|

काठमाडौं : बिहीबार सुन्धारामा बा१ह ५३५७ नम्बरको टेम्पो चालिका कल्पना डंगोलले यात्रु कुरिरहेकी थिइन्। आधी घण्टासम्म कोही यात्रुआउँछन् कि भन्दै यताउता हेर्दै उनले यात्रु कुरिन्। तर, कोही यात्रु पाएनन्। त्यसपछि उनी रित्तै टेम्पो कुदाइन्। उनले भनिन,‘आजबाट सवारीसाधन बढेको छ। तर, यात्रु छैनन्।’ उनी सीतापाइला,स्वायम्बु रुटमा टेम्पो चलाउँछन्। तर, भने जस्तै यात्रु नपाएपछि रित्तै टेम्पो कुदाउनुबाहेक उनको केही लागेन। 

लकडाउन हटे पनि पहिला जस्तो बाहिर सर्वसाधारणको चहलपहल नभएको उनको अनुभव छ। ‘कोरोना त्रासका कारणले होला,बाहिर चहलपहल खासै छैन,’निराश हुँदै उनले भनिन्,‘टेम्पोमा चढ्ने कहिले दुई जना यात्रु पाउन पनि मुस्किल पर्छ।’ यस्तै गरी अझै यात्रु नपाएमा कसरी परिवार पाल्ने भन्ने चिन्तामा उनी छिन्। कल्पना भन्छिन्,‘यात्रु छैनन्। कमाई पनि छैन। अब कसरी टेम्पो साहुलाई पैसा दिनुपर्ने हो? कसरी परिवार पाल्ने हो?’

धादिङकी कल्पनाले टेम्पो चलाएको १० वर्ष भइसक्यो। अहिलेसम्म उनले यस्तो पीडा कहिल्यै भोगेकी थिइनन्। तर, यसवर्ष उनले सोच्दै नसोचेको समस्या भोग्न बाध्य भइन्। ‘सरकारले टेम्पोमा ६ जना मात्रै चढ्न दिने निर्णय गरेको छ। यात्रु भने एक जना चढ्ने छैनन्। रित्तै कुदायो। घुम्यो, त्यति।’ उनले थपिन्।
सोही ठाउँमा भेटिएका साझा यातायातका चालक पासाङ लामा पनि यात्रु नपाएपछि चिन्तित भएको देखिन्थे। ‘यात्रुहरू छैनन्,’उनले भने,‘रित्तै घुम्ने मात्रै हो। तेल खर्च पनि उठाउन सकिएन।’

उनका अनुसार लकडाउन अघि बसभरि यात्रुहरू हुन्थ्यो। दिनको पाँच हजार सम्म भाडा उठ्थ्यो। तर, अहिले दिनको १५ सय उठ्न पनि मुस्किल पर्छ। सरकारले सीमित संख्या मात्रै चढाउने निर्णय गरे पनि ७ जनादेखि यात्रुहरू पाउन सकेका छैनन्। कोरोना त्रासले गर्दा पनि सार्वजनिक यातायातमा यात्रुहरु नचढेको उनले बताए। ‘अहिले कतिपय सर्वसाधारण घरभित्रै छन,’उनले भने,‘अतिआवश्यक काम पर्दामात्रै बाहिर निस्कन्छन्। तर, हिँडेरै गन्तव्‍य जान्छन्। कोरोना त्रासले होला सार्वजनिक गाडीमा यात्रा नै गर्न छाडे।’ 

अर्का, रत्नर्पाकमा यात्रु कुरिरहेका धुम्बाराही यातायातका बस चालक विजय लामाले पनि अहिले यात्रुहरू नपाएको गुनासो गरे। ‘बस रोकेर यात्रु कुरेको १० मिनेट भइसक्यो,’खाली सिट देखाउँदै उनले भने,‘खै  मान्छे नै छैनन्। आफैँ हेर्नुस न। बढी यात्रु पाइने भनेकै १० जना हो।’ उनले तेल खर्च उठाउन पनि सकस भएको सुनाए।

उनले थपे, ‘बिहानैदेखि कालोपुल,कपन रुटको बस चलाएको थिए। बल्ल चार सय जति भाडा उठेको छ। यसरी साहुले कसरी तेल खर्च उठाउँछन्? कसरी कर्मचारी पाल्न सक्छ?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.