर्छ। 

अध्ययनले पनि ३० प्रतिशत चुरोट पिउनेहरूसँग १७ प्रतिशत धुम्रपान नपिउने संक्रमितको तुलना गरेका थिए। जसमा पिउनेहरूको अवस्था गम्भीर देखिएको छ। धुम्रपान गर्नेहरुको फोक्सो कमजोर हुने हुँदा संक्रमण भएमा जोखिम निम्त्याउने बताउँछन् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासैनी।

उनले भने, ‘एक त धुम्रपान सेवन गर्ने बानी भएका नेपालीहरुमा एउटै चुरोट धेरैले बाँडेर खाने बानी छ यसले एक जनाको हातमा भएको भाइरस अर्को व्यक्तिमा सर्ने जोखिम एकदम धेरै हुन्छ अर्को तर्फ लामो समय सम्म धुम्रपान सेवन गर्ने मान्छेको फोक्सो कमजोर हुने भएकाले धेरै तहबाट धुम्रपान गर्नेहरु कोरोनाको जोखिममा हुन्छन्।'

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा अनुप बाँस्तोला पनि कोरोना फोक्सो कमजोर हुनेहरु संक्रमणको जोखिम हुने हुँदा सजग रहनुपर्ने बताउँछन्। धुवाँका कारण फोक्सोमा असर पर्ने र यसले स्वासप्रश्वास प्रणालीमा क्षति पुर्‍याउने उनकाे तर्क छ। 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.